विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

IMG-20250512-WA0187

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका दिग्गज ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। रोहित शर्माको लगत्तै पछि अहिले कोहलीले पनि टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गर्दा भारतीय क्रिकेटलाई ठूलो झट्का लागेको छ। कोहलीले सोमवार सोशल मीडियामा खेलको सबैभन्दा लामो प्रारूपबाट सन्न्यासको घोषणा गरे। कोहलीले टेस्ट प्रारूपबाट सन्न्यास लिने निर्णय गरेको अनि यसबारे उनले भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-लाई सूचित गरेको केही दिन अघि मीडियामा खबर आएको थियो। त्यसपछि बीसीसीआई-का अधिकारीहरूले कोहलीलाई ईंग्ल्याण्डविरुद्ध आउँदो टेस्ट सीरीजलाई ध्यानमा राखेर आफ्नो फसेलामाथि पुनर्विचार गर्ने आग्रह गरेका थिए। बीसीसीआई-को आग्रहपछि पनि कोहलीले आफ्नो फसेलालाई बद्लिएनन्। विराटअघि रोहितले ७ मईमा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए। यसरी एकसाथ दुईजना दिग्गजले टेस्ट क्रिकेटबाट सन्न्यास लिँदा भारतीय प्रशंसकहरू स्तब्ध छन्। कोहलीको सन्न्याससँगै भारतीय क्रिकेटमा एउटा अध्यायको समापन भयो।
कोहलीले आफ्नो सोशल मीडिया पोस्टमा लेखेका छन्, टेस्ट क्रिकेटमा मैले पहिलोपल्ट ब्यागी ब्लू क्याप लगाएको १४ साल भइसकेको छ। ईमानदारीपूर्वक भन्नु पर्दा यस प्रारूपमा मेरो यात्रा यहाँसम्म पुग्नेछ भन्ने मैले सोचेको थिइनँ। यसले मेरो परीक्षा लियो, मलाई पहिचान दिलायो अनि मलाई यस्तो शिक्षा दियो, जसलाई म पूरा जीवन याद राख्नेछु। सेतो जर्सीमा खेल्नु मेरो निम्ति धेरै खास र निजी अनुभव रह्यो। परिश्रम, लामो दिन, ससाना पलहरू जसलाई कसैले देख्दैनन तर यो सदा तपाईंको साथमा रहन्छ। अहिले यस प्रारूपबाट अलग हुने फसेला सजिलो थिएन तर मलाई यो सही अनुभव भयो। मैले यसलाई आफ्नो सबैथोक दिएँ अनि यसले पनि मलाई सोचेको भन्दा अधिक नै दियो। म खेलको निम्ति, जुन व्यक्तिहरूसँग मैदान साझा गरे अनि त्यस हरेक व्यक्ति प्रति म आभारी छु, जसले मलाई यस यात्रामा अघि बढ़ाए। म आफ्नो टेस्ट करियरलाई सदा मुस्कुराएर हेर्नेछु।
कोहलीलाई अब केवल वनडे इण्टरनेशनल म्याच खेलिरहेको देखिनेछ। गत वर्ष टीम इण्डियाले टी२० वर्ल्ड कप जितेपछि उनले टी२० इण्टरनेशनल प्रारूपबाट सन्न्यास लिएका थिए। कोहलीले आफ्नो करियरमा १२३ वटा टेस्ट म्याच खेलेर २१० वटा ईनिंग्समा ४६.८५-को औसतले ९२३० रन बनाए। यसमा ३० वटा शतक र ३१ वटा अर्द्धशतक सामेल छ। जून २०११-मा वेष्ट इण्डिजविरुद्ध टेस्ट पदार्पण गर्ने कोहलीले यस प्रारूपमा सर्वोच्च स्कोर अविजित २५४ रन रह्यो। उनले टेस्ट क्रिकेटमा १०२७ वटा चौका र ३० वटा छक्का लगाएका छन्। कोहलीले आफ्नो अन्तिम टेस्ट म्याच जनवरी २०२५-मा अष्ट्रेलियाविरुद्ध खेले। उनले आफ्नो अन्तिम दुईवटा टेस्ट ईनिंग्समा १७ र ६ रन बनाए।
कोहलीले खेलको तीनैवटा प्रारूपमा भारतीय क्रिकेट टीमको कप्तानी गरिसकेका छन्। उनी २०१४-मा एमएस धोनीको सन्न्यासपछि अष्ट्रेलिया यात्रामा पहिलोपल्ट कप्तान बनेका थिए। त्यस समयदेखि २०२२-मा दक्षिण अफ्रिका यात्रासम्म उनी टेस्ट कप्तान रहेका थिए। यसरी २०२१-मा उनले टी२० र वनडे-को कप्तानी गुमाएका थिए। गत केही सालदेखि कोहलीको टेस्ट प्रारूपमा प्रदर्शन निराशाजनक रहेको थियो। विशेषगरी गत वर्ष न्यूजील्याण्डविरुद्ध घरेलु सीरीज अनि अष्ट्रेलियामा बोर्डर-गावस्कर ट्रफीमा उनको निराशाजनक प्रदर्शन सन्न्यास लिने प्रमुख कारण बन्यो। भारतले न्यूजील्याण्डविरुद्ध घरेलु टेस्ट सीरीजमा ०-३-ले हारको सामना गर्नु परेको थियो। त्यस सीरीजमा कोहलीले ३ वटा म्याचको ६ वटा ईनिंग्समा १५.५०-को औसतले केवल ९३ रन बनाएका थिए। यसरी उनले अष्ट्रेलिया यात्रामा ५ वटा म्याचको ९ वटा ईनिंग्समा केवल १९० रन बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement