ईश्वर म
प्रकृति पनि म
प्रकृति नै ईश्वर
ईश्वर नै प्रकृति
म फुलाऊँछु
म नै फलाऊँछु
न त तिमी जल दिन्छौ
न त मल नै दिन्छौ
न हावा न सूर्यको किरण
न स्याहार न सुसार
तैपनि यो स्वार्थको अनकन्टार जङ्गलभित्र
निस्वार्थ फुलिरहेकी छु
म जङ्गली फूल।
आफ्नै समयमा आफ्नै मौसममा
जहाँ छु त्यँही जताततै
समयानुसार ॠतु जनाउँदै
कहिले चाँप, गुराँस भएर त
कहिले बेली, चमेली सुनाखरी भएर फुलिदिन्छु
विभिन्न प्रकारका बन फूलहरू भएर
लजाँउदै, रमाउँदै, हाँस्दै, गाउँदै
साँच्चै फुलिरहेकी छु
म जङ्गली फूल भएर
जङ्गलको शून्यतासँग लुकाचोरी खेल्दै
गगनचुम्बी धुप्पी र चिसो बताससँग
रङ्गीबिरङ्गी पुतली र भँमराहरूसँग
गौँथली र मुनालका गीतहरूमा
स्वतन्त्र भएर हाँस्दै रमाँउँदै
स्वच्छ वातावरणको तरूण भएर
यतै फुलिरहेकी छु
म जङ्गली फूल भएर
तिमी मलाई नै चढाउँछौ टिपेर??
मुर्तीलाई भगवान बनाउन
मलाई नै चढाएर शीरमा????
प्रार्थना गर्छौ वरदान पाउँन????
चढाउँछौ!! तर सम्झन्दैनौ मेरो महिमा
अनि दोहोर्याउँछौ
त्यही कुकृत्यहरू बारम्बार
तैपनि फुलिरहेकी छु
म जङ्गली फूल।
तिमी निर्दयी भएर
किन निमोठ्छौ मलाई?
निर्दयी भएर
किन बन्छौ मेरो हत्यारा?
मेरै मेहनत र मेरै इच्छाले
म फुलेकी छु फक्रिएकी छु
तर म मेरै सौन्दर्यमा
रमाउँन पाउँदा नपाउँदै
मुस्कुराउन पाउँदा नपाउँदै मज्जाले
मलाई नै चढाउँछौ
तिम्रो विश्वासको देवी देउरालीमा
ढुङ्गालाई आस्थाको देवता बनाउन
अझै पनि फुलिरहेकी छु
म जङ्गली फूल।
तर…तर…म…
म त रमाउन चाहन्छु
तिम्रा सत्कर्महरूमा
तिम्रा सत्यताहरूमा
तिम्रा सुविचारहरूमा
तिम्रा अनेकौं श्रद्धाहरूमा
त्यसैले त यो अनेक प्रतिकुलमा पनि
निरन्तर फुलिरहेकी छु
म जङ्गली फूल।
(लेखिका सुपरचित महिला कवि अनि सक्रिय सामाजिक कार्यकर्ता हुनुहुन्छ)