आलु खान त कसैले हामीबाट सिकुन्

Potato-1

परापुर्वकाल देखि भनिएको छ र मानिएको पनि हो, आलु तरकारीको राजा हो र यसको उपस्थिति राजमहलको पाकशालादेखि गरीबको झोपडीसम्म छ। कुनै पनि परिकारमा जसरी पनि मिल्ने, भुटेर होस् अथवा उसिनेर वा फर्सी, कुभिण्डो,मासु, यहाँसम्म कि सागपातमा पनि आलुले आफ्नो अस्मिता रक्षा गरिआएको छ। हामी नेपालीभाषी, चाहे दार्जीलिङ, भाक्सु, उत्तर पूर्वाञ्चल जहाँ रहे पनि हाम्रो स्वभाव सधैं पिपलपाते नै रहिआएको छ। हाम्रो आनिबानी स्वभावले दर्शाउँछ कि हामी पनि आलु भन्दा कम चाहिँ होइन रहेछौं। जता हावा चल्यो उतै फर्किने पिपलपाते स्वभाव हामीबाट कहिल्यै गएन। हाम्रा प्यारा कवि गीतकार हरिभक्त कटुवालले लोकप्रिय कविता “मन त फलामकै भए असल हुन्छ” कवितामा हामी आलु हुन गएको रहस्यको उद्घाटन गरेका छन् यसरी:

मन त फलामकै भए असल हुन्छ

घातप्रतिघातमा रुन्छ,

न सयपत्री र बाबरीले बाटो थुन्छ

मन त फलामकै भए असल हुन्छ

कसैले चिमोट्यो एक कप्टेरो त्यतै टाँसियो,

कसैले एउटा मुस्कान फ्याँक्यो

उसैको पछ्यौरीमा गाँसियो;

जहिले पनि जलेकै छ, जता पनि ढलेकै छ,

मनको बह कसैसित नकह

कसले बुझ्छ, कसले सुन्छ?

मन त फलामकै भए असल हुन्छ।

वसन्तमा वन फुल्योमन उतै भुल्यो,

बैँसले जाऊँ है भन्न लाग्योपीर झन् ठूलो; आकाश देख्यो आकाश जत्रै

बतास चल्यो बतास जस्तै,

नौनी जस्तो मेरो मनलाई जसले पायो उसले छुन्छ;

त्यसैले पनिमन त फलामकै भए असल हुन्छ।”

हामी कति सन्चो मान्ने जात हौं: कसैले के उद्देश्यले हामीलाई चिमोटिरहेको हुन्छ,नबुझिकन हामी उसँग लपक्कै टाँस्सिन्छौं। भारतमा होस् या विश्वको अरु कुनै ठाउँमा, हामीले आफूलाई चिनाउन विशेष नाम दिएका छौं, चाहे त्यो कुरा कसैले मानोस् अथवा नमानोस् हामी आत्मतृप्तिले गदगद हुन्छौं, भइरहेका पनि छौं। हामी असममा बसोवास गरेका छौं कति पुस्ता बितेर गए, मणिपुर, नागाल्याण्ड, अरूणाचल, मेघालय र थोरै भए पनि त्रिपुरामा पनि छौं। यी सबै राज्यमा हाम्रा आ-आफ्ना समस्याहरू छन्। सिक्किममा भएको समस्या हामीसँग मिल्दैन। तर पनि सिक्किमका नेपालीभाषीहरू पनि कतिकति बेला अन्यौलमा फँसेका देखिन्छन्। मेघालयमा हाम्रो वर्चस्व घट्दै आयो,जब त्यहाँबाट धेरै गोर्खाहरू लखेटिए। बङ्गालमा त हामीलाई त्यहाँको सरकारले पत्तो दिएको छैन। भारतमा छुट्टै राज्यको माँग भएको भूखण्ड नै दार्जीलिङ भेक हो जसले सयवर्ष नाघेको छ। जबजब चुनाव आउँछ,तब सबै क्रियाशील देखिन्छन्, ललीपप देखाइन्छ अनि चुनाव सकिए लगत्तै ललीपप चुस्नै नपाई गलेर झर्छ।

चुनावको समयमा हामी बाघ जस्तै गर्जिन्छौं,चुनाव सकिए पछि हामी भिजेको बिरालो जस्तै बन्छौं, हाम्रो म्याउँ म्याउँ अकासले सुन्छ,बतासले त्यसलाई उडाएर लैजान्छ।  कुनै नेताले हामीतिर हेरेर मुसुक्क हाँस्यो भने उसैको पछ्यौरीमा हामी जानेर अथवा नजानेर गाँस्सिन पुग्छौं। जहाँ जहाँ हामी छौं, हामी आलु सरह बाँचेका छौं। अहिले चुनावको मौसम छ। हामी धेरैले नेताको चम्चा हुने भूमिका खेल्ने दिन आउँदै गरेको जोखानामा देखिएको छ। कतिपयको लागि त यस्ता चुनाव कमाउने साधन पनि बन्छन्, बनुन् पनि भन्छु म त। अरूले पनि त त्यही भूमिका खेलेको देखिन्छ। तर हाम्रा संस्था सङ्गठनले चम्चागिरि भने पटक्कै नगरुन् किनभने उनीहरूले संस्था सङ्गठनमा रहेर एउटा सिङ्गो,त्यही पनि हेप्पिएको, ठगिएको जातिलाई प्रतिनिधित्व गरेका हुन्छन्। उनीहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई ताकमा राखेर जातिको निम्ति आफुलाई नियोजित गर्न सक्नुपर्छ।

स्वयम् केन्द्र सरकारलाई पनि थाहा छ, गोर्खाहरूको मूलभूत समस्या केके हुन्। सयवर्ष गोर्खालेन्ड आन्दोलनले नाघिसकेको छ। आफ्नो गाँस बास र  कपास सुनिश्चित गर्न हजार भन्दा धेरैले गोर्खालेन्ड आन्दोलनमा शहीद  र घाइते हुनुपऱ्यो। ती शहीद परिवारका सदस्यलाई मात्रै थाहा छ पीडा, वेदना कस्तो हुन्छ। यसपालि आन्दोलन नचर्किए पनि गोर्खालेन्डको धूवाँ भने केन्द्र सरकारले देखिसकेको छ र यसपालि केही न केही एकथोक बङ्गालको पहाडी र छिमेकी तराईको भूभागमा ठुलो परिवर्तन हुन गइरहेको अनुभव हुँदैछ। सिलगढीमा प्रधानमन्त्री मोदीले त्यो ठुलो परिवर्तनको सङ्केत समेत दिइसकेका छन्। चुनाव आचार संहिता लागु भैसकेको हुनाले उनले खुलस्त नपारे पनि अब उप्रान्त पहाडवासीले पहिलेको जस्तो लोलोपोतो छाडेर गम्भीरतापूर्वक प्रधानमन्त्रीले भनेको सङ्केतलाई बुझ्ने प्रयास गरून्। केन्द्र सरकार अहिले बङ्गाल सरकारमाथि खड्गहस्त, असन्तुष्ट रहेको छ र चुनाव पछि नै बङ्गाल सरकारलाई एउटा शिक्षा दिन ठुलो घोषणा हुन्छ भन्ने जोखानामा देखाएको छ।

तर अब उप्रान्त हामी गम्भीरतापूर्वक कुराहरू सोचौं। “हामी गोर्खाहरूको समस्या समाधानको नजिकै आइपुगेका छौं”- देशको प्रधानबाट यति कुरा सुन्न पाउनु पनि राम्रो सङ्केत आएको हो भन्नुपर्छ। एकपल्ट विगतका मनमुटाव बिर्सिदिएर एकमुष्ट भएर गणतन्त्रको ठुलो उत्सवलाई साकार बनाऔं। यसो गर्न जाँदा हामी सकारात्मक सोच लिएर अघि बढ्नु पर्छ। जता मल्खु उतै ढल्कुँ नगरेर आफ्नो विवेकलाई जाति र भाषाको उत्कर्षका लागि प्रयोगमा ल्याऔं। सय वर्ष हामीले पोचिएका आलु खाँदै आयौं। अब पनि आलु खानु छ, तर ताजा आलु। तर आलु खाने क्रममा हामीलाई कसैले आलु नबनाउन् यो कुरा प्रति हामी सचेत रहनुपर्छ। हामी आलु हुनबाट यसरी मात्रै जोगिन सक्छौं र यसको लागि पहाडका जनताले लगनका साथ राजनैतिक कूट कौशलको परिचय दिंदै पहाडमा सामाजिक र बौद्धिक आन्दोलन शुरु गरोस्।  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *