कहिँ सानी दुधमुखे बालिका बलात्कृत भएको, कहिँ कुनै किशोरी, कहिँ कुनै महिला सामूहिक बलात्कारको शिकार भएको, कहिं कुनै बालिका, कुनै महिलामाथि यौन उत्पीडन, शारीरिक उत्पीडन भएको घटनाहरु प्राय: दिनहुँ सुनिन्छ…आखिर कहिलेसम्म जारी रहने यस्ता मानव समाजलाई लज्जित पार्ने नृशंस हिंसाका घटनाहरु? यो हो उत्तरविहीन प्रश्न….
यस ब्रह्माण्डमा सृष्टि निर्माताद्वारा रचिएका सबैभन्दा सुन्दर अनि विवेकशील सृजना भनेको यो मानव चोला हो। हिन्दू शास्त्रहरुमा उल्लेख गरेअनुसार, यो मानव चोला प्राप्त गर्नका लागि चैरासी जूनी प्राप्त गरेको हुनुपर्दछ। सृष्टिको सृजनासँगै नारी र पुरूषको संगमले यो विश्व आजसम्म अनन्तकालसम्मकै निम्ति धारा-प्रवाह रुपमा अविरल गतिमा निरन्तर बगिरहेको छ, बगिरहेको छ। यो बगाईको कुनै अन्त छैन। नारी र पुरुषको मिलनले नै विश्वमा मानव समाज स्थापित भयो, अनि आज मानव समाज अग्रगामी पथमा कोशौं कोश छलाङ् मारेर भूतलदेखि आकाश भन्दा माथि पाइला टेक्न सफल भएको छ। नारी र पुरुष जीवन चलाउने एउटा रथका दुईवटा पाङ्ग्रा हुन्। यदि एउटा भत्किए जीवन रथ चल्दैन अधमरो अवस्थामा पुग्छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकपल्ट कल्पना गरौं यदि नारी मात्र हुँदो हो या पुरूष मात्र हुँदो के यो विश्वमा मानव समाज स्थापित हुनसक्ने थियो? कल्पना गरौं नारी बिनाको समाज कस्तो हुन्थ्यो होला? अनि पुरूष बिनाको समाज कस्तो हुन्थ्यो होला? यस्तो प्रश्नले सबैको दिमाग खलबलिन्छ। मानव चोलालाई निर्माण गर्ने सृष्टि निर्माताले नारी र पुरूषलाई समान अधिकार दिएका हुन्। तर नारी र पुरूष बीचको समानता बारे कुरा गर्ने हो भने यसमा कुनै समानता भन्ने छैन। यसैले आजसम्म पनि नारीवादी आन्दोलन अन्तहीन बनेको छ। अन्तर्राष्ट्रिय महिला दिवस नारीवादी आन्दोलनको एउटा अभियान हो।
अन्तर्राष्ट्रिय महिला दिवसको पृष्ठभूमि
अन्तर्राष्ट्रिय महिला दिवस विश्वका विभिन्न देशमा पालन गरिन्छ। अन्तर्राष्ट्रिय महिला दिवस पालन गरिन थालेको प्रायः एक शताब्दी भइसकेको छ। अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरुका विकास सुरक्षा, अधिकार, समानताका लागि नयॉं संकल्प गरिन्छ। अन्तर्राष्ट्रिय महिला दिवसलाई एकपल्ट फर्किएर हेर्न आवश्यक छ। सन् १९०८ मा राम्रो तलब साथै मताधिकारको माग गर्दै १५ हजार महिलाहरूले अमेरिकाको न्यूयोर्क शहरमा जुलूस निकालेको थियो। सन् १९०९ मा सोसियलिस्ट पार्टी अफ् अमेरिकाले २८ फरवरीको दिन अमेरिकाभरि नै राष्ट्रिय महिला दिवस पालन गर्ने घोषणा गरेको थियो। यो थियो पहिलो महिला दिवस। यसपछिदेखि अमेरिकामा फरवरी महीनाको अन्तिम आइतबार पारेर सन् १९१३ सम्म राष्ट्रिय महिला दिवस पालन गर्यो। सन् १९१० मा कोपेनहगेनमा इन्टरनेशनल कन्फरेन्स अफ् वुमेन आयोजना भएको थियो। त्यसै कन्फरेन्समा जर्मनीको सोसियल डेमोक्रेटिक पार्टीको वुमेन्स् अफिसका नेतृ क्लारा जेटकिनले महिला दिवस विश्वका सबै देशहरूमा पालन गर्न अन्तर्राष्ट्रिय महिला दिवसको विचार प्रकट गरेकी थिइन्। १७ वटा देशहरूका एक सय महिलाहरू र फिनिश् पार्लियमेन्टका तीनजना प्रथम निर्वाचित महिलाहरू सहभागी भएका त्यस कन्फरेन्स्मा जेटकिनको विचारलाई प्रस्तावको रूपमा ग्रहण गरियो। यसै कन्फरेरेन्सको परिणाम हो अन्तर्राष्ट्रिय महिला दिवस।
