कराँची: पाकिस्तानको बलुचिस्तान प्रान्तमा एक पत्रकारलाई अपहरणको प्रतिरोध गरेको आरोपमा अज्ञात बन्दुकधारीहरूले गोली हानी हत्या गरेका छन्। पुलिसले बताएअनुसार बन्दुकधारीहरू क्वेटास्थित एक पत्रिकामा काम गर्ने पत्रकार अब्दुल लतीफ बलोचको घरमा पसेर उनलाई अपहरण गर्ने प्रयास गरेका थिए। पुलिस डीएसपी दानियल कक्कडले भने, “जब उनले विरोध गरे, उनलाई गोली हानी मारियो।”
पुलिसका अनुसार आक्रमणकारीहरू भागेका छन् र आइतबारसम्म पनि पक्राउ पर्न सकेको छैन र घटनाको अनुसन्धान जारी छ। बलोचको जेठो छोरालाई पनि केही महिनाअघि अपहरण गरिएको थियो र पछि उनको शव फेला परेको थियो। पाकिस्तान संघीय पत्रकार संघ (पीएफयूजे) लगायत धेरै पत्रकार संगठनहरूले ‘डेली इन्तिखाब’ पत्रिकासँग सम्बन्धित पत्रकार बलोचको हत्याको निन्दा गरेका छन्।