नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा लाखौं मानिसको मृत्युको जिम्मेवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की दुबै रहेको बताएका छन्।
ट्रम्पले युक्रेन युद्धको विषयमा ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नको जवाफ दिंदै मंगलबार उक्त कुरा बताएका हुन्।
यस क्रममा एल साल्भाडोरका नेताहरू पनि त्यहाँ उपस्थित थिए।
ट्रम्पले यस युद्धको लागि पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि दोष दिएका छन्।
उनले भने, ‘युद्ध सुरु गर्नेले युद्ध जित्न सकिन्छ कि नाइँ भन्ने कुरा बुझ्नुपर्छ।’
यसअघि आइतबार रुसले युक्रेनको उत्तरपूर्वी शहर सुमीमा घातक आक्रमण गरेको थियो। यसमा धेरै मानिसहरू मारिएका छन्। यस विषयमा व्यापक आक्रोश व्यक्त गरिएको थियो। ट्रम्पको यो बयान सोही घटनापछि आएको हो।