पौराणिककालदेखि नै पृथ्वीमा पुरूषप्रधान समाजको हुकुमत चल्दै आएको छ। नारीलाई सधैं दुर्बल पक्षमा मात्र हेरिन्दै आएको छl पुरूषप्रधान समाजमा नारीलाई दुर्बल अनि सधैं पुरूषको साहारामा बाँच्नुपर्ने स्थितिमा राखिन्दै आएको छ। एउटा समय यस्तो थियो नारीले खुलेर हॉंस्नसम्म पाइन्दैन थियो अनि शिक्षाबाट वञ्चित गरिएको थियो। लोग्नेको मृत्यु हुँदा स्वास्नीले सती जानुपर्ने अनि अग्नि परीक्षा पनि एउटी नारीले दिनुपर्ने समय थियो। उदाहरणको लागि भन्ने हो भने त्रेतायुगमा सातीजीले अग्नि परीक्षा दिनपरेको घटना पहिलो हुनसक्छ। सीताजीले आफ्नै पति अयोध्याका राजा भगवान श्रीरामचन्द्रलाई विश्वास दिलाउनका निम्ति परीक्षा दिनुपरेको थियो। त्यस बेलादेखि नै पुरूषप्रधान समाजको दबदबा नारीमाथि परेको थियो भन्ने तथ्य स्पष्ट हुन्छ।
पुरूषप्रधान समाजको हुकुमत आजसम्म पनि विश्वमा समाप्त भएको छैन। वर्तमान समयमा हेर्ने हो भने तालिबानले महिलाहरूलाई कसरी मानव अधिकारबाट वञ्चित गरेको छ। नोबेल पुरस्कार विजेता मलाला युसुफजाइले छोरीहरूले पढ्न पाउनुपर्छ भन्ने आवाज उठाउँदा उनलाई कसरी गोली ठोकेको थियो। यस्तै भारतमा विख्यात लोक निरत्यांगना गुलाबो कालबेलियालाई सन् १९६० मा जन्मिएको एक घण्टामा दफन गरिदिएको थियोl दफन गर्नुको कारण उनी छोरी भएर जन्मिएकी थिइन्l दफन गरिएपछि उनलाई आफ्नो छेमाले बचाएकी थिइन्l आज गुलाबो कालबेलियाले लोक नृत्यको क्षेत्रबाट कालबेलिया समाज साथै भारतको नामलाई विश्वमा प्रख्यात बनाउन सफल बनाएकी छिन्l एकाइसौं शताब्दीमा पनि यस्तो घटना भएको छ। यसले स्पष्ट हुन्छ अहिलेको आधुनिक युगमा पनि पुरूषप्रधान समाज नारीहरूमाथि हावी नै रहेको छ।
आजसम्म पनि नारी र पुरूषमा समानता भन्ने कुरा आउनसकेको छैन। तर समयको गतिसँगै नारीहरूमा अन्तरचेतना जागृत भएपछि समानताका लागि थुप्रै आवाजहरू उठ्न थाल्यो। कालान्तरमा यही दबिएका आवाजहरू नारीवादी आन्दोलनको रूपमा समग्र विश्वभरि नै फैलियो। नारीवादी आन्दोलन विश्वव्यापी रूपमा शुरू भएको एक शताब्दी भइसक्यो। आज कयौं नारीहरूले धेरै कठीन संघर्ष गरेर पुरूषले गर्न नसकेका कामहरू गरेका छन्।
विश्वका धेरै ठाउँमा महिलाहरू पुरूषकै हाराहारीमा आएर शासनभार चलाइरहेका छन। नारीहरू उच्च ओहोदामा हुँदाहुँदै पनि समाजमा धेरै क्षेत्रहरूमा पछि पारिएका छन्। आजको युगमा नारीहरू धेरै शिक्षित भइसकेका छन्, उच्च शिक्षा हासिल गरिसकेका छन्। तरै पनि नारीवादी आन्दोलन अझ पनि चलिरहेकै छ। एउटा परिवारको जिन्दगीमा एउटी नारीको धेरै महत्वपूर्ण जिम्मेदारी हुन्छ। छोरी बिहे भएर गएपछि आफ्नो परिवारलाई त्यागेर अर्काको घरको जिम्मेदारी उठाउनु पर्ने हुन्छ। आफू जन्मिएको घर-आँगनलाई सधैंको लागि त्यागेर पराई घरमा जानुपर्छ। पुरूषले भन्दा एउटी नारीले नै कयौं वेदना-पीडा सहन सक्छिन्। अझ अर्को कुरा डोमेस्टिक भायोलेन्स अर्थात घरेलु हिंसाको शिकार पनि सबैभन्दा बढी नारी नै हुन्छिन्।
वर्तमान समयमा नारीलाई समान रूपमा राखिएको छ भन्ने बहस चर्किरहन्छ। नारी र पुरूष बराबरीमा छ भन्ने कुरा गरिन्छ तरै पनि समाजमा किन हो नारीले मात्रै डर बोकेर हिड्नु पर्छ। आज नारीहरू उच्च ओहोदामा हुँदाहुँदै पनि सामाजिक समस्या झेल्दै जिउनु बाध्य बनेका छन्। नारीहरूलाई न्याय साथै अधिकार दिन सरकारले कानून बनाएको तर आज कयौँ नारीहरु न्यायको निम्ति चित्कार गरिरहेको सुनिन्छ। आज देश विदेशमा भनौं कहिँ पनि नारीहरू सुरक्षित छैनन्। अन्तर्राष्ट्रिय महिला दिवस नारीवादी आन्दोलनको एउटा मूल स्रोत हो। यो आन्दोलन अन्तहीन संघर्ष बनेर महिलाहरूको अधिकार र सुरक्षाका अघि बढिरहेको छ। आज राजनैतिक, प्रशासनिक, शैक्षिक, व्यापारिक, उद्योग, सामाजिक क्षेत्रमा हेर्ने हो भने महिलाहरू मथिल्लो दर्जामा पुगिसकेका छन्। हिजोआज महिलाहरूले ट्याक्सी अटो चलाएर आफ्नो घरपरिवार चलाउन सक्षम भइसकेका छन्। एउटी नारीमा जस्तै ठूलो पीडा पनि सहनसक्ने शक्ति हुन्छ तर, पुरूषको फ्रस्ट्रेशनमा नारी नै पीडित हुनुपर्छ।
आज कतिपय विकृत मानसिकताको कारणले कयौं छोरीहरू बलात्कारको शिकार भइरहेका छन्। यति मात्र होइन बलात्कारपछि नृशंस घृणित किसिमले हत्या गरिन्छ। यस्तो राक्षस प्रवृत्तिको घटनामा कयौं छोरीहरूले ज्यान गुमाउनु परेको छ। अर्को घृणित कार्य हो कुनै वस्तुको रूपमा महिलालाई बिक्री गरिनु। नारीलाई बिक्री गरेर दास बनाएर शारीरिक शोषण गर्ने कार्य उहिल्यैदेखिको हो। अहिलेको युगलाई ग्लोबलाइजेशन भनिन्छ। यसभित्र क्यापिटलिष्ट अर्थात पुञ्जीवादले घेरिन्दै गएको समाजमा अझ महिलाहरूलाई बिक्री गरिने काम विभिन्न किसिमले बढ्दैबढ़दै गएको छ। आज नारीलाई कुनै दैनिक आवश्यक वस्तुको रूपमा बिक्री गरिन्छ। यसरी बिक्री भएका नारीहरू कति भित्रभित्रै अन्तरवेदना जलेर मरिरहेका छन्।
बलात्कारीलाई कानूनले सजाय दिन्छ, तर एउटी बलात्कारको शिकार भएकी केटीलाई हेर्ने समाजको मानसिकता र नजरमा कुनै परिवर्तन हुनसकेको छैनl उसलाई समाजको मूलधारामा ल्याउने क्षमता के समाजसित छ? यसको उत्तर फ्याट्टै दिन सजिलो होला, तर के व्यावहारिक रूपमा आउन सक्छन्? नारी अस्मिता, नारीको स्वतन्त्रता, नारीको अधिकारप्रति प्रश्न उठाउने अनि एउटी नारीको अर्को नारीले बद्ख्वॉंइ गर्ने नारी नै हुन्छिन्। अझ अर्को कुरा के छ भने कतिले गर्भावस्थाको बेलामा छोरा हो की छोरी भन्ने कुरा पत्तो लगाउने कोशिश पनि गर्छन्। यदि छोरी हुन्छ भन्ने पत्तो लागे गर्भ तुहाउने कार्य गरेका घटनाहरू सुनिन्दै आएको छ। यसरी छोरीको भ्रुणहत्या भए मानव समाजमा छोरीको संख्या घटेर जानेछ। यस्तै घटनाहरूका कारणले गर्दा र यसलाई रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरि नै ‘छोरी बचाउ छोरी पढाउ अभियान’ चलाएका छन् भने पश्चिम बङ्गाल राज्यमा मुख्यमन्त्री ममता ब्यानर्जीले छोरीहरुकै सुरक्षाका निम्ति ‘कन्याश्री’, ‘रुपश्री’ योजनाहरु चलाएकी छिन्।
आज विश्वमा कयौं संघर्षशील महिलाहरू छन्। आफ्नो कठीन संघर्षले उनीहरू सफलताको शिखरमा पुग्नसकेका छन्। प्रत्येक संघर्षशील महिलाहरूका लागि उनीहरू प्रेरणा साथै आत्मविश्वासका उर्जा हुन्। हरेक महिलाका हरेक पाइलामा एक एक वटा चुनौती हुन्छ यसैले यसपाली अन्तर्राष्ट्रिय महिला दिवसको थिम रहेको छ ‘इन्भेस्ट वुमेन: एक्सिलरेट प्रोग्रेस’l यसैले आउनुहोस् यस अन्तर्राष्ट्रिय महिला दिवसमा हामी सबै महिला-पुरुष हरेक क्षेत्रमा समानता, सुरक्षा, विकासको संकल्प गरौं अनि हिंसा र अपराधमुक्त समाज, अन्याय र भ्रष्टाचारमुक्त स्वच्छ अनि सुन्दर मानव समाज निर्माण गरौंl