फिककल: नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका विभिन्न देशका राजदूतले अन्तुमा चिया टिपेका छन्। सोमबार राजदूतहरुले चिया बोक्ने डालो भिरेर चिया टिपेका हुन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सबै राजदूतका लागि यो फरक अनुभव भएको र चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी प्राप्त भएको बताउनुभयो।
राजदूतहरुले टिपेको चिया जोखेर नामसहित राखिएको छ। सूर्योदयका नगरप्रमुख रणबहादुर राईले राजदूतले टिपेको चिया प्रशोधन गरी तयार पारेर उहाँहरुलाई पठाइने बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘इलामको चिया चिनाउनका लागि हामीले यो प्रयास गरेका हौं।’’ अस्ट्रेलियाका राजदूत लेनान जोनस्टनले नेपाली चिया पिउन पाए पनि बोटमै आएर चिया टिप्ने अनुभव लिन पाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘यति सुन्दर ठाउँको चिया विश्व बजारमा लैजानका लागि हाम्रो पनि कोशीस हुनेछ।’’
अनौपचारी कार्यक्रमअन्तर्गत अन्तुमै चिया टेष्टिङ गराइएको छ। सूर्योदय टि प्रोडुर्सस एशोसिएसन र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तर योजना फिक्कलले विभिन्न १६ जातका चिया टेष्टिङ गराएको हो।
नेपाली चिया विश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखिएको सूर्योदय टि प्रोडुर्सस एशोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो।
चिया टेष्टिङसँगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो।
ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तर योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिनुभयो। अन्तुमै दुधको परिकार चिज र अलैची टेष्टिङको कार्यक्रम समेत आयोजना गरीयो।
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत आइतबार इलामको सूर्योदय नगरपालिका आउनुभएको थियो।
परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत १५ देशका राजदूत आइतबारदेखि अन्तुमा हुनुहुन्छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदूतसहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी हुनुहुन्छ।

भ्रमणअन्तर्गत सोमबार अन्तु पोखरीमा राजदूतलाई डुङ्गा सयर गाउनका साथै माछा झिक्ने (फिसिङ) गराउने कार्यक्रम सम्पन्न भएको नगर प्रमुख राईले जानकारी दिनुभयो। उहाँका अनुसार परराष्ट्र मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार अनौपचारिक भ्रमण भएका कारण विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीटजल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रेन्स रिपब्लिक, इजरायल, जापान, मलेसीया, श्रीलङ्का, बङ्गलादेश र इसीमोडका राजदूत सहभागी भएको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिनुभयो। उक्त भ्रमण वैशाख २ गतेसम्मको रहेको छ।