काठमाडौं: भारत सरकारको आर्थिक सहयोगमा नेपालको दैलेख जिल्लाको दुल्लु नगरपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, नेपालस्थित भारतीय दूतावासका काउन्सिलर अविनाशकुमार सिंह र दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजालले संयुक्त रुपमा शिलान्यास गरेका हुन्। कार्यक्रममा राजनितिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।
भारत–नेपाल विकास सहयोग कार्यक्रम अन्तर्गत यो आयोजनाका लागि भारत सरकारले करिब ३ अर्ब ९ करोड नेपाली रुपैयाँ आर्थिक सहयोग गरिरहेको छ। यस सहकार्यमा हस्तकला प्रदर्शनी क्षेत्र, पुस्तकालय, दुल्लु प्रदेशसँग सम्बन्धित सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय कक्षलगायतका साढे तीन तले भवन निर्माण गरिनेछ। यसलाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा लिएको छ र दुल्लु नगरपालिकाले कार्यान्वयन गर्नेछ।
नगरपालिकाका मेयर तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाले नेपाली जनताको विकासमा भारत सरकारको योगदानको प्रशंसा गरेका थिए। उनले यस नयाँ भवनले विद्यार्थी र स्थानीय समुदायलाई दुल्लु प्रदेशको इतिहास र संस्कृति बुझ्न मद्दत गर्ने बताए। यसका साथै कर्णाली क्षेत्रको शिक्षा र संस्कृतिको सर्वाङ्गीण विकास गरी शिक्षाका लागि अनुकूल वातावरण सिर्जना गर्नेछ।
उल्लेखनीय छ कि भारत सरकारले सन् २००३ देखि नेपालमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपी) सञ्चालन गरिसकेको छ, जसमध्ये ४९५ आयोजनाहरू सम्पन्न भएका छन्। जसमध्ये १५ वटा आयोजना कर्णाली क्षेत्रमा रहेका छन्। यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र र शैक्षिक संस्थालाई १ सय ९ एम्बुलेन्स र ३ सय स्कुल बस उपहार दिएको छ जसमध्ये ५० एम्बुलेन्स र ८ वटा स्कुल बस कर्णाली प्रदेशलाई दिइएको छ।
नेपाल र भारत घनिष्ठ छिमेकी भएकाले विभिन्न क्षेत्रमा व्यापक सहयोग आदान प्रदान गर्दै आएका छन्। यस परियोजनामार्फत भारत सरकारले नेपाल सरकारले प्राथमिकतामा राखेका क्षेत्रमा पूर्वाधार विकास र नेपाली जनताको उत्थानका लागि नेपाल सरकारको प्रयासमा सहयोग गर्ने आफ्नो संकल्प दोहोर्याएको छ।