मनका कुरा (१) — आखिर मनै त रहेछ!

Untitled-1-copy-5

  मान्छे प्रधान हो कि विचार प्रधान हो भनी मलाई कसैले प्रश्न गरे म निर्धक्क भन्छु कि विचारविहिन मान्छे केवल जन्तु हो, मान्छे होइन। “मान्छे ठूलो दिलले हुन्छ, धनले हुँदैन”– मान्छेको दिल भन्नु नै मन रहेछ, मन भन्नु नै मान्छेको विचार रहेछ। विचारशील भएकाले नै मान्छे अन्य प्राणीहरूभन्दा श्रेष्ठ मानिन्छन्। तर मान्छे भन्नु केवल विचार (मन) मात्र पनि त होइन रहेछ।  मन र  बुद्धिको मन्थनबाट आर्जित अमृतरूपी संस्कार झनै महत्त्वपूर्ण रहेछ। यही संस्कार मान्छेको व्यावहार, स्वभाव, चालचलन, रहनसहन, जीवनशैली, कार्यव्यापार, हाउभाउ हरेक कुरामा परिलक्षित हुने हुँदा यसले व्यक्तिको परिचय पनि बोध गर्दो रहेछ। त्यसैले मन र बुद्धि भन्दा पनि ठुलो त संस्कार पो हो कि! भन्ने कुराले पनि मलाई समातेकै छ।

        विचारकै आधारमा विभिन्न वाद र सिद्धान्तको जन्म भएको छ। कसैले मलाई कुन वादीको भनेर सोध्छ भने म किञ्चित पनि नहिचकिचाइ भन्छु कि म मानवतावादी हूँ। मानवता भन्नु नै सद्भाव, सद्विचार, सद्गुण, सद्व्यावहार आदि हुन्। आगोको धर्म तातो, पानीको धर्म चिसो हो भने मान्छेको धर्म मानवता भन्नुमा अत्युक्ति नहोला। त्यसैले पशु र मानिसमा फरक छ । पशुले पनि एक पेट भर्दछ तर पशु मान्छे हुँदैन। म धर्ममा विश्वास राख्ने मान्छे, सबै धर्मको सार मानवतावादलाई शिरोपर राखेर हिँड्ने। त्यसैले कुनै सानो कुराले पनि मेरो मनको जगलाई हल्लाई दिँदा मन तरङ्गित भइरहन्छ, छाल उठिरहन्छ। त्यस्ता छालहरू सुखात्मक र दुःखात्मक दुवै हुन्छन्। पाश्चात्य समालोचक अरिस्टोटलले नाटकको सन्दर्भमा विरेचन सिद्धान्तमा विरेचनको सामान्य अर्थ जुलाफ वा रेचक औषधीद्वारा शरीरभित्रका विकारहरूको निराकरण गर्नु भन्ने बताएका छन्। अर्थात् अपथ्य खानेकुराले पेट बिसन्चो हुँदा जुलाफ आदि औषधीले जसरी पेट सफा गर्दछ, त्यसरी नै मनमा गुम्सेका कुराहरूलाई बाहिर निकाले मन शान्त हुन्छ, हल्का हुन्छ। यसर्थ यो लेख त्यस्ता तरङ्गित छालहरूमध्येको एउटा सानो छाल भनौँ अथवा विरेचन।

        एक दिन एउटा जरुरी काम लिएर दार्जीलिङदेखि सिलगढी तर्फ लागेँ। गाडीको जामले दुई घण्टा ढिला भएँ, बानी नै परेको छ। आखिर बाटो, पानी, अस्पतालजस्ता बुनियादी  समस्या र अनेकौं दफ्तरी समस्या दार्जीलिङे साधरण जनताका लागि त दिनचर्या नै बनेको छ। ठुलाठालाका लागि कुनै फरक नपर्ला! किनकि उनीहरू आफुले भोग्ने होइनन्, अरुलाई भोगाउने हो।

        बिहान सात बजे प्रस्थान गरेको, अपराह्न एक बजे सिलगढीको सम्बन्धित कार्यलय पुगेँ। गर्मीले पसीना आइरहेछ, भोक पनि लागिरहेछ। यद्यपि काम सिद्याएरै खाना खाने निर्णय लिएर सरासर कार्यलयतिर गएँ। त्यो सिलगडीको एक विशेष कार्यलय थियो जसको नाम उल्लेख गरेर त्यहाँका सम्पूर्ण कर्मचारीका स्वाभिमानमा चोट पुऱ्याउने चाहन्न। कार्यलयमा प्रवेश गरेपछि सम्बन्धित विभाग ठहपुऱ्याउन गाह्रो पऱ्यो। कागजपत्रको ठेली हातमा बोकेर यताउता चहार्न थालेँ। मेरो अवस्था देखेर एक युवतीले बङ्गलामा “के खोज्नु भएको?”– भनेर सोधी। युवती तीस÷पैंतीस वर्षकी, काली, भद्घा आकृतिकी, श्रृङ्गार नभएकी, साधरण कुर्ता–पाइजामा लाएकी, मझौलो कदकी तर बोलीमा मिठास र हँसिलो मुहारकी थिई। उसलाई मैले पहिलो चोटि देखेको, जानपहिचान केही थिएन। प्रत्युत्तरमा मैले बङ्गलामा नै आफुलाई चाहिएको विभाग कता होला भनी सोधेँ। उसले माथिल्लो तलाको चार नम्बर कोठामा  भनी। धन्यवाद प्रकट गरी म सरासर त्यहाँ गएँ। कोठामा चार–पाँचजना बङ्गाली बाबुहरू कम्प्यूटरमा काम गरिरहेका थिए। सुरुकै टेबलमा गएर मैले एकजनालाई कागजपत्र देखाउँदै आफु आउनुको कारण बताएँ। कागजपत्र हेरेर उसले मलाई कोठा नम्बर तीनमा गई एउटा फारम निकालेर भरी यहाँ आउनु भने। कोठा तीन नम्बरमा गएँ। त्यहाँ एकजना सुडौल शरीरकी, तीस/ पैंतीसकै देखिने, सेतो सर्ट र जिन्स पैन्ट लाएकी, विछिट्ट सुन्दरी, पहिरन र श्रृङ्गारले अझै बढी खुलेकी, ओँठमा लिपिस्टिक, नङमा पलिस, गालामा क्रिम–पाउडर धसेकी, गोरी, आँखा चिम्सीचिम्सी परेकी, कपाल सिधा पारेकी, परेली बनाएकी, सिनेमाकी नायिकाजस्ती नेपाली यूवती हातमा मोबाइल खेलाइरहेकी थिई। आफ्ना मान्छे देखेर खुशी भएँ। तर, मैले दुई–चारपल्ट बोलाउँदा मात्र उसले मतिर हेरी। अभिवादन गर्दै मैले आफ्नो कागजात देखाएर कृपया एउटा फारम दिनुहुन विन्ति चढाएँ। उसले राम्रो मतिर नहेरी रुखो स्वरमा भनी, “आज बन्द भयो, भोलि आउनु”। टाढाबाट आएको दुःख पोखाएँ, अनुनय गरेँ तर मतिर हेर्दा पनि हेरिन। मोबाइल खेलाइरही। मेरो अनुनय विस्तारै हावामा विलिन भएर गयो।  

        निराश भएर सिँडीबाट झर्दै थिएँ, उही अनेपाली ठिटी बाहिर उभिइरहेकी थिई। मेरो मुखाकृति देखेर उसले ‘के भयो ?’ – भनेर सोधी। आज बन्द भयो रे’ भनेँ। हतार–हतार उसले मलाई त्यस यूवतीको कोठामा लगेर गई अनि ‘तिमीले आलमिराबाट एउटा फारम झिकेर दिनु सक्दैनौ? मान्छेलाई यसरी किन दुःख दिएको?’– भन्दै आफैले एउटा फारम झिकेर मलाई दिई। मैले उसलाई कृतज्ञता जनाए। मेरो खुशीको सीमा रहेन। आखिर हामीजस्ताका लागि खुशी हुनलाई कहाँ ठुलाठुला कुरा चाहिँदोरहेछ त! सानो कुरामा पनि धेरै खुशी पाइँदोरहेछ।

        फारम भरेर बुझाइ ढुक्कले टोटोमा चढी खाना खाने पसलतिर लाग्दै थिएँ,  अघिका कुराहरू समुद्रका छालसरह मनमा लहराउन  लागे। भावविभोर भएँ। विज्ञान र प्रविधिको विकासले मान्छेको जीवनलाई सरल र सुगम  बनाएको छ। संसारलाई मुठीमा ल्याएको छ। तर यसले दुरत्व पनि बढाएको छ। त्यति मात्र नभएर मान्छेको मन, सोच–विचार र व्यावहारमा समेत  फरक पारेको छ। संवेदनारहित बनाएको छ। वास्तवमा मान्छेको प्रवृत्ति, प्रकृति, गुण, दोष, संस्कार आदि कुनै जात, जाति, समुदाय, रङ, रुप र धर्ममा होइन निजी आचरणमा निर्भर गर्दोरहेछ। मान्छेको सुन्दरता कहाँ शरीरमा हुँदो रहेछ त ! सुन्दरता त गुणमा पो हुँदोरहेछ। त्यसैले त कवि शिरोमणि लेखनाथले भनेका रहेछन्, “उपकारी गुणी व्यक्ति निहुरिन्छन् निरन्तर, फलेको रुखको हाँगो नझुकेको कहाँ छ र।” त्यसरी नै कवि धरणीधर कोइरालाले लेखेका रहेछन्, “अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्न कसो गरी हो।”………. सम्झिन्छु, असल मान्छे हुनु भनेको  सद्गुण, सद्भाव र सद्विचार सम्पन्न हुनु रहेछ जसको आधार आखिर मनै त रहेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *