अहमदाबाद: पञ्जाब किंग्सले क्वालीफायर २-मा ५ पल्टको च्याम्पियन मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गरी इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को फाइनलमा स्थान बनायो। नरेन्द्र मोदी स्टेडियममा मुम्बईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर २०३ रन बनाएको थियो। जवाफमा पञ्जाब किंग्सले कप्तान श्रेयस अय्यरको विध्वंशी अर्द्धशतकको सहायताले १९ ओभरमा २०७ रन बनाएर म्याच जित्नको साथै फाइनलमा स्थान पक्का गऱ्यो। पञ्जाबले २०१४ पछि पहिलोपल्ट फाइनल खेल्ने अवसर पाएको छ। अब मंगलवार (३ जून) खेलिने फाइनलमा पञ्जाब किंग्सको भिड़न्त रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-सँग हुनेछ। आरसीबी-ले क्वालीफायर १-मा पञ्जाबलाई पराजित गरेर नै फाइनलमा स्थान बनाएको थियो। यसरी मुम्बई इण्डियन्सको अभियान क्वालीफायर २-मा समाप्त भयो। हार्दिक पाण्ड्याको कप्तानीमा रहने टीमले एलिमिनेटर म्याचमा गुजरात टाइटन्सलाई पराजित गरेको थियो तर आइतवार राति क्वालीफायर २-को वाधा चाहिँ पार गर्न सकेन। पञ्जाब किंग्स र आरसीबी-ले अहिलेसम्म आईपीएल ट्रफी जित्न सकेको छैन। यसैकारण आईपीएलको १८औं सीजनमा नयाँ च्याम्पियन देखिने तय छ।
वर्षाले गर्दा ढिलो गरी शुरु भएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने मुम्बई इण्डियन्सले ओपनर रोहित शर्मा (८ रन)-लाई तेस्रो ओभरमै गुमायो। त्यसपछि तिलक वर्माले जनी बेयरस्टोसँग दोस्रो विकेटको निम्ति ५१ रन अनि सूर्यकुमार यादवसँग तेस्रो विकेटको निम्ति ७२ रनको पार्टनरशीप गरेर टीमलाई सम्हाले। बेयरस्टोले ३ वटा चौका र २ वटा छक्काको साथ २४ बलमा ३८ रन बनाए। मुम्बईले पछिबाट सुर्यकुमार र तिलक वर्मालाई १४२-को स्कोरमा लगातार ओभरमा गुमायो। यसले गर्दा टीमको रन रेट सामान्य धीमा भयो। यी दुईजनाले ४४-४४ रन बनाए। सूर्यकुमारले २६ बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए जबकि तिलकले २९ बल खेलेर २ वटा चौका र २ वटा छक्का लगाए। अन्तिम ओभरहरूमा नमन धीरले आक्रामक शट्हरू खेलेर १८ बलमा ७ वटा चौकाको साथ ३७ रन बनाए। कप्तान हार्दिक पाण्ड्याले १५ रन बनाए। पञ्जाबका बलरहरूमा अजमतुल्लाह ओमारजईले २ विकेट लिए। त्यसपछि लक्ष्यलाई पीछा गर्दै पञ्जाबले प्रियांश आर्य (२० रन) र प्रभसिमरन सिंह (६ रन)-को ओपनिंग जोड़ीलाई चाँड़ै गुमाए पनि कप्तान श्रेयस अय्यरको अविजित अर्द्धशतकले टीमलाई जीत दिलायो। श्रेयसले ८ वटा छक्का र ५ वटा चौकाको साथ ४१ बलमा अविजित ८७ रन बनाए। उनले नेहाल वढेरासँग मिलेर चौथो विकेटको निम्ति ८४ रनको म्याच जिताउने पार्टनरशीप गरी स्कोर १५६ रनसम्म पुऱ्याए। वढेराले ४ वटा चौका र २ वटा छक्काको साथ २९ बलमा ४८ रन बनाए। वढेरा आउट भएपछि पञ्जाबलाई कप्तान श्रेयस अय्यरले एक्लैको दममा जीत दिलाए। पञ्जाबको निम्ति जोश ईंग्लिशले पनि ३८ रनको उपयोगी ईनिंग्स खेले। उनले २१ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए।