नयाँ दिल्ली: इजरायल र हमास समूह युद्धविरामका लागि फेरि सकारात्मक देखिएका छन्।
गाजाको हमास समूह इजिप्ट र कतारले पठाएको युद्धविरामको नयाँ प्रस्तावमा सकारात्मक बनेको हो। युद्धविरामको मध्यस्थता गरिरहेका इजिप्ट र कतारले हमास समूहलाई इजरायलका पाँच बन्धक रिहा गर्ने र त्यसको बदलामा ५० दिन युद्धविराम गर्ने प्रस्ताव पठाएका छन्।
गाजा बाहिर आश्रय लिइरहेका हमासका वरिष्ठ नेता खलील अल–हय्याले इजिप्ट र कतारले पठाएको युद्धविरामको मस्यौदालाई स्वीकार गरेका छन्। इजरायल पनि यसमा सकारात्मक बनेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले पनि युद्धविरामको प्रस्तावको जवाफ पठाएको छ।
नयाँ प्रस्तावमा दुई पक्षले सहमति जनाएपछि पुनः युद्धविराम लागू हुन सक्ने बीबीसीले जनाएको छ। पछिल्लोपटक युद्धविराम भंग गर्दै इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको छ भने रफाहमा स्थलगत अपरेशन सुरु गरेको छ।
इजरायल र हमासबीच गत जनवरीमा सुरु भएको युद्धविराम यसै महिना तोडिएको थियो। पछिल्लो युद्धविरामका क्रममा हमासले ३३ बन्धक मुक्त गरेको छ। यसको बदलामा इजरायलले गाजामा आक्रमण रोकेको थियो भने हजारौँ प्यालेस्टाइनी कैदी रिहा गरेको थियो।
हमासले नेपालका विपिन जोशीसहित अझै ५९ जनालाई बन्धक बनाएको छ। यसअघि पहिलो चरणको युद्धविराम कार्यान्वयन भइसकेपछि इजरायलले आक्रमण सुरु गरेको थियो। युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धक रिहा गर्ने, मारिएका बन्धकहरुको शव फिर्ता गर्ने र इजरायलले गाजाबाट पूर्णरुपमा आफ्ना सैनिक फिर्ता गर्ने भनिए पनि यी दुवै पक्ष युद्धविराम सम्झौतामा अडिग हुन सकेका थिएनन्।
पछिल्लोपटक अमेरिकाले सबै बन्धकलाई बिनासर्त रिहा गर्न भन्दै हमासमाथि दबाब बढाएपछि इजरायलले अचानक ठूलो आक्रमण सुरु गरेको थियो।