नयाँ दिल्ली: अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले ग्रीनल्याण्डलाई चीन र रुसको आक्रमणको जोखिममा छाडेको भन्दै डेनमार्कको आलोचना गरेका छन्। भ्रमणका क्रममा ग्रीनल्याण्ड टापु पुगेका भेन्सले ग्रीनल्याण्डबासीलाई अमेरिकासँग ‘सम्झौता गर्न’ आग्रह गरेका बीबीसीले जनाएको छ।
भ्रमणका क्रममा बोल्दै भेन्सले बल प्रयोग गरेर टापु कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्ति भने दोहोर्याएनन्। त्यस विपरित उनले ग्रीनल्याण्डवासीलाई डेनमार्कसँगको ३ सय वर्षभन्दा लामो सम्बन्ध तोड्न आग्रह गरे। स्वशासित टापुको सुरक्षाका लागि डेनमार्कले पर्याप्त लगानी नगरेको भेन्सको दाबी छ। तर गत जनवरीमा गरिएको एक सर्वेक्षणमा बहुमत ग्रीनल्याण्डबासीहरू टापु अन्य देशसँग विलयको विपक्षमा छन्।
भेन्सको भ्रमण भने ग्रीनल्याण्ड र डेनमार्क दुवैले आलोचना गरेका छन्। ग्रीनल्याण्डका प्रधानमन्त्रीले अमेरिकी भ्रमणले ‘सम्मानको कमी देखिएको’ प्रतिक्रिया दिएका छन्। त्यस्तै, डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले आफुहरू आलोचनाका लागि खुला भए पनि यसको प्रस्तुतिकरण गलत भएको बताएका छ्न्। रासमुसेनले ग्रीनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति सन् १९४५ मा १७ वटा अखडाबाट घटेर करिब २ सय सैनिक भएको एउटा अखडामा सिमित भएको जनाएका छन्।
यसअघि भेन्स पत्नी उषाले ग्रीनल्याण्डमा केही दिन बिताउने र त्यसक्रममा राजधानी नुक भ्रमण गर्ने तथा लोकप्रिय वार्षिक कुकुर दौड जस्ता सांस्कृतिक कार्यक्रममा भाग लिने घोषणा गरिएको थियो। उपराष्ट्रपति भेन्सले उत्तर-पश्चिमी तटमा रहेको अमेरिकी पिटुफिक अन्तरिक्ष आधार शिविरको भ्रमण गर्ने बताइएको थियो।
तर ग्रीनल्याण्ड र डेनमार्क रुष्ट भएसँगै भ्रमण तालिकामा हेरफेर गरिएको थियो। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले भेन्स र उषाले पिटुफिक अन्तरिक्ष आधार शिविरको निरिक्षणका लागि ग्रीनल्याण्डमा एक दिन मात्र बिताउने जनाएको थियो। ह्वाइहाउसले भ्रमण तालिका हेरफेर गरेको जनाएसँगै डेनमार्क र ग्रीनल्याण्डले स्वागत गरेका थिए।
ग्रीनल्यान्डमा केही घण्टा मात्र रहेका भेन्स र उषाले राजधानी नुकबाट करिब १५ सय किलोमिटर टाढाको पिटुफिक अन्तरिक्ष आधार शिविरको भ्रमण गरे। त्यसक्रममा उनले ‘ग्रीनल्याण्डका मानिसलाई रूस, चीन र अन्य राष्ट्रबाट सुरक्षित राख्नु पर्ने’ बताए।