लेफ्टिनेण्ट कर्णेलको मानद उपाधिले सम्मानित भए नीरज चोपड़ा

IMG-20250515-WA0154

नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता अनि भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाललाई भारतीय सेनाले लेफ्टिनेण्ट कर्णेलको मानद उपाधिले सम्मानित गऱ्यो। भारत सरकारको साप्ताहिक आधिकारिक पत्रिका ग्याजेट अव् इण्डिया अनुसार यो नियुक्ति १६ अप्रेल २०२५-देखि प्रभावी भएको छ। नीरज २६ अगस्त २०१६-मा नायक सुबेदारको रूपमा भारतीय सेनामा जूनियर कमिशण्ड अधिकारीको रूपमा पहिलोपल्ट सामेल भएका थिए। त्यसको २ सालपछि नीरजलाई एथलेटिक्समा असाधारण प्रदर्शनको निम्ति अर्जुन पुरस्कार प्राप्त भयो। यसरी २०२१-मा उनलाई खेल रत्नले सम्मानित गरिएको थियो। भारतीय सेनाले केही दिग्गज खेलाड़ीहरूलाई खेलमा उत्कृष्ट योगदान र राष्ट्र प्रति समर्पणको निम्ति मानद सैन्य उपाधिहरूले सम्मानित गरेको छ। भारतीय क्रिकेट टीमका पूर्व कप्तान एमएस धोनीलाई २०११-मा १०६ टेरिटोरियल आर्मी बटालियन (प्यारा)-मा लेफ्टिनेण्ट कर्णेलको मानद ऱ्यांक दिइएको थियो। धोनीले २०१९-मा कश्मीरमा १५ दिनको स्वैच्छिक सेवा पनि दिएका थिए। यसरी महान क्रिकेटर सचिन तेन्दुलकरलाई २०१०-मा भारतीय वायु सेनाद्वारा ग्रुप क्याप्टनको मानद ऱ्यांक प्रदान गरिएको थियो। बेजिंग ओलम्पिक २००८-मा १० मीटर एयर राइफलमा स्वर्ण पदक जितेर इतिहास रच्ने शूटर अभिनव बिन्द्रालाई टेरिटोरियल आर्मीले लेफ्टिनेण्ट कर्णेलको मानद ऱ्यांक दिएको थियो। यसबाहेक भारतलाई १९८३-मा पहिलोपल्ट वर्ल्ड कप च्याम्पियन बनाउने कप्तान कपिल देवलाई २००८-मा टेरिटोरियल आर्मीमा लेफ्टिनेण्ट कर्णेलको मानद ऱ्यांक प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement