के अमेरिकी पूर्वराष्ट्रपति बाराक र मिशेल ओबामा डिभोर्स गर्दै छन्?

IMG-20250411-WA0030

नयाँ दिल्ली:  यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा हरेकजस्तो सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे। गत जनवरी ९ मा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टि कार्यक्रममा बाराक ओबामा एक्लै सहभागी भए। सो कार्यक्रममा उनकी पत्नी मिशेल ओबामा सहभागी थिइनन्। 
जनवरी २० मा ह्वाइट हाउसमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पदको शपथग्रहण समारोह भएको थियो। उक्त कार्यक्रममा मिशेल ओबामा सहभागी भइनन्। उक्त कार्यक्रममा पनि बाराक ओबामा एक्लै देखिए। 
यस्ता अन्य धेरै प्रमुख कार्यक्रमहरूमा पनि मिशेल आफ्नो पतिका साथ देखिइनन्। यी घटनाले उनीहरू छुट्टिन लागेको हुनसक्ने अनुमानहरूलाई बढावा दिन थाल्यो। त्यसपछि  बाराक र मिशेल ओबामा डिभोर्स गर्दै छन् भन्ने हल्ला चलेको थियो।
तर, हालै अमेरिकी मिशेलले बाराक ओबामासँगको सम्बन्धमा फाटो आएको भन्ने अफवाहहरूप्रति आपत्ति जनाएकी छन्।
अमेरिकी अभिनेत्री सोफिया बुशको पोडकास्ट वर्क इन प्रोग्रेसमा बोल्दै मिशेलले भनिन्, “अहिले म परिपक्क महिला हुँ। म आफ्नो समयतालिका आफैँ निर्धारण गर्नसक्छु। मानिसहरूले मलाई आफू निर्णय गर्न नसक्ने मान्छेको रूपमा चित्रण गरेका छन्। म र मेरो श्रीमान् छुट्टिँदैछौँ भन्ने हल्ला चलाए।” 
तर, उनले गर्नुपर्ने जिम्मेवारीहरू पूरा नगरेकोमा भने आफूलाई पश्चाताप लागेको उनले बताइन्।
“एक महिलाको हिसाबले हामी प्रायः अरूलाई निराश पार्न खोज्दैनौँ,” उनले भनिन्, “यो वर्ष त मानिसहरूले आफैँ निर्णय लिनसक्छु भन्ने तथ्यलाई नै विश्वास गर्न सकेनन्। उनीहरूले हामी छुट्टिएको अनुमान मात्र लगाए। के यो एउटी परिपक्व महिला आफ्नो लागि आफैँ निर्णय गर्न सक्दिन भन्ने समाजको मान्यता हो?” 
पोडकास्टमा उनले  आफ्नो लागि जे ठिक लाग्छ त्यही निर्णय आफूले गरेको उनले बताएकी छन्। अरूले के चाहन्छन् भन्ने कुराको पछि नलागेको उनले प्रष्ट पारेकी छन्। 
डोनाल्ड ट्रम्पको शपथग्रहणमा उनको अनुपस्थितिलाई अमेरिकामा परम्परागत अभ्यासको उल्लंघन मानिएको थियो। यसअघि सबै पूर्वराष्ट्रपति र प्रथम महिला कार्यक्रममा उपस्थित हुनेगर्थे।
ओबामा दम्पतिले गत अक्टोबरमा आफ्नो ३२औँ विवाह वार्षिकोत्सव मनाएका थिए। यसै प्रसंगमा मिशेलले आफ्नो आत्मकथामा श्रीमानको राजनीतिक महत्वाकांक्षा र ह्वाइट हाउसको व्यस्तताले उनीहरूको दाम्पत्य जीवनमा ल्याएको चुनौती पनि उल्लेख गरेकी छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement