बालकृष्ण सम

IMG-20240212-WA0095

बालकृष्ण सम (८ फरवरी १९०३ – २० जून १९८१)को पूरा नाम बालकृष्ण शमशेर जङ्गबहादुर राणा थियो। यिनी डम्बर शमशेरका नाति तथा समर शमशेरका छोरा थिए। यिनकी आमाको नाम कीर्तिराज्यलक्ष्मी हो। २१ वर्षका हुँदा यिनको बिहा मन्दाकिनीसित भयो। त्रिभुवन पुरस्कार र पृथ्वी प्रज्ञा पुरस्कार लब्ध सम नेपाली साहित्यका त्रिरत्नमध्य एकजना हुन्। नेपाली साहित्यका विभिन्न विधामा अवदान दिएका भए तापनि यिनी नाट्यसम्राट् भनि धेर प्रतिष्ठित छन्। साहित्यकारसँगै यिनी दार्शनिक, चिन्तक, चित्रकार, छायाकार, अभिनेता र मानवताका प्रवक्ता थिए। त्रिचन्द्र कलेजमा यिनी नेपाली विषयका प्राध्यापक पनि रहेका थिए भने १९५५ मा रेडियो नेपालका निदेशक र गोर्खापत्रका प्रधान सम्पादक बने। १९६७ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य र कालान्तरमा उपकुलपति पनि बनेका थिए।

१९२९ मा मुटुको व्यथा वियोगान्त नाटकबाट नाट्यया६ आरम्भ गर्ने समले पौराणिक, ऐतिहासिक र सामाजिक अनेक नाटक लेखे। मुकुन्द इन्दिरा र र प्रह्लाद यिनका विशिष्ट नाटक मानिन्छन्। आगो र पानी खण्डकाव्य र चिसो चूह्लो महाकाव्य गरी दुइ प्रबन्धकाव्य रचेका छन्। नेपाली ललितकला, हाम्रा राष्ट्रिय विभूतिहरू ग्रन्थमा ज्ञानका अद्भुत कुराहरू समेटिएका छन्। आफ्नो साहित्यिक यात्राबारे मेरो कविताको आराधन ग्रन्थमा सविस्तार विवरण दिएका छन्। यिनका फुटकर कविताहरू बालकृष्ण समका कवितामा समेटिएका छन्। यिनी आधुनिक कालका अग्रणी कथाकार र निबन्धकार पनि हुन्। जीवनको तरुण अवस्थामा सेनामा यिनी राणाहरूको कप्तान पनि भए। व्यायामका प्रशिक्षक भई राणाहरूमाझ पनि रहे अर्थात् शस्त्राभ्यासका प्रशिक्षक रहे। राणाहरूकै माझ रही यिनले उच्च शिक्षा लिन र कविताको आराधन गर्न भने छाडेनन् । निरन्तर रूपमा यसमा लागिरहे। यिनले आईएआईएस्सीसम्मका उच्च शिक्षा अध्ययन गरेका थिए। यिनमा सैनिकको भावनाभन्दा सरस्वती, विद्या र कविताको भावना प्रबल रूपमा थियो। यसको साधनामा नै निरन्तर रूपमा लागि परिरहे।

यिनले राष्ट्रिय अन्तर्राष्ट्रिय पत्र-पत्रिकाहरू राजप्रासादमा पढ्ने अवसर पाएका थिए। त्यस समय राणाहरूले जनमानसमा शिक्षाको प्रचार-प्रसारमा रोक लगाए तापनि भित्री रूपमा राणाहरू शिक्षाप्रेमी थिए। यिनीहरू राष्ट्रिय अन्ताराष्ट्रिय कुरामा चासो राख्दथे। राणाहरू त्यस समय बेलायतबाट प्रकाशित हुने पत्रिका स्टेट्सम्यान खोजिखोजी पढ्दथे। बालकृष्णले पनि त्यही अङ्ग्रेजी पत्रिका पढ्ने गर्थे। बिस्तारै बालकृष्णमा पश्चिमी भाषा साहित्यबारे चासो बढ्न थाल्यो। यिनले फलस्वरूप पाश्चात्य भाषा, पाश्चात्य साहित्य, धर्म र दर्शन अध्ययन गर्न थाले। यिनले ज्ञानार्जन गर्नमा समय बिताए। यिनले मेरो कविताको आराधन ग्रन्थमा शेक्सपियरलाई बुझ्न शब्दकोश राखी अध्ययन गरे भन्ने कुरो गरेका छन्।  यिनी राज परिवारमा जन्मे तापनि भोग-विलास र आरामपूर्ण जीवन त्यागी साहित्यको अध्ययनमा नै समय बिताए। यिनमा देशभक्ति पूर्ण रूपमा थियो। देशकै लागि केही गर्नुपर्छ, लड्नुपर्छ, मर्नुपर्छ भन्ने भावना थियो। देशको परिस्थितिसित यिनी रामरी परिचित थिए। यसर्थ देशमा भएका परिवर्तनकारी जनक्रान्तिले पनि यिनलाई ठूलो प्रभाव पार्यो। यिनी सम्पूर्ण रूपमा होमिए। २००७ साल अर्थात् इ. १९५० मा नेपालमा जनक्रान्ति आयो। यस क्रान्तिले यिनलाई समानताका पक्षधर बनाए।

क्रान्तिकालमा यिनी राणाहरूकै षड्यन्त्रमा परे। छोरो जनार्दन शमशेरसित यिनलाई पक्राउ परी कारावासमा राखियो । यिनीसँग कारावासमा हुने धेरै सामान्यजनहरू पनि थिए। यसमध्ये बालकृष्णका प्रिय निकटवर्ती समर्थक र सहयोगी न्हुच्छेमान नेवार कारावास परेका थिए।  बालकृष्ण र छोरो जनार्दन शमशेर दुई दिनमा नै छुटे तर अन्य कतिपय समर्थकहरूलाई भने राणाहरूले देश विरोधी भनी बन्दी बनाए। बन्दी हुनेमा एकजना समर्थक न्हुच्छेमान थिए। धेरै दिन बितेपछि कतिपय बन्दी भएकाहरूलाई मुक्त गरिदिए। कतिपय बन्दीहरूको मृत्यु कारावासमै भए। मृत्यु हुनेमा एकजना न्हुच्छेमान पनि थिए। न्हुच्छेमानको यो असहायपूर्ण मृत्युवरणमा राणाहरू नै दोषी मानिन्छ। कारावासमा पर्ने र अस्वस्थ हुनेहरूलाई सही उपचार थिएन। भोजनको व्यवस्था राम्रो थिएन। देशकै निम्ति परिवर्तन चाहनेहरूलाई यसरी मृत्यु दण्ड दिँइदा राणाहरूलाई कुनै त्यस्तो प्रभाव नै परेन। यस घटानले बालकृष्णलाई मात्र ठूलो प्रभाव पार्‍यो। न्हुच्छेमान र सहयोगीहरूका मुत्युमा राणाहरू मूक दर्शक भइरहँदा आफूले केही गर्नसक्ने क्षमता भएर पनि गर्न नपाउँदा, सही उपचार पुऱ्याउन नसक्दा यिनलाई आफू राणाहरूकै सन्तान र खलक हुन परेकोमा घृणा लोगेर आयो। यिनी दुःखी भए। असहायप्रति सहानुभाव राखे। यसर्थ सोझा जनमानसले यसरी अनाहकमा ज्यान गुमाउन परेका घटनाले सोच्न बाध्य भए। यस घटनाबाट बालकृष्ण शमशेरले आफ्नो नामबाट शेर  शब्द सधैँका लागि उच्छेद गरिदिए। अबोप्रान्त बालकृष्ण शमशेरबाट सम भए। समानताका पक्षधर भए।

सामन्तवादी राणाहरूझैँ नमानी यिनले आफैलाई सर्वसाधारण नागरिक मान्न थाले। बालकृष्ण सम भएर यिनले राणाहरूको ज्यू, हजुरी, स्वस्ति, ढोग गर्ने मुसलमानी प्रथा र परम्परालाई पनि निरस्त गरिदिए  समले दुई हात जोडी नमस्ते गर्न थाले। नेपाली भादगाउँले टोपी लगाउन थाले। यहीँबाट नेपालीभाषीको भदगाउँले टोपी शिरको सामान्य पहिरन हुन थाल्यो। नेपाली टोपी आज पनि शिरको शोभा मानिन्छ। यिनलाई नेपाली साहित्यमा पनि बालकृष्ण सम भनेर चिनिन्छन्। यिनी त्यही बालकृष्ण सम हुन्, जसलाई नेपाली साहित्यका त्रिरत्नमध्ये एउटा विशेष रत्न मानिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *