बिराटनगर: विरलै पाइने ‘स्प्रिङ कोब्रा’ नामको गोमन सर्प विराटनगरमा फेला परेको छ। परैबाट विष वमन गर्ने यो खतरनाक प्रजातिको गोमन सर्प हो। विराटनगर–४ स्थित नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको निवासमा यो भेटिएको हो। सर्प उद्धार टोलीले उक्त सर्पलाई नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय मोरङमा बुझाएको छ। तर, उद्धारको क्रममा सर्पले परैबाट विष फाल्दा महानगरपालिकाका उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ। उनी हाल कोशी अस्पताल, विराटनगरको आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको निगरानीमा छन्। उनको स्वास्थ्य स्थिति खतरामुक्त रहेको जनाइएको छ। चिकित्सकका अनुसार, यस्ता सर्पको विष विशेषगरी अनुहार र आँखामा परे गम्भीर असर गर्न सक्छ। यसले अस्थायी अन्धोपनदेखि स्थायी दृष्टि गुम्नेसम्मको खतरा ल्याउन सक्छ। नेपालमा विरलै मात्र देखिने ‘स्पिटिङ कोब्रा’ दक्षिण एसियाली भूभागमा पाइने एक विशिष्ट प्रजाति हो, जसले आफ्नो सिकार वा खतरा महशुस गरेपछि परैबाट विष थुकेर आक्रमण गर्छ। वन तथा स्वास्थ्य निकायका अनुसार, यो प्रजाति विशेष गरी गर्मी मौसममा बाहिर देखापर्न थाल्छ। महानगरपालिकाको स्वास्थ्य महाशाखाले गर्मी मौसममा तराई–मधेश क्षेत्रमा सर्पदंशको जोखिम अत्यधिक बढ्ने जनाएको छ। विशेषगरी झाडी, बगैंचा, गोठ र घरको चिसो/अँध्यारो स्थानहरूमा यस्ता विषालु सर्प लुकेर बस्ने गर्छन्।

महाशाखाले अन्य क्षेत्र वा घर आसपास यस्ता अनौठा वा विषालु सर्प देखिएमा तुरुन्त जानकारी गराउन अनुरोध समेत गरेको छ।