यो सम्मान हाम्रा रोगीहरूको हामीमाथिको विश्वासको प्रतीक हो: शुभाशीष भट्टाचार्य
बारासात: बारासातमा अवस्थित नारायणा अस्पतालको उपलब्धिगुच्छमा थप आयाम जोड़िएको छ। उत्कृष्ट स्वास्थ्य सेवा योगदानको लागि प्रदान गरिने राष्ट्रिय सम्मान ‘एक्सिलेन्स इन इमरजेन्सी सर्भिसेस अवार्ड’ यस साल कलकत्ता महानगरीको चर्चित नारायणा अस्पताललाई प्रदान गरिएको छ।
यो सम्मान ३१ जनवरी र १ फेब्रुअरी २०२५ का दिन केरलको कोचीमा आयोजित “एक्सिलेन्स इन हेल्थकेयर २०२५” समारोहमा प्रदान गरिएको हो। समारोहको आयोजना एसोसिएशन अफ हेल्थकेयर प्रोभाइडर्स (इण्डिया)-ले गरेको थियो, जसमा भारतभरिका प्रमुख स्वास्थ्य संस्थानहरूलाई असाधारण योगदानको लागि संवर्द्धना जनाइएको थियो। नारायणा अस्पताल पश्चिम बङ्गाल राज्यकै पहिलो यस्तो अस्पताल बन्न सकेको छ, जसले ‘एक्सिलेन्स इन इमरजेन्सी सर्भिसेस अवार्ड’ जस्तो स्थापित सम्मान हासिल गर्न सकेको छ।
एएचपीआई भारतको स्वास्थ्य क्षेत्रको एक प्रमुख संस्था हो। यस संस्थाले यो पुरस्कार प्रदान गर्न अस्पतालहरूलाई कठोर मापदण्डका आधारमा मूल्याङ्कन गरेको हो। अस्पतालका प्रमुख प्रदर्शन सूचकांक (केपीआई), प्रोटोकल र गुणस्तरीय कार्य प्रणाली नै अस्पतालले यो उपलब्धि हासिल गर्नुमा मुख्य कारक भएका हुन्।
अस्पतालले २४x७ आपत्कालीन सेवा प्रदान गर्छ। प्रशिक्षित आपत्कालीन चिकित्सक, शिफ्ट-आधारित सेवा, निरन्तर सञ्चालित अपरेशन थिएटर र क्याथ-ल्याब सुविधाले लैस यस अस्पतालमा विशेष गरी मुटु तथा ट्रमा सम्बन्धी आपत्कालीन अवस्थाहरूका लागि विशेष व्यवस्था रहेको छ। न्युरोलोजी, अर्थोपेडिक्स लगायतका विभागहरूमा पनि विशेषज्ञ आपत्कालीन परामर्श प्रदान गरिन्छ। अस्पतालले उच्च गुण स्तरको आपत्कालीन चिकित्सा सेवाप्रतिको प्रतिबद्धता झल्काउँछ एवं एनएबीएच मापदण्डहरूको पालना गर्दछ अनि त्रिस्तरीय अडिट तथा प्रमाणीकरण प्रक्रियामार्फत् सेवाको गुणस्तर सुनिश्चित गर्छ। अस्पतालमा १० वटा आपत्कालीन बेड, २ वटा आइसोलेशन बेड र २४x७ प्रशिक्षित परामर्शदाताहरू उपलब्ध छन्।
औषधि विपणनमा आपत्कालीन औषधि व्यवस्थापनमा कठोर रूपले प्रामाणिकता आधारित शर्तहरूको पालन गरिन्छ, जसले रोगीलाई सुरक्षित र प्रभावकारी उपचार सुनिश्चित गर्छ। अस्पतालमा पूर्ण रूपमा सुसज्जित एम्बुलेन्स, २४x७ आपत्कालीन हेल्पलाइन र प्रशिक्षित कर्मचारीहरू उपलब्ध छन्, जसले प्रारम्भिक उपचारदेखि लिएर गम्भीर जीवन-रक्षक उपचारसम्म अबाध सेवा उपलब्ध गराउन सुनिश्चित गर्ने गर्दछ।
यस विशेष उपलब्धिमा रमाउँदै अस्पतालका निर्देशक शुभाशीष भट्टाचार्यले भने, “यो सम्मान हाम्रा पेशेवर स्वास्थ्य सेवादाताहरूको अटुट प्रतिबद्धता र हाम्रो समुदायको निरन्तर समर्थनको प्रमाण हो। यसले सुश्रुषाप्रतिको हाम्रो सिङ्गोपाङ्गो प्रतिबद्धतालाई दर्शाउँछ। यति हुँदा हुँदै सबैभन्दा मुख्य कुरा के भने यो हाम्रा रोगीहरूको हामीमाथिको विश्वासको प्रतीक हो। हाम्रो ध्यान सधैँ उच्चतम गुणस्तरको सेवा उपलब्ध गराउनुमा रही आएको छ। विशेष गरी समय र चिकित्सा विशेषज्ञता अत्यन्त महत्त्वपूर्ण रहने आपत्कालीन अवस्थामा हामी तत्पर रहेका हुन्छौँ। यो पुरस्कारले हामीलाई हाम्रो आपत्कालीन सेवालाई अझ सुधार गर्न प्रेरित गर्नेछ, जसबाट हामी बारासात र वरिपरिका जनगणलाई जीवन-रक्षक सेवा प्रदान गर्न सदा तयार रहन सकौँ।”
“एक्सिलेन्स इन हेल्थकेयर २०२५” कार्यक्रममा देशभरिका स्वास्थ्य सेवा क्षेत्रका अग्रणी प्रतिनिधिहरू एउटै मञ्चमा भेला भएका थिए। अनुष्ठानमा देशको स्वास्थ्य सेवा क्षेत्रमा भइरहेका असाधारण अनुसन्धान, खोज र नवीन प्रयोगमाथि चर्चा गरिएको थियो। निश्चित रूपले नारायणा अस्पताल, बारासातको यो उपलब्धिले यसलाई आपत्कालीन सेवा प्रदान गर्ने एक अग्रणी स्वास्थ्य सेवा संस्थाको रूपमा स्थापित गरेको छ। जहाँ अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकहरूको सहयोगमा बिरामीहरूलाई तत्काल जीवन-रक्षक उपचार प्रदान गर्ने सुनिश्चित व्यवस्था उपलब्ध छ।