जम्मु: भारत प्रशासित कश्मीरको जम्मु सहरमा विस्फोटको आवाज सुनेको भारतीय सेनाका प्रवक्ताले जनाएका छन्।
‘ठूलो विस्फोटको आवाज—बम विस्फोट, गोलाबारी, वा क्षेप्यास्त्र आक्रमणको आशंका गरिएको छ,’ जम्मु–कश्मीर प्रहरीका पूर्व महानिर्देशक शेष पाल वैदले एक्स (पहिलेको ट्विटर) मा लेखेका छन्।
जम्मु विमानस्थलमा विस्फोट भएको खबर आएको बीबीसीले जनाएको छ। जम्मु सहरको गूज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मु विमानस्थल नजिक १६ वटा वस्तु खसिरहेको देखेका छन्।
एक सुरक्षास्रोतले एएफपी समाचार एजेन्सीलाई विमानस्थलमा विस्फोट भएको बताएका छन्।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार बजारहरू बन्द भएका छन्, मानिसहरू भागिरहेको देखिएको छ, साइरनहरू बज्न थालेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ।
एक प्रत्यक्षदर्शीले त्यहाँ पूर्ण अन्धकार (ब्ल्याकआउट) छ र उनीहरूले साइरनको आवाज सुनेको बीबीसीलाई बताएका छन्।
बीबीसी संवाददाता दिव्या आर्याका अनुसार जम्मुको धेरै स्थानहरूमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ।
कठुआमा नागरिकहरूले दुई स्थानहरूमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बत्ती काटिएको छ। कठुआ जम्मुबाट डेढ घण्टा टाढा पर्दछ। अहिले दुबै सहरहरू पूर्ण रूपमा अन्धकारमा छन्।