नयाँ दिल्ली: भारतस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ।
भारत–पाकिस्तान तनाव बढिरहेका बेला नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो।
दूतावासले शुक्रबार यससम्बन्धी सूचना जारी गरेको छ।
‘भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाली दूतावास, नयाँदिल्ली अनुरोध गर्दछ,’ दूतावासको सूचनामा भनिएको छ।