सिलगढी: सिलगढी नगरनिगमको प्रधाननगर पुलिस थानाले सिलगढीमा लुटपाटको योजना विफल पारेर तीन जनालाई पक्राउ गरेको छ। बिहीबार राति सिलगढी कमिस्नरेट पुलिस प्रमुखले प्रधान नगर थाना क्षेत्रको कुलीपाडा क्षेत्रबाट तीन अभियुक्तलाई पक्राउ गरे। पक्राउ पर्नेहरुको नाम शिबु पाल, मोहम्मद फारुक र मोहम्मद बुद्ध रहेको छ। पक्राउ परेका सबै प्रधाननगर पुलिस चौकी इलाकाका बासिन्दा हुन्। प्रधाननगर पुलिस चौकीका पुलिस स्रोतका अनुसार पक्राउ परेका सबैजना हिजो राति कुलीपाडा नजिकै महानन्दा नदीको किनारमा हतियारसहित भेला भएका थिए। आरोपीहरूले गुरुङ बस्ती क्षेत्रमा लुटपाट गर्ने योजना बनाएको बताइएको छ। गोप्य स्रोतबाट यसबारे जानकारी पाएलगत्तै प्रधाननगर प्रहरी चौकीले अपरेसन शुरु गरेको थियो। तर, पुलिसको गाडीको बत्ती देखेर ४–५ जना महानन्दा नदी तरेर भाग्न सफल भएपनि बाँकी तीनजनालाई प्रधाननगर पुलिस चौकीको ह्वाइटकलर पुलिसले पक्रन सफल भएको थियो। पक्राउ परेकाहरुलाई शुक्रबार सिलगढी अदालतमा पेश गरिएको थियो। पक्राउ परेकाहरुको साथबाट लुटपाटका लागि ल्याइएको विभिन्न हतियार बरामद भएको छ। पक्राउ परेकालाई प्रधाननगर पुलिस चौकीले सोधपुछ गर्नुका साथै फरार अभियुक्तलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ।