काठमाडौँ: बुधबार नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तीन दिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्केका छन्। उनले संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। तर जनता समाजबादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई चाहिँ भेट गरेनन्। यो बिषय मधेशबादी दलहरुमा चर्चाको बिषय बनेको छ।
नेपाल भ्रमणमा आएका भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले सरकारको नेतृत्व गरेको पार्टी एमालेभन्दा पनि कांग्रेसलाई बढी महत्त्व दिएको चर्चा र विमर्श भइरहेको छ।
उनले मुख्य रूपमा नेपाल–भारत सम्बन्ध र सुरक्षाको विषयमा चासो राखेका छन्।
भारतका लागि नेपाल सबैभन्दा नजिकको छिमेकी देश हो । दुई देशको बिचमा एक हजार ७५१ किलोमिटर खुला सीमा छ। भारतसँग नेपालको २२ वटा जिल्ला जोडिएका छन्। तीनतिर खुला सीमा भएको कारण संग्दिध गतिविधि हुनसक्नेतर्फ भारतले नेपाललाई सतर्क गराएको छ।
नेपालमा चीनको पनि प्रभाव बढेको छ। नेपालमा चीनले आफ्नो प्रभाव जमाउँदै गएका कारण नेपाल पनि चीनको साथमा जाने हो कि भन्ने चिन्ता भारतलाई छ। त्यही चिन्ता हटाउनका लागि भाजपा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेलाई नेपाल भ्रमणमा पठाएका हुन्।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले तीन दिनको नेपाल भ्रमणमा प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्रीसहित १९ जनासँग भेटेर शुक्रबार फर्किएका छन्। उनले संसद्भित्रका कांग्रेस, एमाले, माओवादी, रास्वपा, लोसपा र जनमत पार्टीका नेतृत्व र दोस्रो तहका नेताहरूसँग अलग–अलग भेट गरे।
उनले प्रधानमन्त्री केपीशर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेका थिए।
काठमाडौं छाड्नु पूर्व उनले एमालेका महासचिव शंकर पोखरले, एमाले नेता उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग छुट्टा छुट्टै भेटेका छन्। त्यस्तै, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र उपाध्यक्ष स्वर्णिम वाग्लेलाई पनि दिल्ली उड्नु पूर्व उनले भेटे।
अघिल्लो दिन कांग्रेस नेताहरू शेखर कोइराला, गगन थापा, प्रकाश शरण महत, एनपी साउद र उदयशमशेर राणा त्यस्तै गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणालाई उनले भेटेका थिए। माओवादी नेता जनार्दन शर्मालाई पनि उनले छुट्टै भेटे।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि उनले भेटेका हुन्।