नेपाली साहित्यमा जासूसी उपन्यासका सुलसुले भए पातालमा गुप्तवास

IMG-20250222-WA0178

काठमाण्डौँ(लेखनाथ भण्डारी): नेपाली साहित्यमा जासुसी उपन्यासका ती प्रारम्भिक दिनहरू थिए, त्यही प्रारम्भिक दिनमा जासुसी उपन्यासको गोरेटोमा हिँडेका दुई जना स्रष्टाले जासुसी उपन्यासको सम्भावनाको बाटो देखे, उनीहरू थिए, दीर्घबाहु अर्थात् श्रीधर खनाल र सुलसुले अर्थात् शरद निरोला। यी दुवैका अघिल्लो पुस्तामा थिए– बोधविक्रम अधिकारी तर यी दुई युवा अघि सरेको समयमा आइपुग्दा अधिकारीले जासुसी उपन्यास लेखनको बाटो छोडिसकेका थिए। अधिकारीका जासुसी उपन्यास आतङ्क, रत्नमन्दिर, राक्षसराज प्रकाशित छन्। जसरी नेपाली जासुसी उपन्यास लेखनमा पहिलो पुस्ताका अधिकारीले बिचैमा बाटो मोडे त्यसपछिको मूलबाटो तय गरेका दीर्घबाहु र शरद निरोलाले पनि यसलाई निरन्तरता दिएनन्। 
यी दुवै लेखकको मिलन स्थल त्यस बेलाको चर्चित अखबार ‘नयाँ सन्देश’ साप्ताहिक थियो। खनाल नयाँ सन्देशमा विश्वामित्रका नाममा नियमित लेख्थे। सम्पादन कक्षका निरोला र दीर्घबाहुको भेट त्यहीँ भएको थियो। जासुसी उपन्यास लेखनमा यी दुवै लेखकले सल्लाह गरेर नै केही वर्ष कलम चलाए। सल्लाह नै नगरे पनि उनीहरू दुवैले १९७४ को आसपासदेखि जासुसी उपन्यास लेख्न छोडेका थिए। दीर्घबाहुको ४० वर्षपहिले लेखिएको ‘वज्रजोगिनीको खजाना’ २०१९ मा प्रकाशित भयो।
त्यसरी एकाएक जासुसी उपन्यास लेख्न छोड्नुको कारण के थियो? निरोलाका अनुसार उनीहरूका उपन्यासले पाठकमा राम्रो प्रभाव र बजार पनि ओगट्न थालेपछि जासुसी उपन्यासका नाममा केही नक्कली र सस्ता प्रकाशन आए। तिनको मारमा राम्रा लेखक र प्रकाशकहरू परे। राम्रा प्रकाशकहरू त्यस ‘भेलबाढी’ मा लगानी गर्न डराए। त्यसैको परिणाम केही उदीयमान लेखक र निरोलाले तत्काल प्रकाशक पाउन सकेनन्। निरोलाका अनुसार १९७६–१९७७ सालतिर एक÷दुई जना नयाँ लेखकका राम्रा जासुसी उपन्यास प्रकाशित भएका थिए।  
लेखन यात्रामा यी दुई लेखकको बिछोड निरोलाको पाताल प्रदेशले गराएको थियो। अध्ययनका लागि १९९८ मा अमेरिका पुगेका निरोला पारिवारिक भेटघाटका लागिबाहेक नेपाल फर्किनुभएन। खनाल अमेरिका जानुभएन । खनाल अर्थात् दीर्घबाहुको ९४ वर्षको उमेरमा माघ ३ गते निधन भयो। निरोलाको पहिलो जासुसी उपन्यास ‘सुलसुले पस्दा’ १९७२ मा प्रकाशित भएको थियो। उहाँका पुच्छेतारा र ब्ल्याक सेप्टेम्बर, विदेशी गुप्तचर तथा नर्कदूत, कोलकाता कलिङ्ग, खतरनाक ताम्रपत्रलगायत सात वटा जासुसी उपन्यास १९७६ भन्दापहिले नै प्रकाशित भएका थिए। करिब चार दशक साहित्यिक लेखनमा ओझेल परेका निरोलाको २०१४ मा ‘लजाएका परेलीहरू’ कविता र गत वर्ष ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ निबन्धसङ्ग्रह प्रकाशित भएको थियो। 
औपन्यासिक ‘फ्लेबर’ पनि दिने निरोलाको यो निबन्धसङ्ग्रह अमेरिकाको पूर्वी समुद्री तट फ्लोरिडादेखि पश्चिमको वासिङ्टन राज्यको सियाटलसम्म विभिन्न समयको यात्रा संस्मरण हो। यस कृतिमा लेखकले आफ्नो यात्राको बयान मात्र गरेका छैनन्, यात्रामा आफूले प्राप्त गरेका अनुभव र सूचना पाठकलाई उपलब्ध गराएका छन्। जासुसी उपन्यास लेखनबाट कविता र यात्रा संस्मरणमा देखा परेका निरोला साहित्यिक गुप्तवासको लामो समयपछि साहित्यिक मार्गमा सक्रियता बढाउँदै हुनुहुन्छ। परिवारका सदस्यबाट प्राप्त जानकारी अनुसार उहाँका अप्रकाशित केही जासुसी उपन्यासका पाण्डुलिपि छन् तर निरोला यसलाई अस्वीकार स्वीकार केही गर्नुहुन्न। उहाँलाई लाग्छ, जासुसी उपन्यास अब फेज आउट’ भए। निरोलाका अनुसार कतै हराएको आफ्नो एउटा जासुसी उपन्यास र एउटा सामाजिक उपन्यासको पाण्डुलिपि खोज्दै हुनुहुन्छ, निरोला। उक्त सामाजिक उपन्यासको पाण्डुलिपि उहाँले कथाकार परशु प्रधानलाई पनि पढ्न दिनुभएको थियो। 
झापाको शान्तिनगरमा २००५ मा जन्मनुभएका निरोलाले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए गर्नुभएको छ। उहाँले युनिभर्सिटी अफ अमेरिकाबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। निरोलाले नयाँ सन्देश, मातृभूमि साप्ताहिक तथा उर्वशीको सम्पादन र दी मदरल्यान्ड दैनिक, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, दी राइजिङ नेपाल, पोलिटिकल स्पेसलिस्ट आदि सञ्चार माध्यममा विभिन्न समयमा सञ्चारकर्मीका रूपमा काम गर्नुभएको थियो। शङ्रदेव क्याम्पसमा १०८० देखि १९९५ सम्म प्राध्यापन गर्नुभएका निरोलाले नेपालस्थित अमेरिकी राजदूतावासमा पनि राजनीतिक अधिकृतका रूपमा केही समय काम गर्नुभएको थियो।    
निरोला साहित्यिक प्रेरणाको श्रेय साहित्यकार तारानाथ शर्मालाई दिनुहुन्छ। निरोलाको कविता कृति ‘लजाएका परेलीहरू’ मा शर्माको हस्ताक्षर रहेको सात पेज लामो भूमिका छ। शर्माले नै निरोलाको पहिलो जासुसी उपन्यासको नाम जुराइदिएका हुन्। निरोलाले उपन्यासको नाम ‘जासुस’ र लेखकको नाम सुलसुले राखेर शर्मासँग सल्लाह माग्न देखाउँदा शर्माले झर्रो नेपाली भाषालाई प्रवर्धन गर्नु पर्छ भनेर कृतिको नाम ‘सुलसुले पस्दा’ राख्न सुझाव दिनुभएको थियो।
