भैरहवा: नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा तालिम प्रतिष्ठानले आजदेखि भैरहवामा दुईदिने राष्ट्रिय स्तरको तालिम सुरु गरेको छ। यहाँ देशभरबाट १ सय ६५ क्षेत्रीय अध्यक्ष तालिमका लागि भेला भएका छन्। पहिलो दिन सोमबार सभापति शेरबहादुर देउवाले तालिमलाई सम्बोधन गर्दै उद्घाटन गर्नेछन्।
तालिममा सहभागी हुन सभापति देउवा आज बिहान काठमाडौंबाट भैरव आउँदैछन्। नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख तथा उपाध्यक्ष पूर्णबहादुर खड्काका अनुसार सोमबार र मङ्गलबार एउटै निर्वाचन क्षेत्रका जिल्लाका क्षेत्रीय अध्यक्ष, क्षेत्रीय तालिम संस्थानका प्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत ३३० भन्दा बढी नेता तथा कार्यकर्ता तालिमका लागि भैरहवा आएका छन्। तालिममा पार्टीलाई संस्थागत र सुदृढ गर्ने विषयमा छलफल हुनेछ।
महासचिव गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सोमबार तालिमका लागि आउँदैछन्। गृहमन्त्री रमेश लेखक पनि सोमबार भैरहवा आउने भएका छन्। शेखर कोइराला, मिनेन्द्र रिजाललगायतका नेता शनिबारदेखि रुपन्देहीमा छन्।
उद्घाटनपछि कांग्रेसले हालसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधारलगायतका उपलब्धि, संविधान र देशको विकासमा कांग्रेसको भूमिका, आगामी साधारणसभा, सक्रिय सदस्य र आमनिर्वाचनलगायत ६ वटा विषयमा प्रस्तुति रहनेछ।
यस अवधिमा सहभागीहरूले आ-आफ्नो क्षेत्रका अनुभवहरू पनि साझा गर्नेछन्। वर्तमान सरकारका कामकारबाहीबारे प्रदेश अध्यक्षले पनि गम्भीर सुझाव दिने र सरकारका दुई मन्त्रीले जवाफ दिने कांग्रेसले जनाएको छ।