काेलकत्ता: पश्चिम बंगाल सरकारले ४४ हजारभन्दा बढी शिक्षण तथा अशिक्षण कर्मचारीहरू नियुक्त गर्न लागेको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार नवान्नमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको आदेशअनुसार ३१ मईभित्र शिक्षक नियुक्तिको अधिसूचना प्रकाशित गरिने घोषणा गरिन्।
मुख्यमन्त्रीले स्पष्ट पारिन् कि नियुक्ति प्रक्रिया सुरु गर्नुको साथै राज्य सरकारले सर्वोच्च अदालतमा पुनर्विचार याचिका पनि दायर गरेको छ। गर्मीको विदाका कारण हाल अदालत बन्द रहेको र यसपछि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिइन्।
४४,२०३ पदमा नियुक्ति हुने:
मुख्यमन्त्रीका अनुसार निम्नानुसार रिक्त पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढाइनेछ:
विभाग/कक्षा रिक्त पद:
कक्षा ९–१० – ११,५१७
कक्षा ११–१२ – ६,९१२
ग्रुप – सी २,९८९
ग्रुप – डी ५,४८८
कुल – ४४,२०३
यसबाहेक ग्रुप-सी का लागि थप ५१७ र ग्रुप-डी का लागि थप १,००० पद सृजना गरिने पनि उनले जानकारी दिइन्।
नोकरी गुमाएका शिक्षकहरूलाई विशेष सुविधा:
नोकरी गुमाएका शिक्षकहरूलाई फेरि अवसर दिनका लागि सरकार विशेष योजना ल्याउँदैछ। उमेर हद पार गरिसकेकाहरूलाई उमेर सीमा छुट दिइनेछ। मुख्यमन्त्रीले उनीहरूलाई पुनः परीक्षा दिन र पुनरावलोकन याचिका दर्ता गर्न आग्रह गरिन्।
महत्वपूर्ण मिति:
३० मई – एसएससीद्वारा अधिसूचना प्रकाशन
१६ जून – १४ जुलाई – आवेदन दिने समयावधि:
१५ नोभेम्बर – प्यानल प्रकाशन
२० नोभेम्बर – काउन्सिलिङ
दिसम्बरभित्र – नियुक्ति प्रक्रिया सम्पन्न
ग्रुप-सी र ग्रुप-डी का लागि पनि नियुक्ति:
मुख्यमन्त्रीले जानकारी दिइन् कि शिक्षक नियुक्तिको अधिसूचना सार्वजनिक भएको तीन–चार दिनपछि ग्रुप-सी र डी को लागि पनि नियुक्तिको सूचना आउनेछ। यिनको लागि अन्य विभागहरूमा आवेदन दिने व्यवस्था गरिनेछ।
न्यायालयको आदेश पालना गर्न सबैलाई आग्रह:
मुख्यमन्त्रीले स्पष्ट भनाइ राख्दै भनिन्, “सरकारले कसैको नोकरी खोस्ने चाहना राख्दैन। तर सर्वोच्च अदालतको आदेश अनुसार हामीले विकल्प प्रयोग गर्नैपर्छ।” उनले नोकरी गुमाएका शिक्षकहरूलाई विद्यालय जान पनि आग्रह गरिन्, किनभने उनीहरूले दिसेम्बरसम्म तलब पाउनेछन्।
अयोग्य ठहरिएका शिक्षकहरूका लागि वैकल्पिक अवसर:
न्यायालयले परीक्षा दिन नपाउने ठहर गरेका शिक्षकहरूलाई स्कूल भवन सफा गर्ने, ढोका खोल्ने, घण्टी बजाउनेजस्ता पदहरूमा आवेदन दिन सकिने सल्लाह दिइएको छ। यसका लागि पनि छुट्टै सूचना जारी गरिनेछ।