प्रत्येक वर्ष बाह्र वटा पूर्णिमा हुन्छन्। अधिकमास वा मलमास परेको बेला पूर्णिमाका सङ्ख्या बढेर तेह्र पनि हुन्छ। कात्तिक मासको पूर्णिमा शरद् ऋतुमा पर्ने हुनाले अधिक सुखद् हुँदछ। सरस्वती माताले पनि शरद् ऋतु मन पराउने हुनाले उनलाई शारदा भनिन्छ। सनातन संस्कृतिमा कार्तिक पूर्णिमाले विशेष महत्त्व राखेको पाइन्छ।
१. सारनाथमा भगवान् बुद्धको अस्थि प्रदर्शन (Relic Exposition)
इसापूर्व ५६३-मा जन्मेका सिद्धार्थ गौतमले २९ वर्षका हुँदा निर्वाण प्राप्त गरेर बुद्ध बने। ८० वर्षको वयमा शरीर त्याग गरे। शरीर त्याग गरेर पनि निर्वाण अवस्थामा बस्नुलाई महापरिनिब्बान अर्थात् महापरिनिर्वाण भनिन्छ स्थिरवादी बौद्ध धर्मको सुत्तपिटकको महापरिनिब्बानसुत्तअनुसार बुद्धको महापरिनिर्वाणपछि उनको शरीर जलाएको खरानी उनका शिष्यहरूमा बाँडिए। ती शिष्यहरूबाट बुद्धकै शाक्यवंशी परिजनबाहेक अरू ६वटा वंश र एकजना राजाले पनि अस्थि मागे। झ्याउला नहोस् भनेर द्रोण नामका ब्राह्मणले अस्थिलाई १० भाग गरे, ८ भाग अस्थि, १ भाग चिताको खरानी र अर्को १ भाग अस्थि बाँड्ने लोटामा राखे अनि लोटाको अस्थि आफैले राखे। ८ भाग अस्थि ८वटा राजपरिवारले मन्दिर परिसरमा स्तुप बनाईकन प्रतिष्ठापित गरी पुज्नथाले। ती ८ गणराज्यमा थिए – अजातशत्रु, मगधराज, वैशालीका लिच्छवि, कपिलवस्तुका शाक्य, अल्लकप्पका बुल्लि, रामग्रामका कोलीय, वेठदीपका ब्राह्मण, पवका मल्ल र कुशीनगरका मल्ल।
जोहन एस स्ट्ङको पुस्तक ‘रेलिक्स अब् बुद्ध’(२००७) अनुसार सम्राट् अशोकले बौद्ध घर्म ग्रहण गरेपछि ती स्तुप खनेर अस्थि निकालीकन ८४ हजार स-साना भाग गरी आफूले धर्मविजय गरेका राज्यहरूमा स्तुप बनाउँदै राख्नाका साथै विदेशतिर पनि पठाइदिए। अशोकले यक्षहरूलाई काम लगाएर कसरी ८४ हजार स्तुप बनाए भन्ने वर्णन ‘अशोकावदान’ ग्रन्थमा पाइन्छ भन्ने कुरा स्ट्ङले भनेका छन्। अशोकावदान-को अङ्ग्रेजी अनुवादक पनि स्ट्रङ महोदय नै हुन्। यिनीअनुसार अशोकावदान मथुराका कुनै बौद्ध भिक्षुले २०० वर्ष ई.पू.तिर संस्कृतमा लेखेको इसाब्द ३००-तिर एन फाकिन नामका अनुवादकले चिनिञा भाषामा अनुवाद गरेका थिए।
सारनाथको मूलगन्धकुटी विहारमा दुइवटा पूज्य र आधिकारिक अस्थि विशेष पद्धतिले बनाइएको रक्षापात्रमा संरक्षित गरिएको छ। पहिलो अस्थि अहिलेको पाकिस्थानमा पर्ने प्राचीन नगर तक्षशीलामा १९१३-१४-मा सर जोन मार्सलको नेतृत्वमा गरिएको उत्खननबाट पाएका थिए। दोस्रो अस्थि अङ्ग्रेजकै पालामा भारतीय पुरातत्त्व सर्वेक्षणद्वारा ए.एच. लङहर्स्टले तत्कालीन मद्रास प्रेसिडेन्सीमा पर्ने गन्टुर जनपदको नागार्जुनकोटामा गरेको उत्खननबाट १९२९ मा पाइएको थियो। प्राप्य यी अस्थि तत्कालीन भारत सरकारले महाबोधि सोसाइटी अब् इन्डियालाई सुम्पेको थियो। भारतबाटै निसृत बौद्ध धर्म भारतमै लुप्तप्रायः भएको अवस्थामा श्रीलङ्काका भिक्षु अनागरिक धर्मपाल र ब्रिटिश पत्रकार तथा कवि एडविन अर्नोल्डले कलकत्तालाई मूल केन्द्र राखी गया, सारनाथ र कुशीनगरमा महाबोधि सोसाइटी खोलीकन बौद्ध धर्म पुनरुद्धार अभियान चलाएका थिए। उनीहरूले १८९१ मा स्थापना गरेका महाबोधि सोसाइटी अब् इन्डियालाई तत्कालीन भारत सरकारले सारनाथमा भूमि दिएपछि मूलगन्धकुटी विहार निर्माण गरिएको थियो। विहार निर्माण गरेपछि भारत सरकारले उत्खननबाट प्राप्त अस्थि संरक्षणको दायित्व महाबोधि सोसाइटी अब् इन्डियालाई दिएको छ। प्रत्येक वर्ष उक्त अस्थि कार्तिक पूर्णिमाको अवसर पारेर तीन दिन प्रदर्शनका लागि राखिन्छ।
२. काशीनगरी अर्थात् वाराणसीपुरीमा देवदीपावलि
देवदीपावलि विश्वको एउटा प्राचीन नगर काशीको नवीन संस्कृति हो। हुनता काशी भन्नु नै प्रकाश हो। उत्तरवाहिनी गङ्गाजीको पश्चिम तटबाट पूर्वमा देखिने सूर्योदय विलक्षणको मनोरम रहेको काशीनगरीलाई प्रकाशनगरी पनि भनिन्छ। आधुनिक काशीले विकसित गरेको अभिनव प्रकाश पर्व देवदीपावलिले दिनोदिन कीर्ति र प्रसिद्धि कमाइरहेको छ। यो गाई तिहार औँशीको पन्ध्र दिनपछि पूर्णिमाको साँझ मनाइन्छ। गङ्गा नदीको तटवर्ती पथ दक्षिण रविदास घाटदेखि उत्तर राज घाटको पुच्छरसम्म करोड़ौँ दीयो बालेर पुण्य सलिला गङ्गा नदीको पूजा गरिन्छ अनि गङ्गाजीलाई माताको सम्मान दिइन्छ। देवदीपावलिको परम्परा सबैभन्दा पहिले पञ्चगङ्गा घाट र ललिता घाटमा १९१५ देखि सय दीयो बालेर थालनी गरेको थाहा लाग्दछ। अब लाखौँ दीयो बालिने पर्व बनेको छ। प्राचीन परम्परा र संस्कृतिमा आधुनिकता आरम्भ गरेर काशीले विश्वस्तरमा एउटा नवीन अध्याय आविष्कार गरेको थियो। तिनै घाटमास्तिर दूधविनायक र मङ्गलागौरी बस्ने नेपालीहरूले मात्र पहिले दीयो जलाउने गरेका कुरा पुराना मानिसबाट थाहा लाग्दछ। अब त यो विश्वविख्यात आयोजन बनेर आकर्षित पर्यटकलाई लोभ्याउने पर्व बनिसकेको छ। सबै तट एवं घाटमा स्थित देवालय, प्रासाद, भवन, मठ-आश्रम झिलिमिलि हुँदछन्। काशीमा पूरै आकाश गङ्गा नै उत्रिएझैँ लाग्दछ। धार्मिक एवं सांस्कृतिक नगरी काशीका ऐतिहासिक घाटहरूमा कार्तिक पूर्णिमामा माता गङ्गाको धारा समान्तर प्रवाहमान हुँदछ।
वाराणसी क्यान्टोन्मेटको ३९ गोर्खा प्रशिक्षण केन्द्रका सैनिकहरूले आकाशदीप बालेर देशका हुतात्मालाई श्रद्धाञ्जलि प्रकट गर्ने कार्यक्रम पनि हुन्छ। भारतमा वीरत्वका लागि गोर्खाको प्रतिष्ठा छँदैछ। ‘वीर भोग्या वसुन्धरा’ भन्ने कुरा देशले जानेकैले गोर्खालाई वीरगतिप्राप्त हुतात्माप्रति श्रद्धाञ्जलि दिन अघि राखिने गरिन्छ। दशाश्वमेध घाटमा अमर जवान ज्योति बालिएको हुन्छ। त्यहाँ काशी नरेश र प्रशासनिक अधिकारीहरूले पनि परिदर्शन गर्दछन्। त्यस साँझ असी घाट र दशाश्वमेध घाटमा विशेष गङ्गा आरती हुन्छन्। अचेल हेर्दाहेर्दै भीड़ बढेर घाटभरि र नदीभरि डुङ्गारोही जनसमुद्र बन्दछ। दीयो जोगाउँदै घाटमा हिँड़ेर हेर्ने अनि नाउमा चढेर हेर्नेहरूको घुइँचो उत्तिकै बढेको छ। गङ्गाजीमा चल्ने नाउका भाउ बढेर गङ्गोत्री नै छोलाजत्तिकै हुनथालेको छ। पहिले ₹ २०० पर्ने अहिले ₹ २००० पर्ने भएको छ। असामाजिक तत्त्वले पनि लाभ उठाउने गरेका सुनिन्छ। उत्तर प्रदेश प्रशासन सुरक्षा व्यवस्थामा लागेकै हुन्छ। तिहुन पकाउँदा हालिने तेल भौतिक शरीरलाई हो भने दीयोमा हालिने तेल सूक्ष्म शरीरलाई हो। दीपदानले हाम्रो आध्यात्मिक शरीर प्रबल हुनेमा विश्वास गरिआएका छौँ। दीपलाई प्रतीकात्मक अर्थमा मुक्तिदाता परब्रह्म समेत मानिएको छ- ‘दीपज्योतिः परब्रह्म दीपज्योतिर्जनार्दनः’। आफै दीप बन्नू ‘अप्प दीपो भव’-को बुद्ध वचनले पनि पूर्वीय समाज र संस्कृतिलाई पुनीत ओजस्विता दिइराखेकै छ। धेरै देशले आफ्नो परम्परागत धर्मसंस्कृति भुलिसके तथापि आधुनिकीकृत भारतले अझसम्म परम्परागत धर्मसंस्कृति बचाइराखेकै छ। पौराणिक, ऐतिहासिक, धार्मिक, शास्त्रीय पर्व नभए तापनि वर्तमान काशीले स्वतः उत्प्रेरित गरेको देवदीपावलि वर्षेनि अझ आकर्षक र रुचिर बन्दै अब विश्व पर्यटकाकर्षण बन्नगएको छ।
३. गुरु नानक जयन्ती
नानक (कार्तिक पूर्णिमा २७ नवम्बर १४६९ – २२ सितम्बर १५३९) सिखहरूका प्रथम (आदि ) गुरु हुन्। यिनका अनुयायी यिनलाई नानक, नानकदेव, बाबा नानक र नानकशाह नामले सम्बोधित गर्दछन्। दार्शनिक, योगी, गृहस्थ, धर्मसुधारक, समाजसुधारक, कवि, देशभक्त र विश्वबन्धु नानकको जन्मस्थान गुरुद्वारा ननकाना साहिब पाकिस्तानमा अनि समाधिस्थल करतारपुर साहिब पाकिस्तानमा स्थित छन्। २७ नवम्बरमा जन्मे पनि तिथिले कार्तिक पूर्णिमामा यिनको जयन्ती मनाइन्छ।
४. मणिपुरी नृत्य
१७०४-मा मणिपुराक राजा चरैरोङबाले वैष्णव धर्म ग्रहण गरेपछि नाम परिवर्तन गरी पिताम्बर सिंह बने। राजाज्ञाअनुसार मणिपुराका मैती जातिले वैष्णव धर्म ग्रहण गरेर हिन्दू भएपछि आफ्नो जनजातीय संस्कार त्यागे। बङ्गालको कृष्णनगरका वैष्णव साधुहरू पुगे। १७०९-देखि १७४८-सम्म शासन गर्ने राजा गरीब निवाजले नरोत्तमदास ठाकुर निदेशित चैतन्य परम्परा मानेर कृष्णलाई स्वयं भगवान् र राधालाई भगवती मान्ने भए। त्यहाँ कृष्णका साथै राधा पनि मान्ने भए। राधाकृष्ण नृत्य अभ्यास गर्ने भए। इसाब्द १७७९-को कार्तिक पूर्णिमामा राजा चिङथाङ खोम्बाको पालामा पहिलोपल्ट मणिपुरी शास्त्रीय राधाकृष्ण नृत्य प्रदर्शन भएको थियो । रास नामले चिनिने यो पर्व अझ मनाइन्छ।
५. पुराण र लोककथा
कार्तिक पूर्णिमालाई त्रिपुरी पूर्णिमा वा गङ्गा स्नानका नामले पनि चिनिन्छ। यसै दिन भगवान् भोलेनाथले त्रिपुरासुर नामक महाभयानक असुरलाई अन्त गरेका थिए। यसो हुनाले उनी त्रिपुरारीका रूपमा पूजित बनेका थिए। यस दिन भगवान् विष्णुले प्रलय कालमा वेद रक्षा गर्न तथा सृष्टिलाई बचाउनाका लागि मत्स्य अवतार धारण गरेका थिए। महाभारतमा कार्तिक शुक्ल अष्टमीमा पाण्डवहरूले गङ्गा स्नान गरे अनि कार्तिक शुक्ल चतुर्दशीसम्म गङ्गातटमा यज्ञ गरे। त्यसपछि पूर्णेको रातमा युद्धका हुतात्माहरूका शान्तिका लागि दीपदान गरीकन श्रद्धाञ्जलि अर्पित गरेका थिए। कार्तिक पूर्णिमाकै दिन देवी तुलसीले पृथ्वीमा जन्म ग्रहण गरेकी थिइन्। यो दिन बैकुण्ठका स्वामी श्री हरिलाई तुलसी पत्र अर्पण गरिन्छ। कार्तिक मासमा विशेषतः श्री राधा र श्री कृष्णको पूजन गर्ने गरिन्छ। यसै दिन व्रजभूमिमा कृष्ण र गोपिनीहरूको नाच प्रदर्शित भएको स्मरण गरी कला क्षेत्रमा रास नृत्य गरिने गरिन्छ। दसैँको पाँच दिनपछि आउने शरद् पूर्णिमाजस्तै तिहारको पन्ध्र दिनपछि आउने कार्तिक पूर्णिमा पनि नातिशीतोष्ण तापमान र अनुकूल प्रकृतिका कारणले रोमाञ्चक नै हुन्छ।