अमेरिकी सपनाले तनावमा चिनियाँ विद्यार्थीहरू

IMG-20250530-WA0384

हांगकांग: चीनका एक कम्प्युटर विज्ञानका विद्यार्थी किवी चाङ अमेरिकामा आफ्नो शैक्षिक भविष्यप्रति आशावादी थिए, जबसम्म उनको अमेरिकी भिसा रद्द गरिएको थिएन।
दक्षिण चीनको एक विश्वविद्यालयमा पीएचडीको पहिलो वर्षमा अध्ययनरत चाङले हालै एसियामा आयोजित एक सम्मेलनमा आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए। घरको छोटो बसाइपछि उनी अमेरिका फर्किँदै थिए। अमेरिकी अध्यागमनमा पुगेपछि उनको सपना चकनाचुर भइसकेको थाहा पाए।
उनका अनुसार अमेरिकी अधिकारीहरूले उनलाई ४८ घण्टासम्म नियन्त्रणमा राखेका थिए। उनको मोबाइल र ल्यापटप जफत गरेर सामानहरू खानतलासी गरिएको थियो। चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्भावित सम्बन्धबारे उनीसँग केरकार गरिएको थियो।
चाङले भने, ‘मलाई पाँच वर्षसम्म अमेरिकाबाट निष्कासित गरिएको जानकारी दिइयो। उनले आफ्नो अनुसन्धान चिनियाँ सरकारलाई बताएको अमेरिकी अधिकारीहरूको आशंका थियो।
अमेरिकी अधिकारीको आरोपलाई चाङले अस्वीकार गरेका थिए। चीन फर्किसकेका उनी भविष्यको योजना बनाइरहेको सीएनएनसँग बताए।
‘मैले कहिल्यै कल्पना गरेको थिइनँ कि यस्तो घटना मसँग पनि हुन सक्छ,’ चाङले भने। डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि परिस्थिति यति भयावह हुन्छ भन्ने उनले कल्पना पनि नगरेको बताए। ‘ट्रम्प प्रशासनले मेरो शैक्षिक भविष्यलाई नष्ट गर्न लागिपरेको छ। म पूर्णरूपमा असहाय महसुस गरिरहेको छु,’ उनले भने।
ट्रम्प प्रशासनले गत बुधबार नयाँ भिसा नीति घोषणा गरेको छ। जसमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित वा ‘संवेदनशील’ विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरूको भिसा रद्द गर्ने योजना सार्वजनिक गरिएको थियो। त्यही निर्णयले चिनियाँ विद्यार्थीहरूबीच त्रास फैलिएको छ।

अमेरिकी विदेश सचिव मार्को रुबियोद्वारा गरिएको संक्षिप्त घोषणापछि चीनका विद्यार्थी, अभिभावक र कन्सल्टेन्सीहरूमा आक्रोश र डर दुवै फैलिएको छ। सामाजिक सञ्जालमा विद्यार्थीहरूले आफ्नो निराशा पोखिरहेका छन् भने शिक्षा संस्थानहरू पनि चिन्तित छन्।
चीनको विदेश मन्त्रालयले अमेरिकी कदमलाई ‘राजनीतिक रूपमा प्रेरित र भेदभावपूर्ण’ भन्दै विरोध जनाएको छ। धेरै चिनियाँ विद्यार्थीहरू अमेरिकी शिक्षाको गुणस्तर, स्वतन्त्रता र अवसरबाट प्रेरित थिए। तर, अहिले भविष्य अन्धकार देखेर उनीहरू मानसिक तनावमा छन्।
हार्वर्ड विश्वविद्यालयमा वास्तुकलामा स्नातकोत्तर गर्न प्रस्ताव पाएकी जोइसले भनिन्, ‘मान्छेहरूको करियर र योजनाहरू कसरी रातारात गुम्छन् भन्ने कुरा आज मेरो अगाडि देखिएको छ।’ उनको भिसा आगामी वर्षसम्मका लागि मान्य छ। तर, उनी चीन फर्किन तयार भएनन्। चीनबाट अमेरिका आउने बेला आफ्नो हालत पनि चाङको जस्तै हुने उनलाई डर छ। ‘कास, म अमेरिका-चीन सम्बन्धको स्वर्ण युगमा हुर्किन्थे,’ उनले भनिन्।
बढ्दो अविश्वास र प्रतिद्वन्द्विता:
चिनियाँ विद्यार्थीहरूले दशकौंदेखि अमेरिकालाई प्रमुख अध्ययन गन्तव्यका रूपमा रोज्दै आएका छन्। २०१९-२०२० मा अमेरिकी विश्वविद्यालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये चिनियाँ विद्यार्थीहरूको संख्या सबैभन्दा धेरै थियो। तिनीहरूले अमेरिकी अर्थतन्त्र, अनुसन्धान र प्रविधिमा महत्त्वपूर्ण योगदान पनि दिएका छन्।
तर, चीन-अमेरिका रणनीतिक तनाव बढेसँगै दुवै देशले एकअर्कालाई आशंका गर्न थालेका छन्। विशेष गरी सेनासँग सम्बन्धित विश्वविद्यालयका विद्यार्थीहरूको भिसा रोक्ने नीति ट्रम्पले २०२० मा लागू गरेका थिए, जसमा एक हजारभन्दा बढी विद्यार्थीहरू प्रभावित भएका थिए।
यस्ता नीतिहरूलाई ट्रम्प प्रशासनले झन् कडाइ गरेका छन्। जसका कारण चिनियाँ विद्यार्थीहरू मानसिक अस्थिरता र असुरक्षाको स्थितिमा रहेका छन्। मिडवेस्टका एक विश्वविद्यालयमा रसायनशास्त्रमा पीएचडी गरिरहेका डेविड याङले भने, ‘जब यो घोषणा भइरहेको थियो, त्यतिबेला धेरै विद्यार्थीहरूले अन्तिम असाइनमेन्टमा काम गर्दै थिए। उनीहरूले असाइन्मेन्ट गर्न छाड्नुभयो। त्यसबाट म पनि अछुतो रहिनँ। मलाई सबै कुरा निरर्थक लाग्यो।’
उनले आफूलाई दुखी, हराएको र असहाय महसुस गरिरहेको बताए। यस्तो तनावपूर्ण अवस्थाले मानसिक स्वास्थ्यमा पनि असर पारेको उनको भनाइ छ।
चाङ र याङजस्तै, लाखौं चिनियाँ विद्यार्थीले चिनियाँ कम्युनिस्ट पार्टी वा युवा लिगसँग अनौपचारिक रूपमा सम्बन्ध राखेका हुन्छन्। तर, अमेरिकी अधिकारीहरूका लागि यस्ता सम्बन्ध भिसा अस्वीकृतिको आधार बन्न थालेका छन्।
ग्वाङ्झाउकी एला लिउ अमेरिका फर्किने तयारीमा छिन्। उनलाई पनि भिसा रद्द हुने ठूलो भय छ। ‘हामी सबै प्रार्थना गरिरहेका छौं कि मेरो भिसामा कुनै समस्या नहोस्। अमेरिका प्रवेश सहज होस्,’ उनले भनिन्। यदि भिसा नीति अझ कडा बनिरह्यो भने उनी युरोप वा हङकङजस्ता वैकल्पिक गन्तव्यको खोजी गर्ने सोचमा छिन्।
शिक्षा सल्लाहकार नेल्सन उरेनाका अनुसार सन् २०१८ यता चिनियाँ विद्यार्थी र अभिभावकहरू अमेरिकाबाहेक क्यानडा, अष्ट्रेलिया र युकेका विश्वविद्यालयमा बढी आकर्षित हुन थालेका छन्। बन्दुक हिंसा, जातीय भेदभाव र शत्रुताको डरले धेरै अभिभावक चिन्तित रहेको उनले बताए।
अमेरिकाले चीनबाट आउने सबै नयाँ भिसा आवेदनलाई अझ कडाइ गर्ने बताएको छ। त्यसका बावजुद केही चिनियाँ अभिभावकको लागि अमेरिकाको प्रतिष्ठा अझै कायम छ। फुजियानका व्यापारी अर्नो हुआङ भन्छन्, ‘अमेरिका मानवताको लागि सबैभन्दा खुला, सभ्य र विकसित स्थान हो। त्यसैले बुद्धिमान मानिसहरू यो वास्तविकता बुझ्छन्।’
शिक्षाविद् जिचेन वाङले अमेरिकाबाट फर्किएका चिनियाँ वैज्ञानिकहरूले नयाँ चीन निर्माणमा सहयोग पुर्‍याएको बताए। ‘एक समय थियो, जब चिनियाँ वैज्ञानिक र अधिकारीहरू अमेरिकाबाट फर्केर नयाँ चीन निर्माणमा सहयोग पुर्‍याउँथे। उनीहरू ज्ञानमात्र होइन, अमेरिकाको खुलापन र समावेशिताको गहिरो मूल्य पनि लिएर फर्कन्थे।’
उनले थपे, ‘मेरा नजरमा अमेरिकाको सबैभन्दा ठूलो शक्ति यसको विश्वस्तरीय विश्वविद्यालय र विचारको स्वतन्त्र बजार हो। जसले विश्वभरका प्रतिभालाई आकर्षित गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement