प्रकाश कुइँकेल, बङ्गालीपाडा, तामुलपुर, असम
गजल र असममा गजल लेखनको परम्परा:
गजल एक काव्य रचना हो। गीतजसरी गाउन सकिने, कविता जसरी वाचन गर्न सकिने एकमात्र काव्य विधा हो गजल। गजलको आफ्नै छुट्टै शैली हुन्छ, आफ्नै छुट्टै नियमहरू हुन्छन्। गजलको जन्मस्थलो अरब हो। यो विधा अरबी भाषामा जन्मियो र फारसी भाषामा हुर्कियो। पछि गएर यसले हिन्दी, नेपाली आदि विभिन्न भाषाहरूमा समेत विस्तृति फैलायो र क्रमश: यो गेय (गजल) विधा लोकप्रिय बन्दै गयो। अरबी भाषामा लगभग सय वर्ष पहिल्यै जन्मिएको गजल विधा निक्कैपछि भारतीय पद्यमा आइपुग्यो। भारतीय भाषामा पहिले हिन्दीमा लेखिन थाल्यो। भानुभक्तको जीवनी लेखेर भानुभक्तलाई चिनाउने ‘मोतिराम भट्ट’ नेपाली साहित्यमा गजल विधा भित्र्याउने सर्वप्रथम व्यक्ति मानिन्छन्।
असमको कुरा गर्न जाँदा असमको पहिलो गजलकार हुन् धर्मोगत शर्मा तुफान हुन् भन्ने पाइन्छ। उनको गजलसङ्ग्रह ‘विद्रोही आवाजहरू’ सन् १९७४-७५ मा प्रकाशित भएको हो। त्यसपछि गोविन्द शाण्डिल्य दोस्रो गजलकारका रूपमा देखा परे। उनका दुईवटा गजल सङ्ग्रह ‘गजल गान्धार'(सन् २००६) र ‘मृगतृष्णा’ (२०११) मा प्रकाशित भएका हुन्। त्यसपछि ‘दुईटा जन्म केही गजल’ (२००७) र ‘गजल’ (२०११) प्रकाशित गर्ने डिगबोइका भविलाल लामिछानेलाई असमको तेस्रो गजलकारका रूपमा देख्न पाइयो। असममा गजलले जनप्रियता पाउन निक्कै समय पर्खनुपर्यो। पछि असम नेपाली साहित्यसभाले सन् २०१६ को ५ जनुवारीदेखि १५ जनुवारीसम्म नेपालदेखि गजल विशेषज्ञ डा. देवी नेपाल र गजलकार सुरेश सुवेदीलाई बोलाएर त्यसबेलाका अनेसासका सभापति डम्बर दाहालको नेतृत्वमा असमका विभिन्न ठाउँमा गजलको कार्यशाला सम्पन्न गराएको थियो। यो कार्यशालालाई असमेली गजल क्षेत्रकै अहिलेसम्मकै ठुलो योगदान भन्न सकिन्छ। यसपछि एकाएक गर्दै असममा निक्कै गजलकारहरूको जन्म भयो। असमेली गजल क्षेत्रका सबैका मार्गदर्शक आदरणीय वरिष्ठ गजलकार रामप्रसाद दाहालका दुईवटा गजल सङ्ग्रह ‘उद्भव’ (सन् २०१६) र ‘राँको’ (२०१८) प्रकाशित भएका छन्। त्यसपछि युवा गजलकार ऋषिकेश अधिकारीको ‘मनको बारुद’ (२०१९) प्रकाशित भयो। त्यसपछि अर्जुन निरौलाज्यूको “हजुरबाको अनुहार र पेन्सन” काव्य सङ्ग्रहमा पनि केही गजल प्रकाशित भए। त्यसैगरी कृष्णनील कार्कीको ‘समयको भाग्यरेखा’ मा पनि कविताका साथै गजल प्रकाशित भएको देखिन्छ। युवा गजलकार प्रकाश कुइँकेलको गजल सङ्ग्रह ‘हुङ्कार’ प्रकाशित हुन्छ सन् २०२१मा र प्राध्यापक देविचरण सेढाईँको “शब्द र स्वर” प्रकाशित हुन्छ सन् २०२२मा।
यसरी नै धेरै पुस्तक र पत्रिकाहरूमा पनि निक्कै गजलहरू प्रकाशित भएको पाइन्छ। पछिल्लो समयमा असमबाट सामाजिक सञ्जालमा पनि निक्कै गजलकारहरूका उत्कृष्ट गजलहरू पढ्न पाइएको छ। असममा यसरी गजकारहरूको जन्म भइरहेको देख्न पाउनु हामी सबैका लागि खुसीको कुरा हो। युवावर्गमा अत्याधिक रुचाइएको विधाहरूमा गजल पनि एक हो भन्न सकिन्छ। अरू गजकारका गजलहरू पढेपछि सिकारु कलमकारहरूले पनि सर्वप्रथम गजल विधामै कलम चलाएको देख्न पाइन्छ।
प्रदीप शर्माको ‘आक्रोशका झिल्काहरू‘ :
‘मलाई नसोध मेरो परिचय’ (२०२१) कविता सङ्ग्रह प्रकाशित गरेर साहित्यजगतमा पाइला टेकेका गेलापोखरी विश्वनाथ असमका कवि प्रदीप शर्मा यसघरी गजलकारको रूपमा उर्लिएर आएका छन्। सामाजिक सञ्जालमा मिठा मिठा गजल लेखेर स्रोता-पाठकको मन जित्न सफल भएका प्रदीप शर्माले ‘आक्रोशका झिल्काहरू'(सन्२०२२) नामक गजल सङ्ग्रह पाठकमाझ ल्याएका छन्। सामाजिक सञ्जालबाट पाठकको मन जित्न सक्षम भएसँगै गजलकार रामप्रसाद दाहाल र कवि, नाटककार, समालोचज कृष्णनील कार्कीको प्रेरणा पाएर नै उक्त गजल सङ्ग्रह निकाल्न सक्षम भएको हुँ भन्ने कुरा उनले आफ्नो पुस्तकमा खुलाएका छन्। यसमा जम्मा ८६ वटा गजलहरू अटाएका छन्। यसको भूमिका लेखेका छन् असमलाई गजलको भूमि बनाउन सबैभन्दा बढी मेहनत गर्ने विश्वनाथ गमिरी निवासी वरिष्ठ गजलकार, उपन्यासकार रामप्रसाद दाहालले। गजलकार भन्छन् – उक्त सङ्ग्रहमा भएका गजलहरू कोरोनाकालको फसल हो। साँच्चिकै कोरानाकालको समयले अरू अरू क्षेत्रमा हानी पुर्याए तापनि साहित्यमा कलम चलाउनेहरूका लागि भरपूर समय दिएको थियो जो हामी सबैले त्यसको सदुपयोग गर्न सक्यौँ। थाहा भएअनुसार गजलकारले पनि कोरोनाकालको भरपूर सदुपयोग गरेको बुझियो। आदरणीय वरिष्ठ गजलकार रामप्रसाद दाहालका गजलहरूबाट नै उनी प्रभावित भएको कुरा उनले स्वीकारेका छन्। आउनुहोस् उनको “आक्रोशका झिल्काहरू” का विविध विषयमा लेखिएका गजलहरू पल्टाउँदै जाउँ।
वृद्ध बा-आमाको मन डराएको कसले देख्ने!
एकान्तमा पीडाले छटपटाएको कसले देख्ने।
यो मुटु किन फलामजस्तो भएन भन्दै रुन्छन्!
अवहेलित भई जीवन बिताएको कसले देख्ने। (गजल १)
वृद्ध अवस्था भनेको मन डराउने, केही कुरामा पनि साहस-हिम्मत नआउने समय हो! यसबेला मनमा पीडा मात्रै हुन्छ। कसैले च्वाँस्स मुटु बिझाइरहेको हुन्छ। आफ्नै घरमा आफ्नै सन्तानबाट अवहेलित छन् कैयौँ बा- आमाहरू। यस गजलद्वारा कसैले यस्तो पाप काम नगरौँ, वृद्ध बा-आमाको सेवा गरौँ भन्छन् गजलकार प्रदीप शर्मा।
एउटा अदृश्य व्याधिको हलचल फैलियो!
विश्वव्यापी महामारीको खलबल फैलियो।
जीवन जोगाउन कस्तो त्राहित्राहि भइसक्यो!
मृत्युदुत भै विषालु वार्ता पलपल फैलियो।(गजल ४)
कोरोनाको महामारीले साँच्चै नै विश्वमा आतङ्क फैलायो। लाखौँ मानिसले अकालमै ज्यान गुमाउनुपर्यो। जताततै त्राहिमाम भए मानिसहरू! कोही कोठाभित्रै थुनिएर रहे। विश्वमै अशान्तिको वातावरण भयो। गजलकार प्रदीप शर्मा पनि महामारीबाट निक्कै भावुक भएर उक्त गजल कोरेको देखिन्छ।
अडिग छौँ सधैँ हामी तिम्रै सेवा गर्न देऊ!
निडर भै युद्ध गर्छौँ हाँसीहाँसी मर्न देऊ।
छैन मोह जीवनको वीर सपूत हामी हौँ!
चाहिँदैन सुनचाँदी मात्र खुशी भर्न देऊ।
(गजल २०)
विश्वले चिन्ने जात हो हामी गोर्खाली! कसैसँग झुक्न, कतै लुक्न नमान्ने निडर भएर अघि बढ्ने विश्वकै एकमात्र जाती हो गोर्खा। बरु मर्छ दुश्मनका हातबाट तर हिम्मत हार्दैन मैदानमा। आफ्नो सिद्धान्तमा अडिग रहने सदासर्वदा देशको हितमा मरिमेटने यो वीर सपूत हो! गजलकारले आफू गोर्खा हुनुमा आफैलाई गर्व गरेका छन्, यो उत्तम कुरा पनि हो।
अर्को एक पारिवारिक समस्यालाई लिएर लेखेको गजल हेरौँ त –
ऋणमाथि ऋण थपेर छोरो पढाएँ!
सकेसम्म पीडा सहेर छोरो पढाएँ।
आश्रम लैजान्छ कि भन्ने बढ्दैछ सङ्का!
दु:खमा पछि नहटेर छोरो पढाएँ। (५१)
बा-आमाले दिनरात दु:ख गरेर आफ्नो सन्तानलाई पढाउँछन् ठुलो मान्छे बन्ने सपना देख्छन् जब सन्तान ठुलो हुन्छ उसले बा-आमाको दुखलाई बुझ्दैन, मायालाई बुझ्दैन। उसलाई बा-आमा घरमा पालेको कुकुरभन्दा सस्ता लाग्छन् र आश्रममा लगेर फालिदिन्छ। गजलकार आफू पनि निक्कै डराएका छन् मैले पनि मेरो छोरोलाई पढाएको छु कतै यस्तै दुर्दशा त मैले भोग्नुपर्ने होइन ? बा – आमाको कहिल्यै हेला नगरौँ हाम्रा जिउँदा देवता उनीहरू नै हुन्। प्रेमको समस्यालाई लिएर चिन्तित प्रदीप शर्माका कलमबाट यसरी शंकाहरू अभिव्यक्त भएका छन्-
कसैको भर नपर्नु प्रिया यहाँ अमान्छे धेरै छन्
अन्धोझैँ अघि नसर्नु प्रिया यहाँ अमान्छे धेरै छन्
तिमीले फूल ठाने त्यो ढुङ्गो हुन सक्छ सानी!
भित्री मन व्यक्त नगर्नु प्रिया यहाँ अमान्छे धेरै छन्।(६०)
सबै मान्छेहरू असल हुँदैनन्। बाहिर जस्ता देखिन्छन् भित्रबाट त्यस्ता हुँदैनन्। आँखा चिम्लेर कसैको भर नपर्नु तिम्रो नियत बिगार्न सक्छन् र तिमीलाई कुदृष्टि लगाउन सक्छन् प्रिया भन्दै आफ्ना प्रेमीकालाई सतर्क गराएका छन गजलकारले। प्रदीप शर्मा उनका गजलहरू एक सामाजिक सुधारवादी गजलकारको रूपमा देखापरेका छन् –
फरक छैन मान्छेको एउटै ईश्वरको सन्तान भन्नेहरू!
किन विद्वेष फैलाउँछन् आफैलाई महान भन्नेहरू।
भन्नुस् त उच्छ-नीच जातपातको धारण कसले बनायो!
खै कता गए विस्तार गरौँ मानवताको जयगान भन्नेहरू।(७१)
मान्छे मान्छे सबै उस्तै हुन्। को कामी को दमाई, को ब्राह्मण को क्षेत्री ? मन सबैको छ, रगतको सङ्ग पनि रातै छ, सोच्ने शक्ति स सामर्थ्य पनि उत्तिकै छ अनि फेरि जातपातको विभेद किन कसका लागि ? हामी सबै मानिस उत्तिकै हौँ। भेदभाव-पक्षपात कसैमाथि नराखौँ, समाजलाई हाम्रो सोचलाई परिवर्तन गरौँ भन्ने आह्वान गरेका छन् यस गजलबाट गजलकारले।
प्रदीपका गजलहरूको संरचना :
गजलको मुटु हो काफिया! जसरी मुटुबिना कोही बाँच्न सम्भव हुँदैन ठिक त्यसैगरी काफियाबिना गजल बाँच्दैन। उस्तै सुनिने, उस्तै उच्चारण हुने, उस्तै प्रकारले लेखिने, प्रत्येक सेरहरूमा चाहिने शब्दसमूहलाई काफिया भनिन्छ। काफिया दोहोर्याएर लेख्नु गजलको नियममा दोष मानिन्छ। गजलकारका गजलहरूमा भावपक्ष राम्रो हुँदाहुँदै पनि गजलकार काफियामा सचेत नरहेको देखियो। एउटा उदाहरण हेरौँ –
कहाँ हुँदोरैछ बाहिरी नजरले देखेजस्तो मान्छे!
भेट्न सारै मुस्किल रैछ अन्तरले हेरेजस्तो मान्छे।
मान्छेलाई चिन्नु ढुङ्गोजस्तो कठिन हुँदोरहेछ!
देख्दैछु हिंसा लुकाएर काँचुली फेरेजस्तो मान्छे।(गजल ३)
भावपक्ष उत्तम हुँदाहुँदै पनि यस गजलमा फाफिया दोहोरिन पुगेको देखिन्छ। हेरेजस्तो र फेरेजस्तो यी दुई काफिया आपसमा दोहोरिएको देखियो। यसलाई काफियागत दोष मानिन्छ।
प्रेमको शिक्षा दिनेहरूले नै हिंसा फैलाएको देखेँ!
लाग्छ शान्तिका वार्तावाहकहरू अप्रिय हुँदैछन्।
ऐनाले कमजोर छिद्रलाई सुविधाको मौका छोप्दै!
अनैतिक कार्यहरू दिनदिनै सक्रिय हुँदैछन्।(गजल ३७)
यस गजलमा अप्रिय र सक्रियको काफिया जुधेको छ। गजलकारले काफियामा ध्यान नदिएको भन्न सकिन्छ या ध्यान दिदादिँदै पनि छुटेको हुन सक्छ! भरसक दोषमुक्त लेख्नु एकजना लेखकको कर्तव्य बन्न जान्छ। यसरी ३/४ वटा गजलहरूमा काफियागत दोष देखियो। हिज्जेहरू पनि विभिन्न ठाउँमा छुटेका रहेछन्। अर्को कुरा, धेरैवटा गजलहरूमा उस्तै काफियाहरू लागेका देख्न पाइयो, भरसक नयाँ नयाँ ढङ्गका/किसिमका काफियाहरू लाएर लेख्दा अझ उत्तम हुनेछ। पाठकहरूले पनि त्यस्ता काफियाहरूलाई भरपूर रुचाउनेछन्। भावपक्षलाई पनि अझ दर्बिलो बनाउन सक्दा अझ उत्तम हुनेछ।
निचोड :
अन्त्यमा, आउँदा दिनहरूमा गजलकार प्रदीप शर्माका गजलहरूमा अझ निखार आओस्, अझ उत्कृष्ट गजलहरूको जन्म होस् भन्दै, अझ स्तरीय गजलहरू बोकेर अर्को गजल सङ्ग्रह चाँढै बजारमा आओस् भन्दै ‘आक्रोशका झिल्काहरूका’ लागि बधाई अनि आगामी दिनका लागि शुभकामना दिँदै यो लेखलाई समाप्त गर्न चाहन्छु।