किम्फ काठमाडौँमा शुरु, विश्वका ३० देशका ६५ भन्दा बढी चलचित्रहरूको सहभागिता

IMG-20250529-WA0451

काठमाडौँ: काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२औं संस्करण शुरु भएको छ। महोत्सव निर्देशक जेरेमी पावर रेग्याम्बलको चलचित्र ‘बिटविन द माउन्टेन एण्ड द स्काई’ को प्रदर्शनसँगै शुरु भएको थियो। यो वृत्तचित्र सीएनएन हिरोको उपाधि जितेकी सामाजिक कार्यकर्ता म्यागी डोयानको जीवनमा आधारित छ। हालै यो चलचित्र अमेरिकामा प्रदर्शन हुँदैछ, र हामीले किम्फ मार्फत नेपालमा पहिलो पटक हेर्ने अवसर पाएका छौं।
पाँच दिने यस महोत्सवमा विश्वका ३० भन्दा बढी देशका ६५ भन्दा बढी चलचित्रहरू काठमाडौँको ठमेलस्थित क्यूएफएक्स छाया सेन्टर, आस्ट्राक हल र जीएए हलमा एकैसाथ प्रदर्शन गरिनेछ। ‘हामी यी चलचित्रहरू मार्फत विभिन्न संस्कृतिहरूलाई एकै ठाउँमा ल्याएर जोड्न चाहन्छौं’, किम्फ फाउन्डेसनकी अध्यक्ष रम्यता लिम्बूले भनिन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि किम्फ प्रति बोर्डको प्रतिबद्धता व्यक्त गर्दै यो महोत्सव चलचित्र संस्कृतिको आदानप्रदानको माध्यम बन्दै गएको बताए।
कार्यक्रममा अभिनेत्री मनिषा कोइराला पनि उपस्थित थिइन्। उनले किम्फ जस्ता चलचित्र महोत्सवको महत्वमाथि प्रकाश पार्दै यसले नेपाली चलचित्र उद्योगको समग्र विकासमा मद्दत गर्ने बताइन्।
उद्घाटन समारोह निर्णायक मण्डलका सदस्यहरूले परम्परागत घण्टी बजाएर शुरु गरेका थिए। उद्घाटन अघि काठमाडौँ डक ल्याब अन्तर्गत दक्षिण एसियाका ९ वटा वृत्तचित्रहरूको प्रत्यक्ष पिचिङ सत्र सञ्चालन गरिएको थियो। यी ९ वृत्तचित्रहरूमध्ये उत्कृष्ट तीन छनोट गर्ने जिम्मेवारी निर्देशक तथा उद्यमी भास्कर ढुंगाना, एलायन्स फ्रान्स काठमाडौँकी लुसी डे बारोस, ‘कथाहरु’की कार्यकारी निर्देशक स्मृति बस्नेत र निर्देशक टिन डिर्डामल सम्मिलित निर्णायक मण्डललाई सुम्पिएको छ।
डक ल्याबका सल्लाहकारहरू, क्यानेडियन फिल्म निर्माता अनम अब्बास, भुटानी निर्देशक अरुण भट्टराई र भारतीय फिल्म निर्माता रिन्टु थोमसले पनि मूल्याङ्कनमा सहयोग गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement