- दिवाकर प्रधान
भारत सरकारको चौथो स्तरको सर्वोच्च सम्मान पद्मश्री पुरस्कारबाट सम्मानित हुनुहुने विशिष्ट व्यक्तिहरूमध्ये काजी सिंह पनि एकजना हुनुहुन्थ्यो। भारतरत्न, पद्मविभूषण, पद्मभूषणपछि पद्मश्रीको महत्त्व छ। वर्ष १९५४-देखि गणतन्त्र दिवसमा दिनथालेको पद्मश्री पुरस्कारले वर्ष २०२२-मा कालेबुङनिवासी निपुण मादलवादक एवं प्रवीण मादलान्वेषक काजी सिंह ‘विद्यार्थी’ (जन्म १९४५) पनि सम्मानित हुनुभएको थियो। इन्द्रजीत सिंह सरदार र मोहनफूल सिंहका छोरा काजी सानामा मारुनी नाच्ने गर्दथे तर किशोरकालदेखि वादनमा रुचि लिने बन्नुभयो। फुबछिरिङ चियाबारीका सरदार इन्द्रजीत सिंह संगीतमा पनि सिपालु हुनुहुन्थ्यो। छोरो काजीलाई पनि आफ्नो सिप सिकाउनुभयो। गीताङ्गे र गायकहरूको गाउँले गुठी बनाएर मादले गीतमा एकरूपता ल्याउन उहाँ प्रयत्नशील रहनुभयो। तरुण बन्नुभएपछि संगीतलाई नै वृत्ति बनाउन बम्बई जानुभयो।
मादल वादन र यसको गवेषणमा समर्पित ७७ वर्षीय काजी सिंहले संगीतविषयक ग्रन्थ ‘मादल’ (इसाब्द १९६७), ‘संगीत सरोवर’ (१९८६), ‘Sangeet for Beginners’ (१९८८), ‘बिर्सिएको संस्कृति फेरि दोहोऱ्याऔँ ‘(१९९८), ‘श्रीमादल – शास्त्रीय एवं व्यावहारिक पक्ष’ (२०१४) प्रकाशमा ल्याइसक्नुभएको छ भने ‘श्रीमादल कलानिधि’ प्रकाशित हुन बाँकी नै छ। उहाँ ६०-का दशकमा हिन्दी चित्रपट संगीत टोलीमा मादलेसमेत रहिसक्नुभएको थियो । बम्बईको चलचित्र उद्योगमा लक्ष्मीकान्त प्यारेलाल, कल्याणजी-आनन्दजी, राम-लक्ष्मण, शङ्कर जयकिशन, अजय स्वामी आदि संगीतकारहरूसित मादले बनी साथ दिनुभएको थियो। तत्कालीन बम्बई प्रवासमा न्युन वित्तार्जन र सम्यक् वेतनको अभावमा वादन वृत्तिले परिवार पोषण असम्भव भएपछि गान्तोकको टाशी नामग्याल एकाडेमीका सङ्गीत शिक्षक बन्नुभयो अनि २००५-मा सेवा निवृत्त बन्नुभयो।
उहाँबाट संगीतबद्ध ‘तिमी त रै’छौ मङ्गल गाउँको’, ‘स्वामी राजाले लै-लै’, ‘तिमीले दिएको मायालाई’, ‘माऱ्यो नि कान्छीले’ १९७४-मा ध्रुव के सी र सुषमा श्रेष्ठका स्वरमा निस्केपछि लोकप्रिय बनेका थिए। गान्तोकका धर्मगुरु सूर्यवीर तुलाधर ( Suryabir Tuladhar )-को भीमकाली मन्दिरबाट निकालिएको भजन सङ्ग्रह ‘भक्ति रसामृत’-मा काजी गुरुले संगीत संयोजन गर्नुभएको थियो भने ‘उदाहरण’ नामको क्यासेटमा स्वयं प्रतिष्ठापित सात राग प्रयोग गर्नुभएको छ। आफैले सृजना गरेको भनी उहाँले यी संगीत छन्द अग्रसारित गर्नुभएको छ –
१) गणपति छन्द- SIII IIII ISSI SSII
२) लम्बोदर छन्द- SIII IIII SSII (SII III IIS SII)
३) भीमकाली छन्द- SSS SSI SII SSS
४) मारुतीनन्दन छन्द – SSS III SII SII
५) गिरिधारी छन्द- SII SSS IIS S
६) विश्वकर्मा छन्द- SSS ISS
७) बसिबिञालो छन्द- III SSS ISS ISI II
८) सरस्वती छन्द – III SSS IIS ISS SII
भारतीय संगीतका लागि भनी आफैले दुइवटा राग प्रस्तावित गर्नुभएको थियो –
१) राग शुक्रतारा – आरोह – सा रे ग प ध सा I अवरोध – सा ध म ग रे सा
२) राग आदित्य – आरोह – नि सा ग म ध नि सा I अवरोह- सा नि ध म ग सा
आफ्ना अवदानका लागि दिल्ली, महाराष्ट्र, पश्चिम बङ्ग, सिक्किमका प्रशासन र सामाजिक संस्थानहरूबाट उहाँ कैञौपल्ट सम्मानित बनिसक्नुभएको थियो। सम्प्रति आफ्नो जीवनको वानप्रस्थ आश्रमकालमा कालेबुङमा मादल वादनको प्रशिक्षण केन्द्र सञ्चालन गरिरहनुभएको थियो। खस-किरातको जनजातीय गायन वादन परम्परालाई उहाँ शास्त्रीय पन्तको सापेक्षतामा स्थापित गर्न चाहनुहुन्थ्यो।
नेपाली लोक सङ्गीत र भारतीय शास्त्रीय संगीतमा कौशल्य प्राप्त गरिसकेका काजी सिंह महोदयका छोरो निशान्त सिंह (Nishaant Singh)-ले विश्वभारती विश्वविद्यालयबाट संगीतशास्त्रमा उच्च शिक्षा लिएपछि गुरु चञ्चल भट्टाचार्यको निदेशन पाएर भारतकै एकजना प्रवीण पखावज वादकमा परिगणित बनेका छन् भने छोरी विजया गुरुङ टाशी नामग्याल एकाडेमीमा शिक्षण गर्दछिन्।
टाशी नाम्ग्याल एकाडेमीमा हुँदा मेरी पत्नीका वरिष्ठ सहकर्मी र आवासको नाताले निकटतम छिमेकी काजी गुरुले हामीजस्ता कनिष्टानुजलाई पनि सर-गुरुआमा सम्बोधन गर्नुहुन्थ्यो। स्वभावले अतिविनयी, आचरणमा सात्त्विक, चरित्रमा आदर्श सज्जन हुनुहुन्थ्यो। सनातन संस्कृतिमा प्रगाढ आस्था राख्नुहुने काजी सर भारतविद्या (Indology)-का प्रखर अध्येता हुनुहुन्थ्यो। मादललाई पनि शास्त्रीय व्याख्या गर्नुहुँदै मृदङ्ग-निसृत वाद्य ठान्नुहुन्थ्यो। ज्ञानको उत्स वेद हो भन्नेमा आस्था राख्नुहुँदै वेद अव्याकृत हो भन्नुहुन्थ्यो। कति ठाउँ सविनय प्रतिवाद जनाउँदा पनि उहाँ अझ विनयी बन्नुभई जिज्ञासा समाधान गरिदिनुहुन्थ्यो। मादल विद्या प्रचार, अनुसन्धान तथा प्रलेखीकरणमा अद्यापि निरालस कर्मण्य काजी सिंह ‘विद्यार्थी’ महोदयको निधन मादलविद्या र नेपाली संगीतको अपूरणीय क्षति हो। भौतिक शरीरमा नरहनुभए तापनि उहाँका गुणकृति रहिरहनेछन्। यसै लेखको माध्यमबाट उहाँको पुण्यात्माप्रति सद्गतिका लागि कामना गर्दछु। मृत्योर्मामृतं गमय॥