जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ। समयसँगै यसको अर्को नयाँ प्रवृत्ति पनि देखापरेको छ, त्यो हो तापक्रममा छिटो–छिटो हुने परिवर्तन। पछिल्लो वैज्ञानिक अध्ययनबाट के पत्ता लागेको छ भने संसारभर छोटो समयको अन्तरालमै गर्मीबाट जाडो र जाडोबाट गर्मी हुने घटनाहरू बढ्दै गएका छन्।
चीन, अमेरिका र क्यानडाका विभिन्न संस्थासँग सम्बद्ध वैज्ञानिकहरूले गरेको अध्ययनको निष्कर्षको आधारमा मौसममा अचानक आउने यस्तो परिवर्तनलाई ‘र्यापिड टेम्प्रेचर फ्लिप्स’नाम दिइएको छ।
यदि विश्वको तापक्रम यसरी छोटो–छोटो समयमा परिवर्तन भइरहे नेपालजस्ता कमजोर राष्ट्रहरू बढी प्रभावित हुनेछन्। किनकी छोटो समयमै अत्यधिक गर्मीबाट अत्यधिक चिसो वा चिसोबाट अत्यधिक गर्मी हुँदा बदलिँदो मौसम अनुसार अनुकूलन हुन गाह्रो हुन्छ।
यस्ता परिवर्तनले मानव समाजसँगै प्रकृतिमा पनि नकारात्मक प्रभाव बढ्छ। यसले स्वास्थ्य, पूर्वाधार, वनस्पति, कृषि लगायत सबै क्षेत्रमा नकारात्मक असर पर्ने वैज्ञानिकहरुको निष्कर्ष छ।
यो अध्ययन रिपोर्ट अन्तर्राष्ट्रिय जर्नल ‘नेचर कम्युनिकेसन्स’मा हालै प्रकाशित भएको छ। सो रिपोर्टमा लेखिए अनुसार वैज्ञानिकहरूले १९६१ देखि २०२३ को बीच तापक्रममा आएका परिवर्तनहरूसँग सम्बन्धित तथ्यांकहरूको विश्लेषण गरेका थिए। यी तथ्यांकहरू पाँच दिनभित्र सामान्य तापक्रमबाट आएका उतारचढावमा आधारित थिए।
त्यसको विश्लेषणबाट विगत ६ दशकमा संसारको ६० प्रतिशतभन्दा बढी क्षेत्रमा तापक्रममा अचानक हुने यस्ता परिवर्तनहरूको आवृत्ति, तीव्रता र गति बढेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन्।
यसको सबैभन्दा ठूलो असर दक्षिण अमेरिका, पश्चिमी युरोप, अफ्रिका, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियामा देखिएको छ।
चीन, अमेरिका र क्यानडाका विभिन्न संस्थासँग सम्बद्ध वैज्ञानिकहरूले गरेको अध्ययन भनिए पनि यस अध्ययनमा नेपालबारे कुनै प्रसंग उल्लेख छैन। यद्यपि दक्षिण एशियामा पनि असर देखिएको भनिएकाले यस क्षेत्र भित्र नेपाल पर्छ। त्यसैले चरम मौसमी घटनाबाट नेपाल अछुतो रहन सक्दैन।
केही उदाहरण
सन् २०१२ को मार्चमा उत्तर अमेरिकामा तापक्रममा अचानक ठूलो परिवर्तन भएको थियो। त्यहाँ तापक्रम सामान्यभन्दा १० डिग्री सेल्सियस बढेपछि, एक हप्तामै ५ डिग्री सेल्सियसले घटेको थियो। यस परिवर्तनले बालीहरूमा चाँडै फूल आउन थालेको थियो, तर त्यसपछि परेको हिमपातले बालीहरूमा ठूलो क्षति पुर्याएको थियो।
त्यस्तै रकी पर्वतहरूमा भीषण गर्मीपछि तापक्रम अचानक २० डिग्री सेल्सियसभन्दा बढी घटेको थियो, जसका कारण भारी हिमपात भई विद्युत आपूर्ति अवरुद्ध भएको थियो । त्यसबाट मानिसहरूले ठूलो कठिनाइ भोग्नुपरेको थियो।
यस्तै घटना सन् २०२१ को अप्रिलमा युरोपमा पनि देखिएको थियो। त्यतिबेला पनि तापक्रम अचानक गर्मीबाट चिसोमा बदलिँदा हिमपात भएको थियो र बालीहरूमा ठूलो क्षति पुगेको थियो।
चरम मौसमी घटनाको तीव्रता र प्रभाव अझै बढ्ने चेतावनी
वैज्ञानिकहरूले अभिलेखित तथ्यांक र जलवायु मोडेलहरूको मद्दतले भविष्यमा दीर्घकालसम्म हुनसक्ने परिवर्तनहरूको पनि अध्ययन गरेका थिए। वैज्ञानिकहरूले जलवायु परिवर्तनका विभिन्न परिदृश्यहरूमा शताब्दीको अन्त्यसम्म कति परिवर्तन आउन सक्छ भनेर सो अध्ययन गरेका थिए।
यस अध्ययनको आधारमा वैज्ञानिकहरूले यदि हरितगृह ग्यासहरूको उत्सर्जन अहिलेकै दरमा बढिरहेमा शताब्दीको अन्त्यसम्म चरम मौसमी घटनाको तीव्रता र प्रभाव अझै धेरै बढ्न सक्ने निष्कर्ष निकालेका छन्। साथै गर्मी र चिसोबीच आउने परिवर्तनको समय अवधि पनि घट्ने निष्कर्ष निकालेका छन्।
वैज्ञानिकहरूले विश्वभरको तापक्रममा अचानक आउने परिवर्तनहरूको प्रभाव १०० प्रतिशतभन्दा बढीले बढ्नसक्ने निष्कर्ष निकालेका छन्। नेपाल जस्ता कमजोर राष्ट्रहरूका मानिसहरू यस्ता परिवर्तनहरूको मारमा पर्ने खतरा विश्वका अरु विकसित देशहरुको तुलनामा ४ देखि ६ गुणा बढी हुनसक्ने वैज्ञानिकको निष्कर्ष छ।
यस अवस्थामा, अनुसन्धानकर्ताहरूले तापक्रममा अचानक आउने परिवर्तनहरूबाट जोगिने क्षमता ठूलो जनसंख्या बसोबास गर्ने विकासोन्मुख राष्ट्रहरुमा सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।