नयाँ दिल्ली: पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकलाई आक्रमणको निशाना बनाएको आरोप लगाएका छन्।
आसिफले बीबीसी उर्दूलाई भने, “भारतले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्षित गरेको दाबी गरिरहेको छ। म अन्तर्राष्ट्रिय मिडियालाई भन्न चाहन्छु, सबैले आफैँ आएर हेरे हुन्छ यी आतंकवादी लुक्ने ठाउँहरू थिए कि नागरिक बस्ती।” आक्रमणमा दुई मस्जिदहरू पनि परेको उनले बताएका छन्।
“एक बच्चा सहिद भएको छ। एक महिला सहिद भएकी छन्। मसँग सहिदको पछिल्लो तथ्यांक छैन,” उनले भनेका छन्, “तर पुष्टि भएका सात निशानामध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन्। यी सबै निशाना सर्वसाधारणमाथि थिए।”
पाकिस्तानी सेनाले पनि बीबीसीलाई भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको पुष्टि गरेको छ।