‘चक्रव्यूहमा गोर्खा’ लोकार्पित हुने

IMG-20240204-WA0253.jpg

गान्तोक: गोर्खाल्याण्ड आन्दोलनको ऐतिहासक तथ्याङ्कनसहित दार्जीलिङ निवासी भोटूसिंह छेत्रीद्वारा लेखिएको ६०० पृष्ठको वृहत् ग्रन्थ ‘चक्रव्यूहमा गोर्खा’ फरवरी २०२४-देखि बजारमा आउने जानकारी बुकएण्टले दिएको छ।
विगतमा गरिएको गोर्खाल्याण्ड आन्दोलनमा १२ सयभन्दा बढ़ी शहीद र सयौँ पहाड़वासी बेपत्ता भएर पनि अद्यावधि टुङ्गो नलागेको गोर्खाहरूको राजनीतिक चिह्नारी गोर्खाल्याण्ड आन्दोलनको मुद्दालाई किताबले सम्बोधन गरेको छ। लेखकले ब्रिटिशकालमै हिलमेन्स एसोसिएशनले चालेको चिह्नारीको पाइला प्रान्त परिषद् हुँदै गोरामुमो, गोजमुमोको पहलमा आएर अड़्किएको वृतान्त दिँदै भारत-नेपाल शान्ति एवं मैत्री सन्धि, १९५०-को वितर्कित धारा ७, ‘रेसिप्रोकल’-को तर्क उठाउँदै भारतीय गणराज्यभित्र गोर्खा परिचयको शङ्खनाद गर्ने सुवास घिसिङको राजनीतिक उत्थान-पतनको विस्तृत लेखाजोखा गरेका छन्। २२ अगस्त, १९८८-मा घिसिङले ‘ड्रप’ गरेको आन्दोलनले विमल गुरुङहरूको नेतृत्वको टेको पाएपछि गुरुङ पनि घिसिङले थापेको दागोपापको ‘प्रो-भर्सन’ जीटीए थापेर आन्दोलनदेखि विमुख भएको उल्लेख गर्न भ्याएका छन्।
चार खण्डमा लेखिएको यस महत् ग्रन्थमा एकातिर, कङ्ग्रेसी इन्द्रजीत खुल्लरहरूको झुक्याइको क्रमबद्ध चर्चा छ भने अर्कोतिर, भाजपाले निरन्तर लोकसभा सांसद आसन सुनिश्चित गर्न कसरी केन्द्रिय राजनीतिको क्याल्कुलेटिभ म्यानुपुलेशनको अङ्कुशे गोर्खा समुदायमाथि हालेको छ, त्यसको समेत विमर्श गरेका छन्। लेखकले यस कृतिमा डा. विधानचन्द्र रायको पालादेखि चलेको ‘पपुलेशन-गेम’ अन्तर्गत गोर्खे समुदायलाई अल्पसङ्ख्यक पार्ने राज्य-प्रायोजित कुचक्र रहेको दस्तावेजसहित प्रमाण गरेका छन्। किताबको निष्कर्षमा पहाड़का गाउँबस्तीमा होम-स्टेको निहुँमा हतारिएर थोपिएको होटल-रेसर्ट अभियान, चियाकमानमा हुलिएको टी-टुरिज्म-ले कसरी गोर्खा समाज अल्पसङ्ख्यक बन्दै जाने र गोर्खा पहिचानको मुद्दा कसरी सङ्कटतिर धकेलिने सम्भावना चुलिएको छ भन्ने अड़ान राखेका छन्।
बुकएण्टको पक्षमा निर्देशक सुरज गुरुङले बताएअनुसार विरलकोटिको दस्तावेजीकरणले कृति तार्किक रूपले बलियो भएको छ। आन्दोलकालमा लेखकको आफ्नै साक्षात् अनुभवहरूको विवरणले कृतिको सत्यापन भएको छ।
गोर्खाल्याण्ड आन्दोलनको विश्वस्त राजनीतिक दस्तावेजीकरण मान्न सकिने ‘चक्रव्यूहमा गोर्खा’ ब्रिटिशकालदेखि समकालीन विन्दुसम्मको सूचि हो। पहाड़को राजनीतिको रानीमासुमै पसेर काम गरेका भोटू सिंह छेत्रीको यस बृहत् ग्रन्थमा लेखकले केन्द्रिय सत्ता र राज्य सत्ताको साझा ‘चक्रव्यूह’ -मा परिसकेको गोर्खा समुदायको राजनीतिक इतिहासको अथेण्टिक न्यारेटिभलाई पाठकका लागि अघि ल्याएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *