सम्पत्ति शुद्धीकरणमा सोनियाँ र राहुल गान्धीविरुद्ध अभियोगपत्र दर्ता

IMG-20250415-WA0361

नयाँ दिल्ली: भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले भारतीय राष्ट्रिय कंग्रेसका पूर्वसभापतिहरू सोनिया गान्धी र राहुल गान्धीविरुद्ध अभियोगपत्र दर्ता गराएको छ।
नेशनल हेराल्ड अखबारसँग जोडिएको एक सम्पत्ति शुद्धीकरणसम्बन्धी मामिलामा ईडीले मंगलबार सोनिया र राहुलविरुद्ध अभियोगपत्र दर्ता गराएको हो। यो मामिलामा छानबिनको माग गर्दै १२ वर्षअघि सन् २०१२ मा उजुरी परेको थियो।
लोकसभाका सांसद रहेका सोनिया र राहुल आमा–छोरा हुन्। राहुल लोकसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत हुन्।
प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले ईडीको यो कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ। र, प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले अनधिकृत रूपमा दिएको धम्कीको रूपमा लिएको जनाएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार ईडीले यो मामिलामा जोडिएको अनुसन्धानपछि पछि कंग्रेसका यी दुई वरिष्ठ नेताविरुद्ध अभियोगपत्र दर्ता गराएको हो। विशेष न्यायाधीश विशाल गोग्नेले ९ अप्रिलमा ईडी कार्यालयले दिएको अभियोगपत्र दायर गर्दै २५ अप्रिलका लागि सुनुवाइको समय तोकेका छन्।
अभियोगपत्रमा कंग्रेस नेता सैम पित्रोदा र राजीव गान्धी फाउन्डेशनका ट्रस्टी सुमन दुबेलाई पनि अभियुक्त बनाएको छ।
नेशनल हेराल्ड अखबारका प्रकाशन एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल)ले प्रकासन गर्दै आएको छ। यसको स्वामित्व हक यङ इंडियन प्राइवेट लिमिटेडसँग छ। सो कम्पनीमा सोनिया र राहुलको पनि साझेदारी छ।
नेशनल हेराल्डको प्रकाशन सन् १९३८ मा नेहरूले सुरु गरेका थिए। सन् १९३७ मा एसोसिएटेड जर्नल्स लिमिटेड स्थापना भएको थियो। यसमा करिब पाँच हजार सेयर होल्डर्स थिए। यो कम्पनीले नेशनल हेराल्डका अलावा कौमी आवाज र नवजीवन नामका अन्य दुई अखबार पनि प्रकाशित गर्ने गरेको थियो।
सन् १९४७ मा नेहरू प्रधानमन्त्री बनेपछि उनले बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। प्रकाशन सुरु भएको ७० वर्षपछि २००८ मा आर्थिक संकटको कारण अखबार बन्द भएको थियो। त्यसको ८ वर्षपछि सन् २०१६ मा त्यसको अनलाइन संस्करण पुनः सुरु भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement