[राम नवमी विशेष] राम नवमी

WhatsApp-Image-2024-04-16-at-12.47.31

राम भनेको जात्रा वा रमाइलो हो। हामीमा तीनवटा प्रसिद्ध राम छन्- मर्यादापुरुषोत्तम राम, परशुराम र बलराम। कबीरले चारवटा राम देखाएका छन्-

एक राम दशरथ का बेटा,

एक राम घट घट में लेटा,

एक राम है जगत् पसारा,

एक राम है जगत् से न्यारा ।

– यसका पनि थुप्रै पाठभेद छन्। अर्थ पनि थुप्रै छन्। आस्थावादी अर्थमा दशरथ (दस रथ) अर्थात् दसवटा द्वार भएको यस देहमा राम (ईश्वर) सदृश यस घट (मन )-मा विश्राम गर्ने सासको रूपमा सबैलाई चलाउने त्यो ‘आत्मा’ यस जगतकै भाग भएर पनि जगत्‍देखि न्यारी (भिन्न वा अद्भुत) छ, जो जन्ममृत्युको बन्धनदेखि मुक्त छ। ‘रम्’ धातुमा ‘घञ्’ प्रत्यय लागेर ‘राम’ शब्द निष्पन्न हुँदछ। ‘रम्’ धातुको अर्थ रमण (निवास, विहार) गर्नुसित सम्बद्ध छ। प्राणीमात्रका हृदयमा ‘रमण’ (निवास) गर्ने ‘राम’ हो तथा भक्तजन उनमा ‘रमण’ गर्दछन् वा ध्याननिष्ठ हुँदछन् यसकारण भक्त पनि ‘राम’ हुन्- “रमते कणे कणे इति रामः”। ‘विष्णुसहस्रनाम’-माथि लिखित आफ्नो भाष्यमा आद्य शङ्कराचार्यले पद्मपुराणको उदाहरण दिँदै ‘नित्यानन्दस्वरूप भगवान्मा योगिजन रमण गर्ने हुनाले उनी ‘राम’ भएका हुन् भनेका छन्। राममा अयन जोडिएर रामायण बन्दछ। अयन भनेको बाटो हो। रामायण भनेको राम हिँडेको बाटो हो।

राम वैदिक देवता होइनन्। वैदिक साहित्यमा ‘राम’-को उल्लेख प्रचलित रूपमा पाइँदैन। ऋग्वेदमा केवल दुई ठाउँमा नै ‘राम’ शब्द प्रयोग भएका छन् – १०-३-३ तथा १०-९३-१४। ती दुईमा पनि एक ठाउँ कालो रङ (रातको अन्धकार)को अर्थमा तथा शेष एक ठाउँ मात्र व्यक्तिको अर्थमा प्रयोग भएको छ। वेदमा रामलाई अवतारी पुरुष वा दशरथको पुत्र भएको संकेत छैन। यद्यपि नीलकण्ठ चतुर्धरले ऋग्वेदका अनेक मन्त्रलाई स्वविवेकले चुनेर रामकथापरक अर्थ लाएका छन्। हुनता त्यो उनको निजी मान्यता हो। स्वयं ऋग्वेदका ती प्रकरणमा प्राप्त कुनै संकेत वा कुनै अन्य भाष्यकारद्वारा ती मन्त्रको रामकथापरक अर्थ सिद्ध गरेका छैनन्। ऋग्वेदको एक स्थलमा ‘इक्ष्वाकुः’ (१०-६०-४) को तथा एक स्थलमा ‘दशरथ’ (१-१२६-४) शब्दको प्रयोग भएका कुरा वेदविज्ञहरूले गरेका छन्। उनीहरूको भनाइमा ती शब्द रामसित सम्बद्ध रहेका कुनै संकेत छैन। वेदमा त कृष्णलाई पनि इन्द्रले घोक्ऱ्याएर मारेको प्रसङ्ग छ। त्यो कृष्ण भागवतकै कृष्ण हो कि होइन यसै भन्न सकिन्न। भागवत वैदिककालमा रचिएको होइन। भागवतमा त इन्द्रले खन्याइदिएको पानीलाई कृष्णले एकै औँलीले गोवर्धन पर्वत उठाएर छेकिदिएको कथा दिएर इन्द्रभन्दा कृष्णलाई शक्तिशाली देखाइएको छ।

रामको कथासित सम्बद्ध सर्वाधिक प्रमाणभूत ग्रन्थ आदिकाव्य वाल्मीकीय रामायण हो। त्यहाँ रामजन्मबारे निम्नलिखित वर्णन उपलब्ध छ – ‘चैत्रे नावमिके तिथौ’। यसरी चैते नवमीमा राम जयन्ती पर्नेभयो। यति मात्र नभई भारतका चक्रवर्ती सम्राट् अशोकको जन्मजयन्तीलाई पनि राम नवमीले ढाकिदियो। भारतको भव्य इतिहास सम्राट् अशोकसँग जोडिएको भए तापनि अशोक जयन्तीले प्राथमिक महत्त्व नपाउनु देशकै विडम्बना हो। बेपारी वैश्यहरूको व्यवसाय क्षति नहोस् भनेर बाँकी ऋण राम नवमीअघि नै फच्चे वा चुक्ता गरिहाल्ने नियम समाजमा स्थापित गरिएको छ। रामकथाको स्रोत बौद्ध जातक कथा हुनुमा पनि धेरै वैज्ञानिकता छ। दशरथ जातकमा रामकथा छ। त्यहाँ सीता राम र लक्ष्मणकी बहिनी छिन्। अहिंसा प्रचार गर्ने कथा हुनाले युद्ध वर्णन राख्नुपरेको छैन। त्यसो हुनाले त्यहाँ रावण पात्र छैन। दशरथ अयोध्याका राजा नभई काशीका राजा छन्। धेरै विद्वान्ले रामायण प्रारम्भिक जातकभन्दा कान्छो मानेका छन्। जातक पालि भाषामा लेखिएको छ भने संस्कृत भाषाको आदिकाव्य रामायण हो। यो आदिकवि वाल्मीकिद्वारा लिखित संस्कृतको एउटा अनुपम महाकाव्य हुनाका साथै स्मृतिको अङ्ग हो। संस्कृतमा वेदमुनि श्रुति र श्रुतिमुनि स्मृति पर्दछ। श्रुति भनेको सुन्नु र स्मृति भनेको सम्झनु हो। मान्छेले कथेका र जनगणका सम्झनामा रहिरहने संस्कृतका रामायण, महाभारत, गीता, पुराण आदि धर्मग्रन्थ स्मृति हुन्। आस्थावादीहरू वेदलाई मान्छेले लेखेका होइनन् भन्ने मानीकन अपौरुषेय भन्दछन्। दशरथ जातकको विस्तार वाल्मीकीय रामायण मान्दा भारतीय आख्यान परम्परा अझ सुदृढ हुँदछ। कवित्वको दृष्टिले वाल्मीकिको रामायण भव्य रचना हो।

वाल्मीकिको रामायणमा रामको दैवी चरित्र छैन। राम सामान्य मानव छन् तर पराक्रमी योद्धा। कालान्तरमा वैष्णववाद विकास हुँदै गएपछि राम र कृष्णका मिथक थपिँदै गए। नवौँ शताब्दीमा शङ्कराचार्यले हिन्दू पुनर्जागरण अभियान अघि बढाउन वैष्णव र बौद्धलाई प्रसन्न गर्ने युक्तिअनुरूप परशुराम, राम, कृष्ण र बुद्धलाई पनि दशावतारमा एक-एकवटा अवतार मानिदिए। हिन्दू पुनर्जागरण अभियान सफल भएपछि शङ्कराचार्यको दर्शन सुदृढ भयो। शङ्करदर्शनमा आधार गरेर वैष्णव कविले एघारौँ शताब्दीमा अध्यात्म रामायण रचे। दक्षिण र उत्तर भारतका लोकजीवनमा राम दिव्य बन्दै गए। अध्यात्म रामायणले रामलाई ब्रह्मका अंशी, विष्णुको अवतार र महेशका समकक्षी मानेको छ। सुरदासको सुरसागरमा पनि रामकथा छ तर मानवीय छन्। दिव्य छैनन्। अध्यात्म रामायणको आधारमा तुलसीदासको रामचरितमानस, भानुभक्तको रामायण र अरू थुप्रै रामायण रचिए। यसरी राम दिव्य बने अनि आदर्शका प्रतीक पनि। पश्चिममा पनि येसुलाई मानवपुत्र मान्नु कि ईश्वरपुत्र मान्नु भन्नेबारे सयौँ वर्षसम्म तर्कसभा बसकेका थिए।

रामचरितमानस आदि मोगलकालमा रचिएका हुनाले मुसलमानकालीन नैतिकता समेटिएका हुनाले पुरुषप्रधान बने। तुलसीदासले एक ठाउँ लेखे- ‘ढोल गवाँर शूद्र पसु नारी, सकल ताड़ना के अधिकारी’। यसैको प्रभावमा भानुभक्तले वधूशिक्षा रचेको बेग्लै कथा छ। यहाँ मिल्दैन। रामायण र महाभारत सूर्यवंशी र चन्द्रवंशीका आधारमा यावत् संस्कृतिको वृहत्कथा हुनाले इतिहास भनिएको छ। यिनीहरूलाई उपजीव्यकाव्य पनि भनिन्छ, जहाँबाट थुप्रै जीवनी र उपकथा निसृत हुँदछन्।

कथाअनुसार जीवन पूर्ण भएपछि रामले यमराजको सहमतिमा सरयू नदीको तटमा गुप्तार घाटमा देह त्याग गरेर पुनः बैकुण्ठ धाममा विष्णु रूपमा विराजमान भए। राम जन्मभूमिबारे ठूलो विवादलाई समाधान गर्ने दिशामा सर्वोच्च न्यायालयले निर्णय सुनाएपछि राम मन्दिर अयोध्यामा बनिँदैछ। विषयलाई लिएर नेपाल भारत सम्बन्धमा समेत केही प्रभाव परेको देखिन्छ। के राम साँच्चै धर्तीमा जन्म लिएका थिए त भनेर प्रश्न पनि उठिरहेको छ।

यहाँ एउटा नव तथ्य अग्रसारित गर्दछु~

शुङ्ग वंशका संस्थापक पुष्यमित्र शुङ्ग हुन्। यस वंशको शासनकाल इसापूर्व १८४-देखि ७३-सम्म प्राचीन भारतमा रहेको थियो। पुश्यमित्र शुङ्ग राजा बृहद्रथका आमात्य (प्रधानमन्त्री/ प्रधान सेनापति) थिए। उनले सेनाको शक्ति देखाउन भनी राजा बृहद्रथलाई बोलाएर षडयन्त्रपूर्वक हत्या गरिदिए। उनी उज्जैन प्रान्तका हिन्दू जैन ब्रह्माण थिए। मौर्य वंशका तृतीय चक्रवर्ती सम्राट् अशोक (२६८-२३२ इ.पू.)ले उज्जैनलाई आफ्नो साम्राज्यमा गाभ्न ठूलो नरसंहार गरेका थिए। सम्राट् अशोकको पालादेखि नै मौर्य वंश बौद्ध धर्मावलम्बी बनेको थियो। बृहद्रथको पालासम्म आउँदा बुद्ध धर्मको व्यापक प्रचारप्रसारले गर्दा हिन्दू धर्म लोपोन्मुख अवस्थामा पुगिसकेको थियो। कट्टरपन्थी हिन्दूहरू यसबाट रुष्ट थिए। यसर्थ, पुष्यमित्र शुङ्गले बृहद्रथको हत्या गरेर आफू शासक बने।

उक्त समयको साहित्य र पुरातात्त्विक वस्तुहरूको अध्ययनबाट निम्न तथ्यहरू प्रमाणित हुन्छन्। हिन्दू धर्मका कतिपय पुराण उनकै पालामा रचाइएका थिए। यही वंशका राजा हर्षवर्धनका राज पुरोहित वाणभट्टले ‘हर्षचरित्र’ पनि रचना गरेका थिए। यही समयमा पाणिनीले ‘अष्टाध्यायी’ रचना गरेका थिए। पुष्यमित्र शुङ्गका राजपुरोहित पतञ्जलिले ‘अष्टाध्यायी’मा आधारित ‘योगभाष्य’ यही कालमा रचेका थिए। ‘गार्गी संहिता’ जस्तो ज्योतिष ग्रन्थ पनि विदुषी गार्गीले यही समयमा रचेकी थिइन्। रावण प्राचीन भारतका चक्रवर्ती सम्राट् चन्द्रगुप्त मौर्य वंशका दसौँ न्यायप्रिय सम्राट् थिए। उनको वास्तविक नाम सम्राट् बृहद्रथ मौर्य हो। उनी बौद्ध धर्मावलम्बी थिए। इसापूर्व १८५ मा षड्यन्त्रपूर्वक उनको हत्या भएको थियो। उनको हत्यारा उनकै अमान्य पुष्यमित्र शुङ्ग थिए। त्यसपछि पुष्यमित्र शुङ्ग स्वघोषित राजा बनेका थिए। उनले पाटलिपुत्रदेखि श्याल्कोटसम्मका सबै बौद्ध विहार नष्ट गर्नुका साथै बीसौँ हजार भिक्षुहरूको समेत हत्या गरेका थिए। पछि उनले आफ्नो राज्यको नाम बद्लेर ‘अयोध्या’ राखे। अयोध्याको अर्थ बिनायुद्ध हुन्छ। उनले त्यो राज्य युद्ध नगरी षडयन्त्रपूर्वक प्राप्त गरेका थिए। तिनै पुष्यमित्र शुङ्गले आफ्नो प्रासादीय कवि वाल्मीकिलाई रामायण रचना गर्न लगाई आफूलाई मर्यादा पुरुषोत्तम पात्र राम र मौर्य सम्राट् बृहद्रथलाई रावणको रूपमा प्रस्तुत गर्न लगाएका हुन् भन्ने मान्नेहरू पनि छन्।

बौद्ध, जैन र सिख सम्प्रदायमा आआफ्ना रामायण संस्करण छन्। देशकै आधारमा कम्पोचिआ, हिन्देशिआ, थाई, लाओ, बर्मी, माले संस्करणका रामकथा पनि छन्। काव्यको नाताले रामायण उपजीव्य काव्य हो र बृहत् आख्यान। एउटै आख्यानबाट उपाख्यान कति निस्कन्छन् कति- राम वनवास, सीता हरण, रावण जटायु युद्ध, भरत मिलन आदि। राम समातनीको जीवन भइसकेको हुनाले प्यारो न्वारारे नाम राम, सुखदुःखे रामराम, खुइय्य गर्दा पनि राम, भुइँचालो जाँदा विधर्मीले पनि भने रामराम, मर्दा सत्य राम नाम, बाँच्दा आत्मैराम, नमर्ने आत्माराम। प्रेमले मुदित भएर (रमाएर) राम भनिरहने बानी गर्न लाइन्छ- प्रेम मुदित मन से कहो राम राम राम। गान्धीजी राम गाएरै मरे- हे राम!

रामायण र रामबारे अनुसन्धान विभिन्न पक्षबाट भइरहेका छन्। व्याख्या पनि व्यापक रूपले भइरहेका छन्। सनातन संस्कृतिको यो सबल र सकारात्मक पक्ष हो। रामको दिव्य रूप धेरै सनातनीको आस्थामा गाँसिसकेको छ। यद्यपि भारतीय संस्कृतिले विरोधलाई पनि विरोध गर्दैन। यसले विरोधमाथि पनि विमर्श गर्दछ। सनातन संस्कृति विश्वासीहरूको मात्र क्रीडास्थल होइन तर विमर्शकर्ताहरूको उर्वर भूमि पनि हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *