बहुप्रशंसित बन्यो सिक्किमको नाटक ‘कालो भारी’

Sikkim-1-1

वाराणसी: श्रीकाशी नागरी नाटक मण्डली, वाराणसीमा स्वतन्त्रताको अमृत महोत्सवअन्तर्गत २२औँ भारत रङ्ग महोत्सव २६-३० जुलाई मध्ये २८ जुलाईको दिन सिक्किम रङ्गमण्डलद्वारा प्रस्तुत नेपाली नाटक ‘कालो भारी’ भव्य रूपले प्रदर्शित हुँदा बहुप्रशंसित बन्यो। कलाले भाषाको सीमा नाघेर भावको भवमा पुऱ्याएको थियो। उपन्यासकार शङ्करदेव ढकालको उपन्यास ‘कालो भारी’-को कथाबाट भाव ग्रहण गरीकन यो नाटक नव दिल्लीको राष्ट्रिय नाटक विद्यालयका अध्यापक असिफ अलीले हिन्दीमा लेखेका थिए भने नेपालीमा नाट्यशिल्पी सीके श्रेष्ठले अनुवाद गरेका थिए। 

राष्ट्रिय नाटक विद्यालय (एनएसडी)-बाट गान्तोकमा पद स्थापन भएका र नेपाली भाषा पनि सिकेका नाट्यनिदेशक विपिन कुमारको अनुभवी निदेशले नवपिँढीको प्रतीक तरुण भरत काशी हिन्दू विश्वविद्यालय पढ्नाले क्रान्तिचेतना प्राप्त गरेको दृश्य संलग्न गरेर दर्शक मनलाई मोहक बनाइदिएको थियो। मूल पात्र साइँला-साइँलीको छोरोले गर्भवती बुहारीलाई गोड़ामा तेल दलिदिएको दृश्यले मातृसत्तात्मक हिमाली समाजको बिम्ब प्रस्तुत भएको थियोl गाङ्गेय क्षेत्रको पितृसत्तात्मक समाजमा हुर्केका सामाजिक त्यो देखेर चकित बने। दिवङ्गत भइसकेका अत्याचार पीड़ित पूर्वजहरू प्रेतयोनिमा बाँचेका; सेता-सेता बराजु, बाजे, बाबुहरूले पराभौतिक संसारमा सेता-सेता बराजुनी, बोजु, आमाहरूलाई बोकिबोकी स्याहार्दै कालो भारी र झार्लाङ्गी प्रथाको स्थिति र क्रान्ति हेरिरहेका दृश्य पनि थियो। संवाददाताहरूसित भएको कुराकानीमा नाटकमा प्रेक्षकका रूपमा पुगेका काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागका आचार्य तथा अध्यक्ष दिवाकर प्रधानले सेतो फुल्नु बिगतका दीर्घकालीन अनुभवको प्रतीक हो भने। उनले कालो भारी र झार्लाङ्गीलाई अमानवीय प्रथा भएको र यसविरुद्ध सिक्किमेली जनताले लामो प्रताड़ना भोग्नुपरेको यथार्थ यस नाटकमा व्यञ्जित भएको बताए। तत्कालीन अवस्थामा व्याप्त नारी सशक्तिकरणको अभ्यासले तिनै नारी पात्रा स्वतन्त्र नवचेतनाकी उद्घोषिका बनेको अवस्थामा नाटक अन्त्य भएको घटनालाई प्रो. प्रधानले नाटक आशावादमा आधारित रहेको ठहर गरे। उनले यो नाटक विश्वका कुनै पनि ठाउँमा सम्प्रेष्य हुनसक्नाले देश-विदेशमा प्रदर्शित हुनपर्ने हो पनि भने।

सिक्किमेली रङ्गशिल्पीहरूको अभिनयले सामाजिकमा अतीव रस सञ्चार गरायो। सिक्किमको इतिहास बोकेको नाटक ‘कालो भारी’-का यावत् सम्भाषण नेपाली भाषामा भए पनि रसिकजनले सहज भाव ग्रहण गर्नसके अनि रससिक्त भए। उत्कृष्ट अनुक्रियाले गर्दा भाषाभन्दा भाव सहज बोध्यगम्य बनेको थियो।  प्रेक्षकले मुख्यार्थसहित प्रतीयमान अर्थ पनि बुझिदिनाले मिनटौँसम्म करतलध्वनिले प्रशस्ति गरे। नाट्योत्तर अवधिमा निदेशक विपिन मञ्चमा पुगी निदेशनविषयक आत्मस्वीकृति व्यक्त गर्दै आफू सिक्किमका थुप्रै अभेक ठाउँसम्म पुगी इतिहासका साक्षी वयोवृद्धजन भेटी अन्तर्वार्ता लिई उहाँहरूका अनुभव नाटकमा साझा गरिएको  कुरा अभिभाषणमा भने। स्मरण रहोस्, आधुनिक हिन्दी साहित्यका प्रारम्भपुरुष भारतेन्दु हरिश्चन्द्रको निधनपछि उनका रङ्गकर्मी भतिजाहरूले १९०२-मा काशी नागरी नाटक मण्डली स्थापना गरेका थिए। काशीको कबीर चौराहमा भएको नाटक मण्डली रङ्गशालामा ‘कालो भारी’ मञ्चन भएको थियो। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *