बङ्गरत्न सम्मानले विभूषित प्रख्यात समाजसेवी सुश्री रङ्गु सौरियासितको अन्तर्वार्ता

Rangu-Sauriya

अन्तर्वार्ताकार: श्रीमती गौरी सुब्बा प्रधान, सिलगढ़ी

पानीघट्टा निवासी समाजसेवा अनि मानव कल्याणकारी कार्यमा एकनिष्ठ भावले समर्पित सुश्री रङ्गु सौरिया केवल पानीघट्टाको गौरव मात्र नभई हामी सबैका आदर अनि सम्मानका पात्रा हुन्। उहाँले समाजका निमित्त गर्नु भएका विभिन्न मानव सेवामूलक कार्यहरूमध्ये मुख्यत: विभिन्न प्रलोभनमा परी ‘नारी तस्करी गिरोह’का पञ्जामा फँस्न गएका भारत तथा अधिकांश नेपालका गरीब अनि निमुखा नारीहरूलाई भारतका विभिन्न राज्य तथा अन्य ठाउँहरूबाट उद्धार गर्नुभएको छ। त्यस सँगसँगै पानीघट्टाका बन्द चिया बगानका असहाय भोका मानिसहरूलाई कोरोनाकाल, सन् २०२० मा दुई महीनासम्म विभिन्न संस्था तथा व्यक्तिहरूको सहयोगमा खाना खुवाएर समाजमा मानवसेवाको एउटा जाज्वल्यमान् उदाहरण प्रस्तुत गर्नुभएको छ। आज उनै आदरणीया बहिनी सुश्री रङ्गु सौरियासित अन्तरङ्ग भावमा पानीघट्टास्थित् उहाँको निजी वासस्थानमा गई म केही प्रश्नहरू मार्फत् हामीलाई थाह नभएका कुरा जान्ने प्रयत्न गर्दछु:—

प्रश्न:  सबैभन्दा पहिला बहिनी तपाईं जन्मनु भएको ठाउँ बारे जान्न चाहन्छु।

उत्तर: मेरो जन्मस्थान पानीघट्टा चियाबारी हो। हुलाक– पानीघट्टा, थाना– मिरिक, महकुमा– खर्साङ, जिल्ला– दार्जीलिङ।

प्रश्न: तपाईंका माता-पिताको नाम पनि बताइदिनु हुन्छ कि?

उत्तर:  मेरा पिता पी. आर. सौरिया अनि माता ऐती सौरिया हुन्।  

प्रश्न: तपाईंको औपचारिक शिक्षा कुन स्कूलबाट आरम्भ भएको हो अनि कतिसम्म पढ्नु भयो?

उत्तर: मेरो प्रारम्भिक शिक्षा पानीघट्टा स्कूलबाट नै भएको हो। त्यसपछि बिजनबारी स्कूलबाट माध्यमिक अनि उच्च माध्यमिक तहको शिक्षा लिएकी हुँ अनि स्नातकको परीक्षा दार्जीलिङ सरकारी महाविद्यालयबाट उत्तीर्ण गरेकी हुँ। त्यसपछि दार्जीलिङ रामकृष्ण बी. एड. कलेजबाट बी. एड. गरेकी हुँ। 

प्रश्न संख्या: साधारणत: मानिसहरू आफ्नो शिक्षा-अध्ययन गरिसकेपछि नोकरी गर्न थाल्छन् अनि वैवाहिक जीवनमा आबद्ध हुन्छन्। तर तपाईंले चाहिँ समाजसेवालाई नै आफ्नो जीवनको लक्ष्य र उद्देश्य बनाउनुभयो। यसको पछि के कारण होला?

उत्तर:   वास्तवमा मैले शिक्षा अध्ययनपछि समाज सेवा गर्न थालेकी होइन, म आफू भिक्टिम भएको हुनाले होला म स्कूल पढ़्दादेखि नै आफूले सकेसम्म आफ्ना सहपाठीहरू र अरूहरूलाई सहयोग गर्ने गर्थें। आफू सानो छँदा नै मेरी आमा श्रमिक संघको सदस्या भएको हुनाले घरबाट सताइएका मानिसहरू आमाकहाँ सुरक्षा खोज्दै आएका देख्थें। आमाले पनि उनीहरूलाई  सक्दो सहयोग गर्थिन्। सानैदेखि अन्याय र अत्याचार सहनु हुँदैन रहेछ भन्ने कुरा आमाका क्रियाकलापबाट मैले बुझ्दै गएँ। कलेज पढ़्दा पनि क्लास सकेर चार/पाँच बजेसम्म कलेजमा नै बसेर ‘स्टुडेन्ट युनियन’को काम गर्ने गर्थें। पछि सामाजिक कार्यकर्त्ता हुन्छु भनेर नै यो काम गरेकी पनि होइन। मलाई त फोर्समा वा राजनीतिमा पसेर काम गर्ने इच्छा थियो। राजनीतिमा पसेर काम गरें, तर यसमा स्वतन्त्ररूपमा काम गर्न पाइनँ। अन्याय र अत्याचारको विरोधमा काम गर्दागर्दै समयले यहाँ ल्याई पुर्यायो।

प्रश्न संख्या:  समाजसेवा बाहेक तपाईं अरू पनि केही गर्नुहुन्छ कि?

उत्तर: समाज सेवा बाहेक अरू केही पनि गर्दिनँ। दिनको चौबिसै घण्टा समाजलाई नै सुम्पिएकी छु। यस काममा बिहानको छह बजे भन्न पाउँछु न त रातीको एघाह्र बजे भन्न पाउँछु। र पनि कहिलेकाँहीं समय पाएको बेला गार्डनिङ गर्न मन पराउँछु।

प्रश्न संख्या: कञ्चनजङ्घा उद्धार केन्द्रको स्थापना कहिले भएको हो अनि यसको स्थापना कस–कसले गरेका हुन्, उनीहरूका नामसमेत बताइदिनु हुन्छ कि?

उत्तर:   कञ्चनजङ्घा केन्द्रको स्थापना २००३ मा भएको हो।  यसको पञ्जीकरण सन् २००४ मा भएको हो। स्थापनाकालदेखि संलग्न रहेर काम गर्नेहरूमा म लगायत प्रभात पाठक, चेतन गुरूङ, शरद गुरूङ, तुलसी प्रधान, रञ्जित छेत्री, कृष्ण लामा मुख्यरूपमा हुन्।

प्रश्न: तस्करी भएका नारीको उद्धार गर्न जाँदा लाग्ने खर्च कसरी जुटाउनु हुन्छ?  त्यस कार्यका निम्ति तपाईंहरूका संस्थाको आफ्नो कुनै कोष छ कि आफ्नै खर्चमा गर्नुहुन्छ?

उत्तर:   तस्करी भएका छोरीचेलीहरू जुन इलाकाका हुन् त्यहाँका पञ्चायत साथै समाजप्रति समर्पित महानुभावहरूले उद्धार गर्न जाँदा लाग्ने खर्च बेहोर्छन्। धेरै जसो त मेरा सर्कलका साथीहरूले सहयोग गर्छन्। तर कोही कोही बेला धेरै ठुलो विपदमा पनि परिन्छ। एकपल्ट त हामी पन्ध्र दिनको खर्च लिएर मुम्बई गएका थियौं तस्करी भएका छोरीचेलीलाई उद्धार गर्न तर अदालती कारवाहीमा एक महीनाको समय लाग्यो। हामी जुन होटलमा बसेका थियौं त्यस होटलको बिल तिर्ने पैसा नहुँदा पञ्जाबका एक परिचित समाजसेवी, सन्दीपबाट पैसा उधारो लिन परेको थियो। त्यो पैसा सिलगढी फर्केर आएपछि फर्काईदियौं। तस्करी भएका छोरीचेलीहरूलाई उद्धार गर्न जाँदा लाग्ने खर्चको अलग्गै कोष तयार गर्न सकेका छैनौं अनि सरकारबाट पनि यसको निम्ति कुनै प्रकारको आर्थिक सहयोग पाएका छैनौं। भविष्यमा भयो भने ‘रेसक्यु फण्ड’को व्यवस्था गर्ने योजना गर्दैछौं। 

प्रश्न संख्या:  बेचिएका नारीको उद्धार गर्ने कार्य खुबै जटिल अनि जोखिमपूर्ण हुन्छ भन्ने मानिन्छ। तपाईँहरू कसरी पीड़ित महिलाको उद्धार कार्य सञ्चालन गर्नुहुन्छ?  पुलिस प्रशासनबाट यथोचित् सहयोग पाउन कुनै कठिनाई त हुँदैन तपाईंहरूको दललाई?

उत्तर:   रेसक्यु (उद्धार) गर्नु भनेको जटिल काम हो, फलामको चिउरा चपाउनु बराबर हो। उद्धार गरिएकाहरूलाई हामी उनीहरूको परिवारलाई सुम्पन्छौं, तर जसलाई आफ्नो परिवारले फिर्ता लिन चाहँदैन, उसलाई उसको जन्मस्थान (नेटिभ प्लेस) अर्थात् उसको आफ्नो भाषा मिल्ने ठाउँमा पठाउँछौं जहाँ उसको बस्ने ठाउँको बन्दोबस्त मिलाइएको हुन्छ। पुलिस प्रशासनले रेसक्यु गर्ने कार्यमा जहिले पनि सहयोग गरेको नै हुन्छ जसको फलस्वरूप हामीले हजारौं पीड़िताहरूलाई उद्धार गर्नसकेका छौं। पुलिस प्रशासनको सहयोग बिना रेड लाइट् एरियामा गएर पनि केही गर्न सकिँदैन। पीडिता कहाँ फँसेका छन् त्यो पत्तो लाउन हामी कसैलाई ग्राहक बनाएर पठाउँछौं अनि पीडिताको पहिचान गरेपछि पुलिस बलको सहायता लिएर त्यो ठाउँको छापामारी गर्छौं।

प्रश्न संख्या: तस्करी भएका नारीको बारेमा खबर कसरी पाउनुहुन्छ?  तस्करहरू के आफ्नै घर– गाउँका हुँदा रहेछन् कि बाहिरबाट आएका हुँदा रहेछन्? अहिलेसम्म कुनै तस्करहरू पक्रा परेका छन् कि छैनन्?

उत्तर: कहिलेकाँही अपरिचित मानिसहरूले हामीलाई फोन गरेर कुनै निर्दिष्ट इलाकामा केटीहरूलाई लुकाएर राखेका छन् अनि ती केटीहरू त्यहाँबाट बाहिर आउन चाहन्छन्, तपाईं त्यहाँ गएर ती केटीहरूलाई उद्धार गरिदिनु होस् भनेर गूगलमा मेरो नाम सर्च गरेर सम्पर्क गर्छन्। र म त्यहाँ गएर रेसक्यु गर्छु। त्यसो त हामीलाई भारतवर्ष भरिकै विभिन्न रेड्लाइट एरियामा फँसेका पीड़िताहरूको खबर आएपछि हामी त्यो एरियाको बाहिर बस्ने केटाहरूलाई भित्रको सूचना माग्छौं अनि तिनीहरूको बारेमा जानकारी पाएपछि हामी पुलिस बललाई लिएर रेसक्यु गर्न जान्छौं। तस्करहरू टाड़ा टाड़ा वा दिल्ली, मुम्बईबाट आउँदैनन्। प्राय: जसो तस्करहरू स्थानीय नै हुन्छन्। नेटवर्कद्वारा टाड़ा टाड़ाका तस्करहरूसँग सम्पर्क गरेर केटीहरूलाई बाहिर पुर्याउँछन्। अहिलेसम्म पन्ध्र-सोह्रजना तस्करहरू चाहिँ पक्रा परेका छन्। तीमध्ये पाँचजना (जसमा दुई महिला अनि तीन पुरूष छन्) अदालतद्वारा अभियुक्त घोषित भएका छन्। तस्कर र पीडिता दुवै स्थानीय हुन् भने तस्करहरूलाई सजाय दिन सजिलो हुन्छ। पक्रा परेका ती पाँचैजना अभियुक्तहरू स्थानीय हुन्। पीड़िताहरूलाई अदालतले बोलाउँदा आई दिएनन् भने साक्षीको अभावमा नै तस्करहरूले छुटकारा पाउँछन्।

प्रश्न संख्या: जति पनि चेली-बेटीहरूलाई तपाईंहरूले उद्धार गर्नुभयो, उनीहरूमध्ये अधिकांश कसरी अरूका हातमा बेचिएका हुँदा रहेछन्, भनिदिनु हुन्छ कि?

उत्तर: केटीहरू सहजै मानिसहरूको कुरामा विश्वास गरिहाल्छन्। कतिजनालाई त अपरिचित मान्छेले काममा लगाई दिन्छु भनेर लान्छन् भने कतिलाई चाहिँ बिहे गरे जस्तो गरेर लैजान्छन्। कतिजनालाई झुटो प्रेमको जालमा फँसाएर बेचिदिन्छन्।

प्रश्न: तस्करी भएका चेलीबेटीहरू प्राय: कुन देशका बेसी रहेछन्?

उत्तर: देशको हिसाबले हेर्नु हो भने नेपालबाटनै बेसी छन्। प्राय: हजारजना जति केटीहरू नेपालकै छन्। त्यसपछि संख्याको आधारमा असम, पश्चिम बंगालबाट पनि निकै नै छन्।

प्रश्न संख्या: अनि उनीहरूलाई कुन ठाउँमा बेसी संख्यामा बेचिएका हुँदा रहेछन्?

उत्तर: रेडलाइट एरियामा लगेर बेचिएका हुन् भने अधिकतर मुम्बई, दिल्ली, उत्तर प्रदेश, महाराष्ट्रको पुने, पश्चिम बंगालको कलकत्ता शहर, पाञ्जीपाड़ा, सोनागाछी, इस्लामपुरको रेड लाइट एरिया, सिलगढीको रेडलाइट एरियामा बेचिएका हुन्छन्।

प्रश्न संख्या: कुनै उद्धार कार्यमा जाँदा तपाईंहरू गुण्डा-बदमासहरूको हमलामा पर्नु भयो कि भएन?  यदि पर्नु भएको थियो भने कसले तपाईंको रक्षा गरे? यस्तो कुनै भयावह घटना तपाईंसित घटेको छ भने  हामीसित साझा गरिदिनु हुन्छ कि?

उत्तर: रेसक्यु गर्न जाँदा हमला हुने शत प्रतिशत जोखिम हुन्छ। एकपल्ट बिहारको मधुबनी भन्ने ठाउँबाट केटीहरूलाई उद्धार गरेर ल्याउँदा पुलिस हामीसँग हुँदाहुँदै पनि एउटा गाड़ीले हाम्रो पिछा गरेको गरेकै भयो। अदालतमा जाँदा त्यहीं आउने, अस्पताल जाँदा पनि त्यहीं आउने। उनीहरूबाट पिछा छुटाउन हामीले आफू बसेको ठाउँसमेत बदल्न प-यो। पैसाको प्रलोभन देखाएर उनीहरूले हामीले उद्धार गरेका केटीहरूलाई छुटाउने प्रयास गरेका थिए। उद्धार कार्यमा हाम्रो ज्यान जोखिममा त हुन्छ नै तर डरायौं भने कसरी काम गर्ने? टाड़ाको कुरा त के भन्ने यहीं सिलगढी खालपाडामा पनि यस्तो एउटा घटना भएको थियो। असमकी एउटी महिला आफ्नो छह महीनाको नानीसमेत खालपाड़ाको रेडलाइट एरियामा बेचिएकी सूचना पाएर म र प्रभात दादा पाँचजना पुलिसलाई साथमा लिएर खालपाड़ामा उनीहरूलाई उद्धार गर्न गएका थियौं। उनीहरूको पत्तो लाउन तीन दिनसम्म केटाहरूलाई ग्राहक बनाएर खालपाडाको रेडलाइट एरियामा पठाएका थियौं। सूचना साँचो हो भन्ने खबर पाएर म बिहान साड़े दश बजे रेसक्यु गर्न भित्र पस्दा पाँच मिनटको हेरफेरमा पछाड़िका गेटबाट नानीको आमा र नानीलाई भगाएछन्। त्यहाँको मालिकसित बाद-विवाद हुँदा निकै हल्ला भयो। हामी दोस्रो तलामा थियौं। उद्धार गर्न को आएको छ? रंगु हो? भनेर तल्लो तलाबाट आवाज आयो। हो, म रंगु आएकी छु भन्दा त्यति बेलासम्म हामीलाई चालिस पचासजना मानिसहरूले घेरेका थिए। धेरै बेरसम्म गरम तर्कातर्की भएपछि पनि नानी र नानीकी आमालाई उद्धार गर्न सकेनौं तर पन्ध्र दिनदेखि फँसेकी एउटी केटीलाई चाहिं उद्धार गरेर ल्यायौं। हामीसित आएको पुलिस बलले हामीलाई त्यहाँबाट निकाल्न सकेन। अर्को थप पुलिस बल आएपछि मात्र हामी त्यहाँबाट निस्कन सक्यौं। यस किसिमको घटना त भई नै रहन्छ। जेलमा पसेका तस्करहरूबाट धम्की आई नै रहन्छ। उनीहरूले त सञ्जालबाट सबै काम गरिरहेका हुन्छन्। एकपल्ट साँझ पख बाघडुग्राको बस-बिसौनीमा एकजना तस्कर मलाई हिर्काई राखेर गयो। सबैजना वाल्ल परेर हेरिरहे त्यस तस्करलाई, केही गरेनन्। नराम्रो लाग्यो। आफ्नो ज्यानको बाजी लगाएर दलदलमा फँसेकाहरूलाई उद्धार गर्छु। मसँग न त सुरक्षा बल हुन्छ न त स्वयंसेवी हुन्छ। त्यो घटनापछि मलाई मानसिक अनि शारीरिक पीडा भयो। पन्ध्र-बीस दिनसम्म सास फेर्न कष्ट भयो। उठेर हिँड़न पनि नसक्ने भएँ।    

प्रश्न संख्या: आजसम्म कतिजनालाई तपाईंहरूले उद्धार गर्नुभएको छ? अनि के उनीहरू सबैलाई आफ्नो घरपरिवारले अप्नाए?

उत्तर: आजसम्म आठ हजारभन्दा बेसी पीडिताहरूलाई उद्धार गर्न सफल भएका छौं। जसमा केटाहरूको संख्या कम्ती छ। केही नानीहरू पनि छन्, धेरै चाँहिं केटी (महिला)हरू छन्। उद्धार गरिएका नानीहरूलाई त उनीहरूका अभिभावकले लैजान्छन्। तर अधिकतर महिलाहरू जसको घरेलु अवस्था राम्रो हुँदैन, उनीहरू आफ्नै घरमा पनि मानसिक यातनाका शिकार हुन्छन् किनभने अभिभावकहरूले परिवारको बद्नामीको नाममा उनीहरूलाई प्रताडित गर्दछन्। एकपल्ट कालेबुङका राम्रो घरका दुईजना शिक्षित केटीहरू हराएका थिए। मलाई जुन मान्छेले हिर्काएको थियो उसले नै ती केटीहरूलाई मुम्बई लगेर बेचिदिएका थिए। ती केटीहरूमा एकजनालाई ड़ेढ महीनामा अनि अर्कीलाई दुई महीनापछि उद्धार गरेर ल्याएका थियौं। तर ती केटीहरूका अभिभावकहरूले उनीहरूलाई घर फर्काई लैजान मानेनन्। यसरी यता न उता भएका केटीहरूलाई एउटा सेल्टर होम बनाएर राख्न चाहेका छौं। उनीहरूलाई विभिन्न किसिमका तालिम दिएर आफै गरिखाने बनाउन चाहेका छौं। 

प्रश्न: पश्चिमबंग सरकारले दिएको बङ्गरत्न सम्मानसमेत अरू सम्मान पाएपछि तपाईंले के अनुभव गर्नुभयो?  भनिदिनु हुन्छ कि?    

उत्तर: खुशी त अवश्य भएँ तर उत्तेजित चाहिँ भइनँ। किनभने अवार्डको निम्ति काम गरेकी पनि होइन। मलाई लाग्छ अवार्ड र सम्मान पाउनु राम्रो हो तरै पनि अवार्ड र सम्मानले मात्र काम गर्ने कार्यकर्त्तालाई सहयोग त हुँदैन नि। मैले उद्धार गरेर ल्याएकी पीडिताहरूका निम्ति जुन कञ्चनजङ्गा सेल्टर होम बनाउँदैछु त्यहाँ अहिले पनि धेरै कुराको अपुग छ, कतिवटा ट्रेनिङ सेन्टर बनाउनु बाँकी नै छ। मलाई त ती अलपत्र परेका नारीहरूका लागि रोजीरोटीको व्यवस्था मिलाई दिने सहयोगी  मन अनि हातहरू चाहिएका छन्। 

प्रश्न: बन्द पानीघट्टा चिया बगानका गरीब अनि भोका श्रमिक परिवारहरूको लागि सन् २०२० मा कोरोना महामारीको समयमा कञ्चनजङ्घा उद्धार केन्द्रको आयोजनामा तपाईँले भोजनको व्यवस्था गर्नुभएको थियो। कहिलेदेखि कहिलेसम्म कति भोका मानिसहरूलाई तपाईंहरूले भोजन खुवाउनु भयो?  त्यस कार्यमा अर्थ अनि सामान दिएर तपाईंहरूलाई कुन कुन संस्था अनि व्यक्तिहरूले सहयोग गरेका थिए?

उत्तर: सन्२०२०को कोरोनाकालमा हामीले दिनपिच्छे ८५० मानिसहरूलाई ६३ दिनसम्म भोजन गराउन सक्षम भएका थियौं। यस कार्यमा मलाई चालिसजना स्वयंसेवीहरूले दिनहुँ पाँच बजीसम्म सघाएका थिए। उनीहरूले दिनहुँ सागसब्जी केलाउनु, काट्नु अनि पकाउनु गर्थे। यस कार्यमा मलाई मेरा घरका पनि सबैजनाले साथ दिएका थिए। ती ८५० जनामा दिनहुँ ३०० मानिसहरूको भोजनको व्यवस्था कोलकाताका डाक्टरहरूको दल (लीभर फाउण्डेसन)ले मिलाएको थियो। हामीले पनि त्यही ३०० जनालाई नै खाना खुवाउन सोचेका थियौं। तर भोका पेटहरू थपिँदै गए। यसका निम्ति हामीले सबैसित यस कार्यमा सहयोग गरेर सामेल भइदिने निवेदन ग-यौं। कसैले चामल, दाल, तेल, कसैले सागसब्जी, अण्डा आदि दिँदै गए। हाम्रा स्वयंसेवीहरूको खट्दै गए। यसरी विभिन्न संघ–संस्था र सहयोगी व्यक्तिहरूको हात र साथले भोका मानिसहरूलाई दिनको एक छाक भए पनि खुवाएर उनीहरूलाई बचाउन समर्थ बन्यौं।   

प्रश्न: अब अन्तिम प्रश्न के गर्न चाहन्छु भने मान्छेको शरीरमा बल-ताकत भइञ्जेल त जे गरेर पनि आफ्नो हातमुख जोर्नसक्छ, तर उमेर बित्दै जाँदा जब शरीरले साथ दिन छोड़्छ तब कसैको सहाराको खाँचो हुन्छ। त्यसोसले तपाईंले आफ्नो भावी जीवनको बारेमा केही सोंच्नु भएको छ?

उत्तर: साँचो भन्नु हो भने मैले सानो उमेरदेखि सामाजिक कामहरू गर्दै आएकी हो। कुनै सामाजिक संस्थाको पदमा बसेर चाहिँ कुनै काम गरेकी थिइनँ। छात्र जीवनदेखि नै आफ्ना श्रेणीका मित्रहरूलाई सघाउँथे। बिरामी मानिसहरू अनि साह्रो गाह्रोमा परेकाहरूलाई सहयोग गर्न पाउँदा एक किसिमको आनन्दको अनुभूति हुन्थ्यो। मनोरञ्जन गर्नुभन्दा सामाजिक काम गर्नुमानै मलाई मज्जा लाग्थ्यो। दार्जीलिङमा कलेज पढ़्दा पनि चौरास्ता घुम्न जाँदिन थिएँ। बरू छात्रहरूको संगठनमा बसेर समस्याहरू समाधान गर्नको निम्ति लडिरहेकी हुन्थें। कलेज सकिएको लगत्तैपछि पनि यो काम निरन्तर गरिरहेकी हुनाले बिहानदेखि रातीको बाह्र–एक बजी पनि विपदमा परेकाले फोन गरिरहका हुन्छन्। यसैले, मैले आफ्नो लागि भनेर केही सोचेकी पनि छुइनँ। आज यति गरें, भोलि यो काम छ, त्यो काम गर्नुपर्छ भनेर नै सोचिरहेकी हुन्छु। भावी जीवनको विषयमा केही सोचेकी पनि छैन। भावी जीवन ईश्वरलाई सुम्पिदिएकी छु। ईश्ररले जे गर्छन् राम्रै गर्छन् भन्ने सोच्छु।

प्रश्न संख्या: तपाईंको यस मानव सेवामूलक कार्यको कदर गर्दै कुन कुन संस्था वा सरकार वा व्यक्तिले के कस्ता सम्मान अर्पण गरेका छन्, भनिदिनु हुन्छ कि?

उत्तर: धेरैधेरै संघ–संस्थाहरूले मलाई सम्मान दिएका छन्। मैले गनेको चाहिँ छैन। कलकत्ताबाट सञ्चालित २४ घण्टा च्यानल, मन्थन च्यानलले सम्मानित गरेका छन्। बंगाली समुदायले दशभुजा सम्मानले सम्मानित गरेको छ। सन् 2009 मा दिल्लीमा सर्वप्रथम यङ्ग वुमन अचिभर अवार्ड टाइम्स आफ् इण्डियाबाट पाएकी हुँ। गोर्खा दु:ख निवारक सम्मेलन, दार्जीलिङबाट फास्ट सुशिलादेवी अवार्ड पाएँ। ब्रेभरी अवार्ड धेरैवटा छन्। तीमध्ये एउटा बंगाली फिल्मका एक्टरको हातबाट पाएकी थिएँ। त्यसरी नै २०१७ मा २६ जनवरीको दिन अक्षय कुमारको हातबाट पनि ब्रेभरी अवार्ड पाएकी थिएँ। ‘महिला अनि बालबालिकालाई न्यायसहित सुरक्षा दिनमा या उनीहरूलाई उत्पीड़नबाट मुक्त गराउनमा को सर्वप्रथम छ भन्ने सर्वभारतीय स्तरमा फेसबुकमार्फत् सञ्चालित भोटिङ प्रतियोगितामा मैले सर्वोच्च भोट पाएकी थिएँ। त्यसैले भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीको बाहुलीबाट सम्मानित भएकी थिएँ। सन् २०२१ मा पश्चिम बंगाल सरकारकी मुख्यमन्त्री ममता ब्यानर्जीको बाहुलीबाट बङ्गरत्न पुरस्कारले सम्मानित भएँ।

धेरैबेरसम्म मैले सोधेका सबै प्रश्नका उत्तर किञ्चित् दिक्क नमानी मुस्कुराउँदै दिनुभएकामा बहिनी सुश्री रङ्गु सौरियालाई धन्यवाद दिँदै साथै उहाँको आउँदो दिनका कार्यको सफलता अनि शान्तिमय भावी जीवन अनि सुस्वास्थ्यको कामना गर्दै म उहाँबाट विदा लिन्छु।***

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *