[वसन्त पञ्चमी विशेष] सरस्वती

IMG-20240214-WA0116

भारतकी सरस्वती देवी; मिस्र (इजिप्ट)का नेथ देवी, थोथ देव, सिआ वा साऊ देव, इसिस देव, सेशात देवी; अर्मेनियाका अनाहित देवी र थिर देव; चीनका देवता वेन्चाङ वाङ, कुई जिङ, ज्हुयु जिङजुन, गुवान यू, लु डोङबिन, लाओजी र मञ्जुश्री; ग्रीसका एपोलो देव, अथेना देवी, युरेनस (आकाश) र गाला (धरती)को छोरो सिउस देव; हेट्टीका आस देव; मध्यपूर्वका अल-कुत्बे देव, एन्की देव, नबु देव, निबादा देवी; जापानकी बेनजाइटेन देवी, फुकुरोकुजू देव, कुएबिको देव, ओमोइकाने देव, जेनजिन देव; पर्सिआ (इरान)-का अनाहित देवी, अहुर माज्दा देव, चिस्त देवी; रोमका इगेलिआ परी, फ्याबुलिनस देव, मिनेरवा देवी, प्रोविदेन्सिआ देवी, नेप्चुन देव आदि ज्ञान र विद्यासित सम्बन्धित देवी-देवताहरू हुन्।

भारतकी सरस्वती सर्वविद्याकी देवी मानिन्छन्। साहित्य, संगीत, चित्रजस्ता ललितकला, काष्ठ, धातु, प्रस्तरका उपयोगीकलाका साथै सबै शास्त्रकी एउटै देवी सरस्वती मानिन्छ तर माथि उल्लेख गरिएका देव-देवी ज्ञानका विभिन्न अनुशासन वा विभाग सह्माल्नेहरू छन्– कसैले सैनिकशास्त्र, कसैले नीरक्षीरविद्या, कसैले खगोलविद्या, कसैले सिलाइबुनाइ, कसैले साहित्य, कसैले तरुण, कसैले नानी, कसैले सृष्टि र के-के सह्माल्ने दायित्व निर्वाह गरेका हुँदछन्। हेर्दैजाँदा एजटेक, क्यारेबियन, केल्टिक, एट्रुस, मुस्का, लोकोटा, नोर्स, पोलिनेसिआ, स्ल्याभिक, तुर्क-मङ्गोल, अफ्रिकाका मिथकहरूमा पनि विद्याका देव-देवी भेटिन्छन्। संस्थानीकृत स्थापित धर्मसम्प्रदाय बनिनुभन्दाअघि जनजातीय समाजमा प्रकृतिका विभिन्न तत्त्वहरूका देव-देवीजस्तै विद्याका देव-देवीहरू पनि भग्रेल्तै थिए। ईसाको चौथो शताब्दीदेखि युरोपमा ईसाई र सातौँ शताब्दीदेखि मध्यपूर्वमा ईस्लामको प्रभुत्व बढेपछि यी देवदेवीको महत्त्व न्यून हुँदै विस्मृत बनिसके। यस्तोमा पनि भारतकी सरस्वती अद्यापि पूजनीया छिन्।

नेपाल नगर बसाउने चीनका देवता मञ्जुश्रीलाई महायान र वज्रयान बौद्धले भारत, नेपाल, भोटाङमा वाग्देवताकै रूपमा मानिआएका छन्। मञ्जुश्रीको संस्कृत नाम बोधिसत्त्व हो। मीठो स्वरका धनी मानेर कसैले मञ्जुघोष पनि भनेका छन् अनि बोलीका देवता मानेर वागीश्वर पनि भनेका छन्। मञ्जुश्रीलाई चीनिञाहरू वेन-शु शिः-लि भन्दछन् भने जापानीहरू मोन्जु तिब्बतीहरू ’जाम्-द्पाल भन्दछन्। प्रज्ञासित सम्बन्धित मञ्जुश्रीका कतिपय मन्त्र क्रियातन्त्रमा पनि पाइन्छ। क्रियातन्त्रमा मञ्जुश्रीमूलकल्प र मञ्जुश्रीनामसङ्गति पाठ पनि पाइन्छ। शैवतन्त्र, गरुडतन्त्र र वैष्णवतन्त्रमा पनि मञ्जुश्री सम्पूज्य छन्। तिब्बती बौद्धहरूको एउटा तान्त्रिक शाखा गेलुङले यिनलाई यमान्तक अर्थात् कालदेव यमलाई निरस्त गर्नसक्ने देवता मान्दछन् भने वज्रयानीहरू यिनलाई बुद्धत्वका प्रेरक यिदम पनि भन्दछन्।

बोधिसत्व मञ्जुश्री लौकिक रूप लिई चीनको पाँच चुचुरे पाहाड़ वुताइशानबाट जलमग्न काठमाडौँ उपत्यका आएर आफ्नो दिव्य तरवारले चोभार काटीकन नेपाल देश बसालेर कमल रोपिएको ठाउँमा स्वयम्भू स्थापना गरेको मानिन्छ। नेपाल जलाशयमा कमलवीज रोपेर हुर्काउने अलौकिक बुद्धहरू त शिखिबुद्ध, विश्ववीबुद्ध र विवश्वीबुद्ध थिए। क्रकुछन्द बुद्ध र मञ्जुश्रीलाई चाहिँ लौकिक बुद्ध मानिन्छ। यिनै मञ्जुश्री प्रज्ञापारमिता अर्थात् ज्ञानरक्षक मानिए। हिन्दूकी सरस्वतीबारे ऋग्वेद २.४१.१६-ले ‘अम्बितमे नदीतमे देवितमे सरस्वति’ अर्थात् विशिष्ट माता, श्रेष्ठ नदी, उत्तम देवी सरस्वती [हामी अज्ञानीलाई ज्ञान देऊ] भनेको पाइन्छl सरस्वतीको शाब्दिक अर्थ हो – सार (essence) + स्व (oneself)= आफ्नै सार [essence of oneself]। स्वत: सरती = सरस्वती अर्थात् आफै सर्ने। आफै सर्ने के हो? ज्ञान हो। जति दियो उति बढ्ने के हो? ज्ञान हो। एउटा सुभाषित यस्तो छ–

अपूर्व कोsपि कोशोsयं विद्यते तव भारती।

व्ययतो वृद्धिमायाति क्षयमायाति सञ्चयात् ।।

अर्थात् हे भारती सरस्वती! तिम्रो कोष अद्भुत छ, यसलाई बाँड़े अझ बढ्दछ, सञ्चय गरेमा घट्दछ। अर्को अर्थमा ‘सरस्वती’ भनेको पखालेर सफा पार्ने पानी पनि हो। जसले शुद्ध गर्दछ त्यो सरस्वती हो। वच(न)ले शुद्ध गर्दछ; ज्ञानले शुद्ध गर्दछ; देवी जसले ज्ञान, कला, संगीत, लय, स्वरमाधुर्य, भाषा, बोली, पटुता, सृजन, चालचलन, विचार, मन शुद्ध गर्दछिन्l वेदमा उल्लेख भएको एउटा नदीको नामै सरस्वती छ। त्यो पुण्यतोया अर्थात् पवित्र पानी भएको नदी ऋग्वेदमा चालीसपल्ट जति उल्लेख भएको कुरा वेदविज्ञहरूले गरेका छन्। ऋग्वेदमा सरस्वती नदी अन्नवती तथा उदकवतीका रूपमा वर्णन गरिएको छ भनिन्छ। यो नदी सर्वदा जलले भरिएको हुन्थ्यो अनि यस नदीका दुई तटमा प्रचुर अन्न उत्पादन हुन्थे। यो नदी हिमाचलमा सिरमौरराज्यको पर्वतीय भागबाट निस्केर अम्बाला तथा कुरुक्षेत्र, कैथल हुँदै पटियाला राज्यमा प्रविष्ट भएर सिरसा जनपदको दृशद्वती (काङ्गार) नदीमा मिल्दथ्यो भन्ने मान्नेहरू पनि छन्। कति विद्वानहरूको भनाइअनुसार यसको उद्गम मीरपुर पर्वतबाट भएर बीकानेरमा विलुप्त भएको थियो। अर्को धारणाअनुसार पटियालाको वर्तमान सुरसुति नै अदृश्य भएर प्रयागमा आएर गङ्गा-यमुनामा मिलेको थियो। कति विद्वान्हरूले बदरी क्षेत्रबाट निस्कने र आज पनि सरस्वती नामले चिनिने नदीसित पनि यसको एकता स्थापित गर्नखोजेका पाइन्छ।

विद्याकी देवी भनेर भारतका विभिन्न जातिले सरस्वती मानिआएका छन्। तेलुगूमा सरस्वतीलाई चाडुवुल थल्ली र शारदा भनिन्छ भने कन्नडमा शारदे, शारदम्मा, वाणी, वीणापाणि भनिएको पाइन्छ। कोङ्कणीमा पनि शारदा, वीणापाणि, पुस्तकधारिणी, वीणावादिनी भनिन्छ। तमिलमा कलाइमगल, नामगल, कलइवाणी, वाणी र भारती नामले सरस्वतीलाई मान्दछन्। महाभारतको शान्ति पर्वमा सरस्वतीलाई वेदमाता भनी सम्बोधन गरिएको पाइन्छ। पुराणहरूमा सरस्वतीलाई कतै ब्रह्माका पत्नी मानेको छ भने कतै ब्रह्माकी छोरी। ब्रह्मा र सरस्वतीलाई वाग्देव र वाग्देवी भनेको प्रसङ्ग धेरै पाइन्छ अर्थात् वाक् वा वाणीका देव र देवी। जुन रूपमा भए पनि विद्या वा ज्ञानलाई मानवीकरण गरी नारी रूपमा चित्रित गर्दा सरस्वतीको प्रतिमा बनेको हो। मूर्तिकारले कविताको वर्णन पढ्दै अमूर्त ज्ञानलाई मूर्त रूप दिने हुँदा सरस्वतीको मूर्ति बनिन्छ। पूजा गरिने मूर्तिलाई प्रतिमा भनिन्छ। एउटा प्रसिद्ध कविताले सरस्वतीलाई यसरी स्तुति गरेको पाइन्छ–

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।

या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥

या ब्रह्माच्युत शङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता।

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥१॥

शुक्लां ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्।

वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌॥

हस्ते स्फटिकमालिकां विदधतीम् पद्मासने संस्थिताम्‌।

वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥२॥

अर्थात् विद्याकी देवी भगवती सरस्वती चमेली फूल, चन्द्रमा, हिउँ अनि मोतीको मालाजस्तै धवल (सेतो) वर्णकी छन् अनि जो सेतो लुगा लगाएकी हुन्छिन्, जसको हातमा वीणा-दण्ड (सोँठा) शोभायमान छ, जो सेतो कमलमा बसेकी छन् तथा ब्रह्मा, विष्णु एवं शङ्कर आदि देवताद्वारा सधैँ पूजित छिन्, उनै सम्पूर्ण जड़ता र अज्ञान हटाइदिने आमा सरस्वतीले हामीलाई रक्षा गरून्।१।

जसको रूप गोरो छ, जो ब्रह्मविचारकी परम तत्त्व हुन्, जो सबै संसारमा फैलिएकी छन्, जसले हातमा वीणा र पुस्तक राखिरहेकी हुन्छिन्, अभय दिइरहन्छिन्, मूर्खतारूपी अन्धकार भगाइदिन्छिन्, हातमा स्फटिकमणि (सिसा / काँच / क्रिस्टल)-को माला समातेकी हुन्छिन्, कमलको आसनमा विराजमान हुन्छिन्, बुद्धि दिन्छिन्, उनै आद्या परमेश्वरी भगवती सरस्वतीलाई म वन्दना गर्दछु।२।

ज्ञान ग्रन्थबाट पाइने हुँदा ग्रन्थलाई नै सरस्वती भनिएको पनि हो किनभने ग्रन्थमा ज्ञान सञ्चित हुँदछ। ग्रन्थ भनेको पुस्तक वा पोथी हो। पोथीका पृष्ठ वा पत्र समान्यतः सेता हुन्छन्। त्यही नै सरस्वतीको गोरो रूप हो। माला भन्नु पङ्क्ति हुन्। पङ्क्ति र पदमा लेखिएका कुरा छन्दोबद्ध हुनाले पढ्दा वीणा बजेको जस्तो हुँदछ। पुस्तक घरमै भए पनि पुस्तकका ज्ञानले सांसारिक मेला-झमेलादेखि मुक्त राख्दछ– हिलामै भए पनि कमलदल हिलादेखि माथि हुँदछ। कमलमा सरस्वती बस्नु भनेको लोकमै भएर पनि अलौकिक शक्तिले सम्पन्न हुनु हो। राजाहाँस भनेको पुस्तक र पुस्तकका आवरण हुन्, आवरणलाई पखेटा ठाने पुस्तक त्यसैमा उड़िरहेको हुँदछ। सरस्वतीको राजाहाँसले नीर-क्षीर भेद गर्दछ अर्थात् दूधको दूध पानीको पानी छुट्याउने शक्तिले युक्त। राजाहाँसले नीर र क्षीर अर्थात् पानी र दूध छुट्याएजस्तै विवेकले सत्य र असत्य, राम्रो र नराम्रो छुट्याउँदछ।

ज्ञानकी प्रतीक सरस्वतीको मूर्तिबाट के शिक्षा प्राप्त हुँदछ भन्ने कुरालाई संक्षेपमा यसरी बुझौँ-

निर्मल शुभ्रमुख- चोखो सेतो उज्यालो (शुभ्र) अनुहार ज्ञानको प्रकाशमान स्वरूपको प्रतीक हो। उनको मुख करोड़ोँ चन्द्रमा र सूर्यले रचित मनिएको छ। घामले दिनको अन्धकार हटाइदिँदछ भने जूनले रातको अन्धकार भगाइदिँदछ तर ज्ञानको प्रकाशद्वारा करोड़ौँ जन्मका अज्ञान-अन्धकार हटेको हुँदछ। सेता पत्रदल नै गोरो अनुहार हो। सेतो देखिने पुस्तककै हो।

शिरमा अर्धचन्द् – चन्द्रमाको किरणले जसरी शीतलता प्रदान प्रदान गर्दछ, उसरी नै संसाररूपी आगोमा जलिरहेका प्राणीहरूलाई ज्ञानरूपी चन्द्रिकाले शीतलता प्रदान गर्दछ।

चार हात- सरस्वतीका चार हात प्रथमानुयोग, करणानुयोग, चरणानुयोग, द्रव्यानुयोग गरी चार अनुयोगका प्रतीक हुन्। चारै दिशाबाट ज्ञान ग्रहण र प्रचार गरिनु चार हात हुन्।

कमण्डलु- सरस्वतीको एक हातमा कमण्डलु छ । कमण्डलु अपरिग्रह (चाहिनेभन्दा धेर नलिने)-को प्रतीक हो। पाइहालेर कमण्डलुभन्दा धेर भइहाले अरूका लागि राख्नुपर्छ । (पश्चिमले यसको महत्त्व बीसौँ शताब्दीमा बल्ल बुझ्यो तब कार्ल माक्सले ‘थ्योरी अब् सर्प्लस भेल्यु’ बनाए ।)

अंकुश- सरस्वतीको हातमा भएको अंकुशले स्वच्छन्द आचरण छाड़ेर आत्मानुशासनको शिक्षा दिँदछ। निरङ्कुश नहुने तर अनुशासित हुने कुरा अंकुशेले सिकाएको हुन्छ।

पुस्तक- सरस्वतीको हातमा भएको पुस्तकचाहिँ ज्ञानको प्रतीक हो। ज्ञान पाए मनको मैला सफा हुन्छ, यश र कीर्ति बढ्दछ, धर्म चिन्दछ, पुण्य प्रकाशित हुँदछ अनि पापको भागी हुँदैन।

अक्षमाला- सरस्वतीको गलामा सेतो अक्षमाला (हार) देखिन्छ। मालामा १०८ दाना हुन्छन्। १+०+८=९ । ९-लाई पूर्ण वा ब्रह्म सङ्ख्या मानिन्छ। ९-लाई जति भाग गरे पनि ९ नै हुन्छ, जस्तै ९x२=१८ : १+८=९, ९x३=२७ : २+७=९, ९x४=३६ : ३+६=९ …। पूर्ण परमात्माबाट उत्पन्न जीवात्मा पनि पूर्ण नै हो भन्ने प्रतीक १०८ अङ्क हो। मनोविज्ञानले मनुष्यमा जम्मा १०८ भावना हुन्छ भन्दछ– अतीतसित सम्बन्धित ३६, वर्तमानसित सम्बन्धित ३६ र भविष्यसित सम्बन्धित ३६ भावना हुन्छन् भन्छन्। बौद्ध धर्मले चाहिँ १०८ गुण विकास गर्ने अनि १०८ अवगुणबाट जोगिने निदेशन दिँदछ।

वीणा- वीणा दिव्यध्वनिको प्रतीक हो। ज्ञानलाई सुन्नमा मीठो लाग्ने बनाउनुपर्ने। सुरमय ढङ्गले ज्ञान प्रचार गर्नु।

केयूर अर्थात् भुजभूषण- केयूर भनेको बाईँ हो। यसलाई हातको शोभा मानिन्छ। हातको वास्तविक शोभा दान हो भनिन्छ। यसकारण बाईँ लाउनु भनेको दानवीर हुनु हो। सरस्वतीले जस्तै सरस्वती मान्नेले ज्ञानका उपकरण शास्त्रादि र सद्विचार दान गरेमा हातको शोभा बढ्दछ।

मणिकुण्डल- मणिकुण्डल वा कर्णफूली धारण गरे कानको शोभा बढ्दछ। वास्तवमा कानको शोभा भनेको राम्रा कुरा सुन्नु हो। ज्ञानीका कुरा सुनेर मान्नू भनिएको हो।

मुद्रिका- मुद्रिका भनेको औँठी हो। औँठी भारतीय साहित्यमा प्रेमको प्रतीक हो। रामले हनुमानको हातमा सीतालाई स्वनाम अङ्कित मुद्रिका पठाएको, कालिदासको अभिज्ञानशाकुन्तलमा दुष्यन्तले प्रथम मिलनको अवसरमा शकुन्तलालाई आफ्नो नाम खिपेको औँठी लगाइदिएको तर औँठी हराएर समस्या भएको अनि औँठी पाएर मिलेको कथा छ। औँठी भनेको प्रेम हो। सरस्वतीको मुद्रिकाले ज्ञानसित प्रेम गर्नु सिकाउँदछ।

काँची वा कर्धनी वा पटुकी- काँची अर्थात् पटुकी कमर अर्थात् मध्यमा स्थित रहेर अधोवस्त्र (तलको) र ऊपरी (माथिको) वस्त्र धारण गर्नमा सहायिका हुँदछ। ज्ञानका कुरामा सम्झौता गर्ने, अत: काँची माध्यस्थ भावको द्योतक हो। यो बुद्धको अर्द्ध निमिलित आँखाजस्तै हो। बिचमा रहेर अर्थात् मध्यममार्गी भएर तटस्थ चिन्तन गर्ने निदेशन हो।

हंसवाहन- सरस्वतीको वाहन हाँस हो। हंस नीरक्षीर विवेकका लागि प्रसिद्ध छ। हाँसले नीर-क्षीर विवेक राखेजस्तै सरस्वतीलाई धारण गर्ने व्यक्ति भेदविज्ञानी हुँदछ। भेद विज्ञानको महिमाबारे यसो भनिएको छ-

भेदविज्ञानत: सिद्धा: सिद्धा: ये किल केचन।

तस्यैवाभावतो बद्धा: बद्धा: ये किल केचन।।

जो पनि सिद्ध भए, ती भेदविज्ञानबाट नै सिद्ध भए। जो पनि बद्ध छन्, ती भेदविज्ञानको अभावले नै बद्ध छन्।

शोभायमान मञ्जरीले रञ्जित चरण कम – मञ्जरी (कोपिला) निकट समयमै फलप्राप्तिको सूचक भएजस्तै सरस्वतीका चरण जहाँ विराजमान हुँदछ, त्यस जीवलाई कैवल्य अर्थात् मोक्षरूपी फल समयमै सुलभ हुँदछ।

कालो घँघुरिएका केश- कालो मेघ भयङ्कर भएजस्तै सरस्वतीका काला घुँघुरिएका केश संसारलाई भय देखाउने पनि हुन्छ। सरस्वतीका केश देखेर संवेगको भावना विकसित हुँदछ।

हस्ति समानयान- हात्ती जसरी मदमस्त चालमा हिँड्दछ, उसरी नै ज्ञान पथमा हिँड़्ने साधक ढुक्कले हिँड़्दछ। अत: सरस्वतीलाई गजगामिनी वा हस्ति समानयान भनिएको छ।

वाणीश्वरी- सरस्वतीलाई वागीश्वरी अर्थात् वाणी वा भाषाकी देवी मानिन्छ। कालिदासले रघुवंशको थालनीमै भनेका छन्– ‘वागार्थाविव सम्पृक्तौ’ अर्थात् वाणी र अर्थ (शब्द र अर्थ)लाई सिद्धि गर्नाका लागि (‘वागर्थप्रतिपत्तये’) म वन्दना गर्दछु।

मुकुट अर्थात् श्रीपेच- मुकुट समस्त आभूषणमा प्रधान भएजस्तै सरस्वतीलाई धारण गर्नु सबैका लागि मुकुट धारण गर्नुजस्तै प्रधान हो। यसले सर्वाङ्ग विभूषित गर्दछ।

मञ्जीरा, कङ्कण तथा किङ्कणी (मजिरा, बाला, कल्ली, सानो घुँघुर)- यी तीनले मनोहर ध्वनि उत्पन्न गर्दछन्। सरस्वतीको वास जहाँ हुन्छ, उसको वाणी मनोहर ध्वनि बन्दछ। प्रेमको वाणी जनजनले आ-आफ्ना भाषामा बुझ्दछन्।

समस्त कलाधिनाथ- कुनै पनि कार्य कुशलतापूर्वक गर्नु कला हो। जसको हृदयमा सरस्वती हुन्छिन्, त्यो व्यक्ति समस्त कलामा अग्रगामी बनेको हुँदछ।

पूर्णेन्द्र बिम्ब रुचि शोभित दिव्यगात्र- सरस्वतीको शरीर पूर्णचन्द्रको कान्तिसमान शोभित छ। जसको शरीरमा ज्ञानरूपी लक्ष्मीको वास हुँदछ, उसको शरीर दिव्य बनेको हुँदछ।

मृगशावक ललाट नेत्र- मृगशावक अर्थात् मिर्गको पाठोका आँखा निष्कलुष र सजग भएजस्तै सरस्वतीको वाणी धारकको टाउको सिधा र आँखा शान्त र सजग हुँदछ।

कामरूपिणी- ज्ञान विकास गर्नेका अनेक ऋद्धि स्वत: विकसित भएको हुँदछ। ऋद्धि प्रकट भएमा इच्छानुसार रूप बनाउन पनि सक्ने हुँदछ अर्थात् सबै काममा तत्पर र सक्षम हुँदछ। यसको अर्थ हो सरस्वतीको प्रसादले समस्त कामना पूर्ण हुँदछ। अचेलको समाजशास्त्र र अर्थशास्त्रले ‘नलेज पावर युटिलाइजेशन’ भनेको यही हो।

समस्तवृन्द पूजित- पूजा सत्कारलाई भनिन्छ। वागीश्वरीलाई सबैले पूजा गर्दछन्, किनभने उनी जगन्माता हुन्। अखिल विश्व नै शब्दमय छ। शब्ददेखि बाहिर केही छैन। वाग्ब्रह्म र नादब्रह्म सरस्वतीबाटै सञ्चालित छ भनेको यही हो।

मयूरवाहन- सरस्वतीको वाहन मजुर पनि देखाइएको हुँदछ। मजुर आउँदा साँप आफै शिथिल भएजस्तै सरस्वतीको समीपतामा दुष्टकर्म आफै शिथिल हुँदछ।

शरद् ऋतु मनपराउने भएर सरस्वतीलाई शारदा पनि भनिएको छ। वसन्त ऋतु र शरद् ऋतुमा प्रकृति नातिशीतोष्ण हुने हुनाले ज्ञानको उपासनाका लागि अनुकूल ठहरिएको मानिन्छ। जाड़ो र गर्मी बराबर ठान्ने शक्ति ज्ञानले दिने हुनाले ज्ञानलाई उत्सवी ऋतुसित तुलना गरिँदछ। ज्ञान वा प्रज्ञा वा विद्या नै सरस्वती हुन्। अमूर्त ज्ञान वा प्रज्ञा वा विद्यालाई मूर्त रूप दिँदा सरस्वतीको मूर्ति बनिएको हो। यहाँ नेपाली जनश्रुतिको उल्लेख पनि गरौँ- तान्त्रिकहरूले मान्ने दशमहाविद्या अर्थात् महान् विद्यारूपी देवी छन्। महाविद्या, देवी पार्वतीका दस रूपलाई अधिकांश तान्त्रिक साधकहरूद्वारा पुजिने गरिन्छ तर साधारण भक्तलाई पनि अचूक सिद्धि प्रदान गर्दछिन् भनिन्छ। यी दस महाविद्यालाई नामै दिइएको पाइन्छ। यी दसै महाविद्या आदि शक्ति माता पार्वतीका रूप ठानिएको छ। दस महाविद्या विभिन्न दिशाका अधिष्ठातृ शक्ति हुन्। भगवती काली र तारा देवी- उत्तर दिशाका, श्रीविद्या (षोडशी-त्रिपुर सुन्दरी) ईशान दिशाकी, देवी भुवनेश्वरी पश्चिम दिशाकी, श्रीत्रिपुर भैरवी दक्षिण दिशाकी, माता छिन्नमस्ता पूर्व दिशाकी, भगवती धूमावती पूर्व दिशाकी, माता बगला (बगलामुखी) दक्षिण दिशाकी, भगवती मातङ्गी वायव्य दिशाकी तथा माता श्रीकमला नैऋत्य दिशाकी अधिष्ठातृ हुन्। काठमाडौँको भक्तपुर भीमसेनस्थानमा भएको नील तारालाई सरस्वती भनिन्छ। एघारौँ शताब्दीमा तिब्बतबाट मिलारेपा आउँदा राजाका अतिथि बने अनि फर्कने बेलामा तिब्बतबाट नील तारा आउने सङ्केत दिए भनिन्छ। पछि साँच्चै राजाले सपनामा मिलारेपा देखे। मिलारेपाले नील देवी आएको सूचना दिए। तिब्बत जाने द्वार ह्लासापामा नील देवता आएको थाहा पाएपछि वसन्त पञ्चमीको साइत पारेर भीमसेनथानमा राखिदिए। सबै कुरा जान्ने ज्ञाता देवी ‘सस्युमह द्य:’ भएको ठानी ससुद्य: भन्नथाले। तिब्बतबाट आउँदा थाकेको ठानी ससुद्य:लाई तेल पनि लगाइदिने गरिन्छ। ससुद्य:लाई नेवारी सरस्वती मानेको पनि बुझिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *