जलपाईगुडी: साढे दुई वर्षीया बालिकालाई कुकर्म गर्ने नृशंसलाई जलपाईगुडीको विशेष पोक्सो अदालतले १० वर्ष जेल सजाय सुनाइएको छ। साथै दश हजार रुपैयाँ जरिवाना समेत गरिएको छ।यो हृदयविदारक घटना सन् २०१५ मा जलपाईगुडीको मैनागुरी थाना क्षेत्रमा भएको थियो। परिवारले छोरीलाई सरस्वती पूजा हेर्न लिएर गएका थिए। छिमेकी युवकले उनको छेउमा बसेर स्याहार गर्ने नाममा काखमा लिएर सुनसान ठाउँमा बलात्कार गरेको आरोप छ। उजुरीपछि पुलिसले आरोपीलाई पक्राउ गरेको थियो। आरोपी साढे दुई वर्ष जेल जीवन बिताएपछि धरौटीमा रिहा भएका थिए। तर मुद्दा चलिरहेको थियो। आज आठ जनाको बयानपछि न्यायाधीशले अभियुक्तलाई १० वर्ष कैद सजाय तोकेका छन्। न्यायधिसले यससँगै पीडित परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन जिल्ला कानुनी सहायता सेवा प्राधिकरणलाई आदेश दिएको सहायक सरकारी अधिवक्ता देवाशिष दाओले जानकारी दिए।









