रौतहट: रौतहट पुलिसले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला पुलिस कार्यालय रौतहटबाट खटिएको पुलिस गस्तीको टोलीले ईशनाथ नगरपालिका- १ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको हो।
रौतहट पुलिसका प्रमुख, पुलिस उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार गौर नगरपालिका- ४ निवासी २१ वर्षीय सावन गिरीलाई पक्राउ गरिएको हो। पक्राउ परेका गिरीसँगै रहेका अन्य ६/७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए।
पुलिसले गिरीको साथबाट १ सय ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली, रियलमी कम्पनीको स्क्रिनटच एक थान मोबाइल पनि बरामद गरेको छ।
पक्राउ परेका गिरीलाई लागूऔषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला पुलिस कार्यालय रौतहटले जनाएको छ।