काठमाडौँ: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन एसियाड–२०२६ को बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आगामी एसियाडमा दोहोरो अङ्कमा स्वर्ण पदक जित्ने लक्ष्यमा साथ दृढ भएर लाग्न अनुरोध गर्नुभएको छ।
राखेपले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गर्दै बुधबार सदस्यसचिव घिसिङले नेपालको इतिहासमा एसियाड पछि अर्को एसियाडको तयारी सुरु गरिएको पहिलो पटक भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘हरेक एसियाड पछि खेलाडीले विमान स्थलमा बोल्ने शब्द तयारी पुगेन भन्नेहुन्थ्यो। राखेपले त्यसैलाई मध्यनजर गरेर पदकको सम्भावना रहेका खेलाडीलाई सेवा र सुविधासहितको प्रशिक्षण दिईरहेको हो। अब सकिन्न भनेर खेलाडीलाई छुटकारा (एक्सक्युज) हुने छैन। पदक जित्ने खेलाडीलाई पुरस्कारको हिसावले पनि कानुनी ब्यवस्था गरिएको छ। प्रशिक्षणमा केही कमजोरी छ भने अझै सुधार गर्न सकिन्छ।’’
यस्तै कार्यक्रममा मिसन–२०२६ का निर्देशक दीपक विष्टले खेलाडीले आफु र राष्ट्रको लागि पदक जित्ने हिसावले अनुशासनमा रहेर तयारी गर्न आग्रह गर्नुभयो।
ओलम्पियन बैकुण्ठ मानन्धरले पहिलाको तुलनामा नेपाली खेलाडीले धेरै सेवा र सुविधा पाएको उल्लेख गर्दै देशको प्रतिनिधित्व गर्ने खेलाडीले आफुलाई पदक जित्ने हिसावले अगाडि बढ्न सुझाव दिनुभयो।
राखेपले लामो समय देखि सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक ल्याउने लक्ष्यका साथ १२ खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्दै आएको छ। प्रशिक्षणमा रहेका खेलाडीलाई खानपान र भत्तासहित राम्रा प्रशिक्षकले प्रशिक्षण दिँदै आएका छन्।
ओलम्पिकमा नेपाल प्रकाशित
राखेपले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक बुधबार नै विमोचन गरिएको छ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी, दीपक विष्ट, विष्णुबहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नु भएको हो। पुस्तकमा ओलम्पिकमा नेपाल सहभागी भएको सन १९६४ देखि २०२४ को पेरिस सम्मको इतिहास समेटिएको छ।
साथै पारालिम्पिक, समर तथा ग्रीष्मकालिन ओलम्पिक र युथ ओलम्पिकमा नेपालबाट सहभागी भएका खेलाडीहरुको संक्षिप्त जानकारी तथा उपलव्धी समेटेर पुस्तक प्रकाशन गरिएको राखेप प्रचार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिनुभयो।