५० निर्माताले दिए आवेदन
नयाँ दिल्ली: यसैसाता भारतीय सेनाले पाकिस्तानका ७ शहरमा ‘आतंकवादी’ लुकेका ९ सहरलाई लक्षित गर्दै ‘अपरेसन सिन्दूर’ सुरु गर्यो। त्यसयता यी दुई मुलुकबीच युद्धको जस्तै अवस्था छ।
यतिबेला भने यो नामलाई लिएर फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा छ। रिपोर्टअनुसार, लगभग ५० फिल्म निर्माताहरूले ‘अपरेसन सिन्दूर’ शीर्षक दर्ताको लागि आवेदन दिएका छन्।
दैनिक भास्करसँग कुरा गर्दै फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज (इम्पा)का अध्यक्ष बीएन. तिवारीले यो कुरा पुष्टि गरे। अध्यक्ष बीएन तिवारीले ‘अपरेसन सिन्दूर’को खबर आउने बित्तिकै दर्जनौं फिल्म निर्माताहरूले नाम दर्ता गर्न सम्पर्क गर्न थालेको बताए।
७ तारिख बिहानदेखि नै यसबारे फोन आउन थालेको उनले बताए। अहिलेसम्म १५ भन्दा बढी निर्माताले इम्पामा मात्र आवेदन दिएको बताए। बाँकी तीन फिल्मका संस्थालाई पनि आवेदन पठाइएको उल्लेख छ। यो टाइटल प्राप्त गर्ने दौडमा जम्मा ४०–५० जना छन्।