अहमदाबाद: आईपीएल २०२५-को ५१औं म्याचमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले पराजित गऱ्यो। यस जीतको साथै गुजरात टाइटन्सले १० वटा म्याचमा १४ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलमा नेट रन रेटको आधारमा दोस्रो स्थान हासिल गरी प्लेअफ्-मा स्थान बनाउने सम्भावनालाई मजबूत बनायो। यसको विपरीत सनराइजर्स चाहिँ १० वटा म्याचमा ६ पोइण्ट्सको साथ नवौं स्थानमा रहन पुग्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २२४ रनको विशाल स्कोर बनायो। कप्तान शुभमन गिलले सर्वाधिक ७६ रन बनाए। उनले ३८ बल खेलेर १० वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक जोस बटलरले ४ वटा छक्का र ३ वटा चौकाको साथ ३७ बलमा ६४ रन बनाए। साई सुदर्शनले ९ वटा चौकाको साथ २३ बलमा ४८ रन बनाए। गिलले सुदर्शनसँग पहिलो विकेटको निम्ति ८७ र बटलरसँग दोस्रो विकेटको निम्ति ६२ रनको पार्टनरशीप गरे। वाशिंगटन सुन्दरले २१ रनको योगदान दिए। सनराइजर्सका बलरहरूमा जयदेव उनादकटले सर्वाधिक ३ विकेट लिए। जवाफमा सनराइजर्स हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो। ओपनर अभिषेक शर्माले ७४ रन बनाए पनि अन्य कसैले उपयोगी ईनिंग्स खेल्न सकेनन्। अभिषेकले ४१ बल खेलेर ६ वटा छक्का र ४ वटा चौका लगाए। यसबाहेक हेनरिक क्लासेनले २३, नितिश कुमार रेड्डीले अविजित २१ र ट्रेविस हेडले २० रन बनाए। गुजरात टाइटन्सका बलरहरूमा मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले २-२ विकेट लिए।