काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको बताउनुभएको छ।
आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै उहाँले भन्नुभयो, ‘‘हामीले प्राप्त गरेका उपलब्धीहरुको नगुमाउन सजग बनौं र संविधान कार्यान्वयनमा अघि बढौं।’’
यसैगरी, सांसद राईले राजावादी पक्षहरु कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गर्नुभएको छ।
उहाँले प्रतिगामी तत्त्वहरु संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको जिकिर गर्नुभयो। मुलुकभर अनावश्यक नाराहरु गुञ्जिरहेको उल्लेख गर्नुहुँदै उहाँले सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताउनुभयो।
‘‘यतिबेला फेरि प्रतिगामी तत्त्वहरु कुर्लिंदैछन्। र आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन्। हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धीहरु फेरि खोस्न चाहादैछन्। आज सङ्घीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्।,’’ सांसद राईले भन्नुभयो, ‘‘आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरु दिनदिनै कमजोर बन्दै गइरहेका छन्। हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ। हरेक ठाउँमा अनावश्यक नाराहर गुञ्जिरहेको छ। त्यसमा हामी सबै यसमा केन्द्रित हुनुपर्छ।’’