स्थिति नियन्त्रणमा लिन पुलिसले अश्रुग्यास छोड्यो
सिलगढी: डीवाईएफआईको उत्तरकन्या अभियानलाई लिएर आज शहरभर भारी तनाव देखियो। स्थिति नियन्त्रणमा लिन पुलिसले अश्रुग्यास, पानीको फोहोरा र लाठीचार्ज गरेको थियो। डीवाईएफआईका कार्यकर्ता र समर्थकहरुको पुलिससँग झडप भएको छ। डीवाईएफआईका कार्यकर्ता र समर्थकबाहेक पुलिस पनि घाइते भएका छन्। कार्यक्रमको सुरुवात जलपाई मोडबाट सडक र्यालीबाट भएको थियो। प्रदर्शनमा डीवाईएफआई राज्य सचिव मीनाक्षी मुखर्जीलगायत शीर्ष नेताहरू सहभागी थिए। जालापाई मोडबाट निस्किएको जुलुस बर्दवान रोडको नाव घाट हुँदै तीनबत्ती चोकमा पुगेको थियो। जुलुसलाई त्यहाँको ब्यारिकेडमा रोकिएको थियो। पुलिसले माइक्रोफोन प्रयोग गर्दै अनुमतिबिना आयोजना गरिएको हुनाले उक्त कार्यक्रम गैरकानुनी भएको बताए। तर पनि, डीवाईएफआई कार्यकर्ता र समर्थकहरूले आफ्नो कार्यक्रम जारी राखे। सुरुमा ब्यारिकेडअगाडि सडकमै बसेर विरोध जारी राखिएको थियो।

त्यसलगत्तै जुलुसमा उपस्थित भीडबाट पुलिसमाथि ढुंगा प्रहार भएको बताइएको छ। स्थिति नियन्त्रणमा लिन पुलिसले पानीको फोहोरा प्रयोग गरेको थियो। आँश्रु ग्यास संगै स्टन ग्रेनेड पनि प्रहार गरिए। यसपछि पनि कार्यकर्ता र समर्थकहरु पछि हटेनन् भने पुलिसले लाठी प्रहार गरी आन्दोलनकारीलाई तितरबितर पारेको थियो। पुलिसले लाठीचार्ज गर्दा स्थिति थप तनावपूर्ण बनेको छ। जसका कारण दुवै पक्षबीच झडप भएको थियो।

झडपमा धेरै प्रदर्शनकारी र पुलिस घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन पुलिसले राज्य सचिव मीनाक्षी मुखर्जीलगायत धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
यसैबीच, सीपीएमका शीर्ष नेताहरू डीवाईएफआई कार्यकर्ताहरूलाई शान्त पार्न सिलगढी एनजिपि पुलिस स्टेशन पुगेका छन्।