काठमाडौँ रिङ रोड विस्तारमा चीनले छुट्यायो बजेट, प्रारम्भिक डिजाइन पनि पठायो

IMG-20240409-WA0003

झापा, (नेपाल): चिनियाँपक्षले कलंकी–महाराजगन्ज रिङ रोड विस्तारको निम्ति ‘प्रिलिमिनरी डिजाइन’को खाका नेपाललाई पठाएको छ। नेपाल सरकारले ‘साइट क्लियरेन्स’ गर्न थालेको पाँच वर्ष पुगिसक्दा बल्ल डिजाइनको खाका आदानप्रदान भएको हो। चिनियाँ सहयोगमा बन्ने आयोजना लामो समय साइट क्लियरेन्स नभएको भन्दै शुरु नै हुनसकेको थिएन। अहिले चीनले रिङ रोड विस्तारको निम्ति बजट छुट्याइसकेको बताइएको छ। ‘चीनले रिङ रोड विस्तारको निम्ति बजट छुट्याइसकेको सुनेका छौँ’, रिङ रोड विस्तार सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले भने, ‘चीनबाट आयोजनालाई गति दिने पत्र पनि आएको छ। जसमा प्रिलिमिनरी डिजाइनको विषय छ।’ उनका अनुसार, सडकको कुन ठाउँमा पुल, कल्भर्ट हुने विषयमा जानकारीसहितको पत्र पठाइएको छ। चिनियाँ पक्षले विस्तृत परियोजना प्रतिवेदन भने अझै तयार गरेको छैन। ‘अहिले कुन ठाउँमा कस्तो संरचना बनाउने भन्ने विषयमा जानकारी गराएको छ’, ओझाले भने , ‘त्यसमा हामीले जवाफ पठाएपछि मात्रै विस्तृत परियोजना प्रतिवेदन तयार गर्छ।’

दोस्रो खण्डमा आठ दशमलव दुई किलोमिटर सडक छ। सम्झौता सन् २०१८ मा भए पनि कोभिडलगायत कारण चीनले नै डिजाइन गर्नुपर्ने हुँदा टोली आउन नसकेकाले रोकिएको काम पनि पूरा हुन नसकेको कारण देखाइँदै आएको छ। आठ लेनको सडकमा मुख्य लेन चीनको सहयोगमा चिनियाँ पक्षले नै बनाउनेछ। साइड लेन र ढलको काम नेपालले गर्नुपर्छ। जसको ठेक्का समेत लागिसकेर काम भइरहेको छ। २०७९ फागुनमा रिङ रोडको दोस्रो चरणको विस्तारमा ढिलाइ भएसँगै चिनियाँ राजदूतसहितको टोली निरीक्षणको निम्ति पुगेको थियो। तत्कालीन  भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन सोङ, काठमाडौंका मेयर बालेन्द्र शाह, विद्युत् प्राधिकरणका कुलमान घिसिङलगायतसंगै निरीक्षण गरेका थिए।

चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै काम शुरु गरेको थिएन। नेपाल सरकारले रुख कटान, विद्युतका पोल सार्ने, ढलको व्यवस्थापनका काम सकाएको छ। तर स्वयम्भूलगायत ठाउँमा संरचना नहटाई सडक निर्माण गर्ने सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले चिनियाँ पक्ष रसुवागढी सडक र रिङ रोड विस्तारमा सकारात्मक देखिएको बताए। ‘चिनियाँ राजदूतसहितको टोली नै मन्त्रालयमा आएर छिट्टै काम अघि बढ्ने बताएका छन्’, अधिकारीले भने, ‘उत्तरी नाकाको महत्त्वपूर्ण मानिने रसुवागढी सडक सुधारको काम छिट्टै गर्ने पत्र आएको छ।’

हाल चिनियाँ नाकासम्म ठूला कन्टेनर आए पनि नेपालतर्फको सडक साँघुरो हुँदा ठूला ट्रकलाई अप्ठ्यारो हुँदै आएको छ। रिङ रोड र रसुवागढी दुवै सडक चिनियाँ सहयोगमै बन्न लागेका हुन्। गत १३ मार्च (फागुन ३० गते) काठमाडौं महानगरका मेयर बालेन शाहले रिङ रोड विस्तार ढिलाइ भएको भन्दै चिनियाँ सम्बन्धित पक्षमाथि प्रश्न उठाएका थिए। काठमाडौँका सडकलाई धुवाँ र धुलोमुक्त बनाउन सडक बढार्ने, टिपनटापन गर्ने, ब्रुमर लगाउने र पानीले पखाल्ने गरेको बताउँदै उनले सडकको सफाइमा अपेक्षित सफाइ प्राप्त गर्न नसकेको प्रमुख कारण रिङ रोड सुधार आयोजनाको वर्षौँसम्म नसकिनु रहेको उल्लेख गरिएको थियो। महानगरले रिङ रोडका ठाउँ ठाउँमा यो सडक महानगर मातहत पर्दैन भनी बोर्ड नै टाँसेको थियो। काठमाडौं रिङ रोड सुधार आयोजनाले बोर्ड हटाइदिएपछि महानगरले बोर्ड हराएको भन्दै पुलिस रिपोर्ट नै गरेको छ। रिङ रोडको पहिलो खण्डअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्म विस्तारको काम वि.सं. २०७१ देखि चीन सरकारले थालेको थियो। २०७५ मा १० किलोमिटर कोटेश्वर–कलंकी खण्ड सरकारलाई हस्तान्तरण गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *