लाहौर: पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले बंग्लादेशविरुद्ध आउँदो टी२० सीरीजको निम्ति १६ सदस्यीय टीमको घोषणा गऱ्यो जसमा पूर्व कप्तान बाबर आजम, अनुभवी विकेटकीपर ब्याटर मोहम्मद रिजवान र पेस बलर शाहीन शाह अफरीदीलाई सामेल गरिएन। पीसीबी-ले बताएअनुसार, टीमको चयन वर्तमान पाकिस्तान सुपर लीग (पीएसएल) सत्रमा प्रदर्शनको आधारमा गरिएको छ। बाबर, रिजवान र अफरीदीलाई टी२० सेटअप-बाट बाहिर गरिएको यो पहिलोपल्ट चाहिँ होइन। यसअघि अप्रेलमा न्यूजील्याण्डविरुद्ध टी२० सीरीजमा पनि यी तीनजनालाई बाहिर गरिएको थियो तर उनीहरू पछिबाट वनडे टीममा सामेल भएका थिए। लाहौरको गद्दाफी स्टेडियममा हुने तीनवटा टी२० म्याचको सीरीज माइक हेसनको पाकिस्तानी प्रशिक्षकको रूपमा पहिलो सीरीज हुनेछ, जसको तारिखहरू पछिबाट घोषणा गरिनेछ।
ब्याटर सलमान अली आगा कप्तानको रूपमा कायम रहनेछन् जबकि अलराउण्डर शादाब खानलाई उपकप्तान बनाइएको छ। सेतो बलको अनुभवी ब्याटर फखर जमानको साथमा पेस बलर हारिस रऊफ र नसीम शाहलाई पनि टीममा सामेल गरिएको छ। ओपनर सईम अयूबको आगमनले ब्याटिंग क्रम मजबूत हुनेछ। यसबीच २९ वर्षीय ब्याटर साहिबजादा फरहानलाई पीएसएल-मा असल प्रदर्शनले गर्दा २०१८ पछि पहिलोपल्ट टी२०आई टीममा स्थान प्राप्त भएको छ।
बंग्लादेशविरुद्ध सीरीजको निम्ति पाकिस्तानको टी२० टीम यसप्रकार छः
सलमान अली आगा (कप्तान), शादाब खान (उपकप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हारिस रऊफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हारिस, मोहम्मद वसीम जूनियर, मुहम्मद इरफान खान, नसीम शाह, साहिबजादा फरहान र सईम अयूब