निरोलाको कवितासङ्ग्रहमा शर्माले लेख्नुभएको छ, “काठमाडौँबाट निस्कने नयाँ सन्देश साप्ताहिक पत्रिकामा हिरण्यकशिपु भएर निक्कै रमाइला हास्यव्यङ्ग्यात्मक टिप्पणीहरू लेखी पाठकको मन तान्न सफल शरद निरोला अति नै सरस, सरल र चित्ताकर्षक भाषामा जासुसी उपन्यासहरू लेख्तालेख्तै एक्कासि मातृभूमिलाई चटक्क छाडेर पातालतिर भासिइ हाम्रो साहित्यबाट बिलाउँदा हामीलाई नियास्रो लागेको थियो। हुन पनि नेपालमा छँदा निकै नै कथाहरू विभिन्न पत्रपत्रिकामा र हिरण्यकशिपु भएर छ÷सात वर्ष रोचक हास्यव्यङ्ग्यात्मक गद्यरचनाले ‘नयाँ सन्देश’ सिँगार्ने तथा अति जनप्रिय जासुसी उपन्यास निकालेर आफ्नो स्थान उच्च बनाइसकेका सफल स्रष्टा यतिका वर्षपछि ‘लजाएका परेलीहरू’ मा पठनीय र स्मरणीय गद्यकविताहरू लिएर प्रकट हुँदा हामी औधी आशान्वित भएका छौँ।
निरोलाका उपन्यासहरू नायक मेजर अर्थात् आर्मी इन्टेलिजेन्ससँग सम्बन्धित हुन्थे। त्यसमा इन्टेलिजेन्स नेटवर्क र आधुनिक अस्त्रशस्त्रको प्रयोग गरिन्थ्यो। जासुसी उपन्यासका विषयमा अन्तर्राष्ट्रिय षडयन्त्र, रहस्य, रोमाञ्च, द्वन्द्व र यौन आदि हुन्थे। जासुसी उपन्यास नै लेख्नुको उद्देश्य के थियो त ? हाइस्कुल पढ्दापढ्दै निरोलाले पचासौँ हिन्दी जासुसी उपन्यास पढिसकेका थिए। नेपाली जासुसी उपन्यास सुरुका दिनमा उनले पढ्न पाएनन्। हिन्दी जासुसी उपन्यास पढ्दा उनलाई लाग्थ्यो यस्तो त म पनि लेख्न सक्छु। जब उनी उच्च शिक्षाका लागि काठमाडौँ आए, तारानाथ शर्मासँग भेटघाट हुन थाल्यो। उनैले लेख्न प्रोत्साहित मात्र गरेनन् छदम नामबाट नलेख्न पनि सल्लाह थिए। त्यसैको परिणाम उनी फुटकर लेखहरूमा हिरण्यकशिपु भए पनि कृतिगत लेखकमा आफ्नो वास्तविक नाममा अगाडि बढे। सामाजिक विषयमा कुनै कृति लेख्ने रहर मनमा साँचेका शरद निरोला कवितामा पनि सन्तुष्ट छैनन्। युवा अवस्थामा काठमाडौँमा हातमुख जोर्न, सार्वजनिक परिचय स्थापित गर्न र सामाजिक अपराधको अध्ययन अनुसन्धानमा सहयोग पु¥याउन जासुसी उपन्यासमा कलम चलाएका निरोला उमेर र समयले प्राथमिकता बदलिने बताउँछन्। 
साहित्य सिर्जनामा अपेक्षित सव्रि यता नदेखिएता पनि निरोला पारिवार साहित्यिक उन्नयनमा अग्रसर छ। फुटकर निबन्ध र कविता लेख्दै आएकी निरोलाकी श्रीमती मञ्जु हाडा निरोलाका पनि यथार्थतामा अमेरिका (भाग १ र २) र प्रवासका सुस्केरा कवितासङ्ग्रह प्रकाशित छन्। उहाँहरूले अमाबुवाका नाममा साहित्यिक गुठी र पुरस्कार स्थापना गर्नुभएको छ। अध्ययनको व्यस्तता, रोजगारी  तथा आर्जनका अवसर र त्यसमा गर्नुपर्ने मेहनतले जासुसी उपन्यासबाट क्रमशः टाढिएका निरोला सूचना प्रविधिका माध्यमको विकासले जासुसी उपन्यास लेखन पछाडि परेको ठान्नुहुन्छ। झर्रो नेपाली जनबोलीमा सरल शैलीमा लेखेर पाठकलाई आकर्षित गर्न सफल यी लेखक यसरी गुप्तवासमा बस्नु नेपाली साहित्यका पाठक ठगिनु हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement