सियोक चियाबारी, मिरिक: दार्जिलिङमा सितम्बर १९६८ मा आमा स्व. गौरीदेवी छेत्री अनि पिता स्व कृष्णबहादुर छेत्रीको घरमा जन्मनु भएका विकास कार्कीले पल्टनमा रहेर नेपाली भाषा साहित्यको निम्ति जुन सेवा गरिरहनु भएको छ त्यो अकल्पनीय र अतुलनीय रहेको छ। इस्टर्न फ्रन्टियर राइफल्स (ईएफआर) मा रहेर बन्दुकसँगै कलम चलाउने स्रष्टा विकास कार्कीले आफ्नो साहित्यिक यात्रा १९८४ देखि शुरु गर्नु भएको थाहा लाग्छ। सियोक चियाबारीको प्राथमिक पाठशालाबाट सांउ अक्षर सिकेका कार्की उच्च शिक्षाको निम्ति सिलगढी झर्नु हुन्छ। यहीँबाट कार्कीको रचनात्मक यात्राले गति लियो।
विद्यार्थी छँदै नेपाली भाषा साहित्यप्रति हुरुक्क हुने स्रष्टा विकास कार्की १९९० मा ईएफ्आरमा भर्ती भ्एर दक्षिण बंगालको सलुवा पुग्दा साहित्यप्रति उहाँमा भएको जुनून अझ मौलिएर आयो। विश्व कवि रविन्द्रनाथ टैगोरको सूत्र एक्ला चलो रे’ को ठीक विपरित सोच थियो उहाँको। केही गर्न एक्लै होइन, हुलै लागिपर्नु पर्छ भन्ने विचार बोक्ने कार्कीले परदेशमा रहेर परदेशी नामक साहित्यिक पत्रिकाको प्रकाशन शुरु गर्नु भयो। त्यो समय थियो १९९७ को कुरा। पत्रिकाका मूल सम्पादक विकास कार्कीको कुशल सम्पादन र नेतृत्वमा परदेशीले आजसम्मको २७ वर्षे ऐतिहासिक यात्राकालमा ‘परदेशी’-का २० अङ्कका सोपानहरू पूरा गरिसकेका छन्।
अझ उल्लेख्य र महत्त्वपूर्ण कुरा त के छन् भने ती २० मध्ये ५ अङ्क त अभिनन्दन विशेषाङ्कको रूपमा प्रकाशित छन्। जसमा एम.एम. गुरुङ अभिनन्दन विशेषाङ्क, हायमनदास राई किरात अभिनन्दन विशेषाङ्क, महानन्द पौड्याल अभिनन्दन विशेषाङ्क, गुप्त प्रधान अभिनन्दन विशेषाङ्क, नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्क रहेका छन् भने डा. गोकुल सिन्हा अभिनन्दन विशेषाङ्क प्रेसमा रहेको छ।
स्रष्टा जिउँदो रहँदा नै उनीहरूको मूल्यांकन गरिनु आवश्यक छ भन्ने सोच भएका परदेशी परिवार तथा विकास कार्की कै अध्यक्षतामा रहेको अगमसिंह गिरी संस्थान – ले माथि उल्लेखित सबै साहित्यकारहरूलाई उनीहरूको जीवनकालमा नै अभिनन्दन ग्रन्थ प्रकाशित गरिदिएर मूल्यांकन गरेका छन् भने सलुवामा अगमसिंह गिरी संस्था निर्माण गरेर मरणोप्रान्त जातीय कवि अगमसिंह गिरीलाई पनि उच्च सम्मान दिएका छन्।
दर्जनजति पत्र- पत्रिकाहरूको सम्पदन गरिसकेका विकास कार्कीले पत्रिका सम्पादन र प्रकाशनको जिम्मेवारी मात्र निर्वाह गर्नु भएको छैन तर उहाँकै नेतृत्वमा रहेको अगमसिंह गिरी संस्थामार्फत सलुवामा नेपाली भाषा पठनपाठनको व्यवस्था गर्ने, नेपाली साहित्य अनि सङ्गीत क्षेत्रका स्रष्टाहरूलाई सलुवामा बोलाएर अभिनन्दन गर्ने कामलाई पनि निरन्तर अघि बढाइरहेका छन्।
उहाँको सम्पादनमा प्रकाशित पत्र पत्रिकाहरू निम्न छन्:
१. “दर्पण” भित्ते पत्रिका, पानीघट्टा हाईस्कूलबाट सन् १९८२
२. “राँको” हस्तलिखित पत्रिका सन् १९८५ सिलगढी
३. “दर्शन” साहित्यिक पत्रिका, सन् १९८६, सिलगढी
४. फिल्म डाईजेस्ट दर्पण सिलगढीबाट प्रकाशित
५. दार्जिलिङ टाईम्स गोर्खा दैनिक सिलगढीबाट प्रकाशित
६. प्रभात साहित्यिक पत्रिका
७. “परदेशी” साहित्यिक पत्रिका सन् १९९७ बाट। यो निरन्तर प्रकाशित भइरहेको छ
८. “सेरोफेरो कलकत्ता” कलकत्ताबाट प्रकाशित
९. “सम्झाना” समसामयिक पत्रिका कलकत्ताबाट प्रकाशित
१०. “प्रहरीको कलम” कलकत्ता पुलिसमा रहेका गोर्खाली जवानद्वारा प्रकाशित
त्यसरी नै उहाँले सहिद भगतसिंहको जीवनीलाई बंगलाबाट नेपालीमा सन् १९८९ अनुवाद गरेर नेपाली भाषा साहित्यको ढुकुटीमा थप कृति जोड्नु भएको छ।
नेपाली भाषा साहित्यको निम्ति उहाँले पुर्याउनु भएको अतुलनीय योगदानस्वरुप उहाँले पाउनु भएको सम्मानहरूमा:
१. साहित्य अकादमी नेपाली विभागद्वारा भ्रमण अनुदान, सन् २००२
२. राङभाङभेलीबाट सन् २०१२
३. पाकिम सिक्किमबाट सन् २०१४
४. बर्मा/म्यानमारबाट सन् २०१५
५. धुलाबारी, नेपालबाट सन् २०१७ मा
६. हरिभक्त कटुवाल साहित्यिक संस्थान सिलगढीद्वारा २०२३ आदि
नेपाली भाषा साहित्यको विकासमा यहाँले पुर्याउनु भएको गरिमामय योगदानको सम्पन्न गर्दै साझा साहित्य संरक्षण संस्था गोरुबथानले ३२औं नेपाली भाषा मान्यता दिवसको सुखद अवसरमा चौथो स्व. आरबी राई स्मृति पुरस्कारद्वारा स्रष्टा विकास कार्कीलाई कार्यक्रमका मुख्य अतिथि डाक्टर मोहन पी दाहाल, सभाध्यक्ष डाक्टर दिल श्रेष्ठ अनि स्व. आरबी राईका छोरो शिशिर चन्द्र राईको बाहुलीबाट विभूषित गरियो। अलंकृत व्यक्ति विकास कार्कीलाई दोसल्ला ओढाएर प्रशस्ति पत्र, स्मृति चिन्ह अनि नगद राशिसहित सम्मानित गरियो। सम्मानित व्यक्तित्वलाई प्रदान गरिइने नगद राशिलगायतका अन्य आवश्यक सामाग्री स्व आरबी राईका छोराद्वय शिशिर चन्द्र राई, शरद चन्द्र राई अनि बुहारी प्रशान्ति राईद्वारा उपलब्ध गराइँदै आइरहेको छ।