[तिहार विशेष] पाँच दिने तिहार: यमपञ्चक

Tihar

 दिवाकर प्रधान

संस्कृत भाषाको ‘तिथि-वार’ शब्दबाट त्यौहार हुँदै नेपालीमा तिहार भनिएको हो। यम भनेको अनुशासन हो। अनुशासित बने पाँच अशुभ नक्षत्रमाथि पनि विजय पाउनसकिने संकेत तिहारले दिँदछ। नक्षत्रका मेलबाट बनिने विशेष योगलाई पञ्चक भनिन्छ। कुम्भ र मीन राशिमा चन्द्रमा रहेको समयलाई ज्योतिषमा पञ्चक मानिन्छ। दिवाली वा दीपावलि पो एक दिनको हुन्छ तर गोर्खा जातिको तिहार हुन्छ पाँच दिन। पाँचवटा तिहार पाँच दिन मनाइन्छन्। यसकारण हामीले ‘शुभ तिहार’ (ह्याप्पी तिहार) नै भन्नुपर्ने हुन्छ। सिरियल-सिनेमा हेरेर सिको गरी ‘ह्याप्पी दिवाली’ भन्नु त एक दिने पर्वलाई मात्र प्रोन्नत गरेको हुन्छ। अरू चारवटा पर्व बिर्सनु राम्रो होइन। पाँच दिने तिहारले मानव सभ्यताको विकासक्रम इङ्गित गर्दछन्-

१. काग तिहार = समाज निर्माण र सभ्यताको आग्रह

२. कुकुर तिहार = आविष्कार, अन्वेषण, निष्ठा

३. गाई तिहार = कृषि युग

४. गोरु तिहार = उद्योग युग

५. भाइ तिहार = समाज विधान, नीति निर्धारण

तिहार-चर्चा:

त्रयोदशीमा काग तिहार-

काक: चेष्टा”

 कागले जस्तो चेष्टा गर्नू। हितोपदेशम्

कागलाई पुर्खाको प्रतीक मानिन्छ। उनीहरूकै कर्मको कारणले सभ्यता र संस्कृतिको विकास भयो र हामी त्यसमा थप्दैछौँ। प्राकृतिक सफाइकर्मी समूहमा खान्छन् काम गर्छन् अनि एकता र विकासका लागि आग्रह गर्छन्। हामी भन्छौँ- “शुभ बोल् शुभ बोल्”। काग एकलकाँटे हुँदैनन्। समूहमा बस्छन्, समूहमा खान्छन्, सडेका-गलेका-कुहेका खाए पनि पचाउँछन्। भोजन भेटे अरू कागलाई पनि डाक्छन्। मिलेर प्रकृति सफा गर्दछन्। यसैले कागलाई पर्यावरण-प्रिय पक्षी र सफाईकर्मी मानिन्छ। कागलाई यमराजको दूत पनि मानिएको छ किनभने काग यमराजको प्रिय भक्त हो भन्ने कथा लेखिएको छ। कागले यमलोकमा गएर पृथ्वीवासीका विषयमा चित्रगुप्तलाई सूचित गर्छ। यमराज रहँदासम्म कागको विनाश सम्भव छैन भन्ने मान्यता छ। काग भनेको सफा विचार हो, यमराज भनेको अनुशासित कर्म हो अनि चित्रगुप्त हृदयमा पर्ने कर्मको प्रभाव हो।

कागबारे थुप्रै मिथकहरू छन्– १. ‘अमृत ल्याउनू तर नखानू’ भनेको नटेर्दा ऋषिले श्राप दिनाले सेता काग काला भए अरे। २. रामपन्थीहरूले बनाएको कथामा इन्द्रको छोरो जयन्त काग भएर रामले केश कोरिदिँदैगरेको बेला सीताको खुट्टामा ठुँगिदियो। रामले वाण हाने। इन्द्र प्रकट भएर क्षमा मागे। जयन्तको एउटा आँखा फुट्यो। कागलाई एकाक्षी भनियो। ३. रोटी भिजाएर कागलाई दिए पितृदोष टर्ने कथा ज्योतिषमा पाइन्छ। ४. कागले के गर्दा के हुन्छ भन्ने लोकविश्वास थुप्रै छन्। स्वभावले कागलाई निकै उदण्ड, धूर्त र चतुर पक्षी पनि मानिन्छ। कागका वंशगत र स्वभावगत विविधता विचारेर काकःशास्त्र पनि बनिएको छ। कागले आफूलाई भय उत्पन्न गर्ने अनुहार पाँच वर्षसम्म सम्झन सक्दछ। कागले आफूले सुरक्षित राखेको भोजन कहिल्यै बिर्सँदैन पनि भनिन्छ।

आयुर्वेदका जनक धन्वन्तरिको जन्मदिवस पनि कार्तिक कृष्णपक्ष त्रयोदशीमै हो। बेपारीले चाहिँ रहल-पहल सामग्री बेचिहाल्न ज्योतिषीको, पात्रो बनाउनेको अनि विज्ञापनको सहायता लिएर धनतेरसलाई प्रोन्नत गर्दैछन्। उपभोक्ताले पत्याउन थालेको धेर भएको छैन। स्टक क्लियरेन्स गर्न धर्मको सहारा लिएको मात्र हो। भर्खरै कुचो र मजुरको प्वाँख पनि थपिदिएका छन्। हामी होरोरीमा किन्ने भयौँ। धन तेरस त धन तुरोस् भयो। तेरस भनेको त्रयोदश हो अर्थात् तेह्र। धन आउने त्रयोदशी भनेर हल्ला पिटे। वास्तवमा स्वास्थ्यचाहिँ सबैभन्दा ठूलो धन हो। त्यो स्वास्थ्य-धन दिने आदि वैद्यको नाम पो धन्वन्तरी हो। यिनलाई मानवलाई निरोगी बनाउने आयुर्वेद शास्त्रका पिता मानिन्छ। भाँडा पसलमा हानथाप गरिगरी चुहेका कुच्चेका भाँडा किन्नुभन्दा आचार्य धन्वन्तरी जयन्तीको नाममा निरोगी हुने अभ्यास गरेको राम्रो हो। काग स्वच्छता र सभ्यताको उद्घोषक हो।

चतुर्दशीमा कुकुर तिहार –

श्वान निद्रा”

कुकुरजस्तो सुत्नू।  हितोपदेशम्

सबैभन्दा हेय मानिने सुँगुरलाई वराहको रूपमा पूजा गरिन्छ, डरलाग्दो साँपलाई नाग भनी मानिन्छ। त्यस्तै कुकुरलाई हेय मान्दामान्दै पनि पुजिन्छ। पूजा गरेपछि डराउनु र हेला गर्नुपर्ने हाम्रो जीवनमा केही बाँकी रहँदैन। प्रेमको प्रचार हुन्छ। कागले उद्घोष गरेर मानवलाई सभ्यतातिर प्रेरित गरे भने कुकुरले मानिसलाई सभ्य हुन सहयोग गरे। नयाँ ठाउँ आविष्कार गर्न सघाए। कुकुर पथ-प्रदर्शक रहेर युगौँदेखि मानव-मित्र रहे। मिस्र, युनान, चीनका पुराकथामा जस्तै भारतीय पुराकथा (मिथक)-मा कुकुरका कैञौ उल्लेख पाइन्छन्–

इन्द्रकी एउटी सरम नामकी अप्सराको एउटा सन्तान यमराजको श्वान (कुकुर) बनेको कथा ऋग्वेदमा पाइन्छ। युधिष्ठिरलाई स्वर्गसम्म डोहोऱ्याउँदै लाने पशु कुकुर थियो भन्ने वर्णन महाभारतमा पाइन्छ। हुन त त्यस बेला त्रिविष्टप पर्वत अर्थात् तिब्बतलाई स्वर्ग मानिन्थ्यो। कुकुरले बाटो खोलेपछि अरू पनि खुरुखुरु स्वर्ग पुग्ने भए। स्वर्ग पुऱ्याउनमा पुरोहितको आवश्यकता नपर्ने हुनथालेपछि पुराणकालमा पुरोहितहरूले स्वर्गलाई आकाशतिर नभेटिने ठाउँमा छ भन्ने कथा गरुडपुराणतिर लेखे। रुद्र, नैऋति, वीरभद्र, भैरव, खण्डोबा, दत्तात्रेय आदि देव-देवताहरूका वाहन पनि कुकुर छन्। पथप्रदर्शन, विश्वास र स्वामीभक्तिले गर्दा प्राचीनकालदेखि कुकुर मानवको मित्र बने। एक दिन विशेषमा पूजा गरेपछि हेप्ने र घिनाउने प्रश्नै आउँदैन। कुकुर आविष्कारको प्रतीक हो।

कविशिरोमणि लेखनाथ पौड्यालले ‘नैतिक दृष्टान्त’-मा यसो भनेका छन्:

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर,

फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र!

जो झुक्छ उसलाई सानो सम्झने मान्छेको बानी हुन्छ। कुकुरले सेवा गरे तर कुकुरलाई नै हेय ठानिए। नझुक्नेलाई ठूलो लाग्ने प्रवृत्ति मान्छेमा हुन्छ। कुकुर तर सधैँ झुकेर मान्छे स्वामीप्रति भक्ति गर्दछ। मान्छेले आफूलाई सेवा गर्नेलाई चाहिँ तुच्छ ठाने। तुच्छलाई पनि उच्च मान्नुपर्दछ भन्ने ज्ञान कुकुर तिहारले दिँदछ। हियाउँदा वा गाली गर्दा हामी ‘कुकुर’ भन्छौँ। कुकुरलाई मान्छेले आदिकालदेखि नै दास (नोकर) बनाइआएको छ। नयाँ क्षेत्र आविष्कार गर्नमा उहिले मान्छेलाई कुकुरले नै सहयोग गरे। यसरी मान्छे सभ्य हुँदैगए। कुकुरले भविष्यमा हुने घटना र सूक्ष्म जगत्‌का तत्त्वलाई देख्ने क्षमता राख्दछ। कैयौं किलोमिटरसम्मको गन्ध सुँघ्न सक्छ। कुकुरलाई हिन्दू धर्ममा एक रहस्यमय प्राणी मानिएको छ। प्राचीन र मध्यकालदेखि नै मानिसहरू कुकुरलाई आफूसित राखे। यसबाट उनीहरूलाई जङ्गली जन्तु, चोर, भूतादिबाट रक्षा हुन्थ्यो। जङ्गलमा रहने साधुसन्तले पनि कुकुर पाल्थे। कुकुरले के गर्दा शुभाशुभ हुन्छ भन्ने लोकविश्वास विभिन्न जातिमा रहेकै छ।

मिथकहरूमा कुकुरलाई घरी यमदूतका रूपमा लिएको छ, घरी भैरवको सेवक। कुकुरलाई भोजन दिनाले यमराज वा भैरव खुशी हुन्छन्। भैरव हर्षित भएमा आकस्मिक सङ्कट आइपर्दा भक्तको रक्षा गर्छन्। यमराज रमाए कुकुरलाई देखेर प्रेत भाग्छन्। कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराधीहरू पत्ता लगाउने र अध्ययन-अनुसन्धान गर्ने काम पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर र चकार (चोरको हातबाट फेरि चोर्ने)बाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। यसले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिन्छ। यसकारण कुकुरलाई माला लाएर कृतज्ञता ज्ञापन गरिन्छ।

कुकुरलाई माला लागाइदिनु वा नलगाइदिनु ठूलो कुरो होइन। एक दिन माला लगाइदिँदैमा कुकुर भगवान् भइहाल्ने पनि होइन। यो पर्व सेवा, त्याग, भक्ति जस्ता कुकुर प्रवृत्तिको पूजा गर्ने पर्व हो। माला लगाइदिँदैमा मान्छे कुकुरमा रूपान्तरित हुने पनि होइन। मान्छेको प्रवृत्तिमा क्रान्ति आओस् भन्ने अभिप्रायले यो पर्व राखिएको हो। जसले सेवा-भक्ति गर्छ उसको सम्मान हो। गोर्खा जातिले कुकुरबाट देश (स्वामी)-को सेवा गर्न सिकेको हुनाले कुकुर तिहार मनाउँदछन्।

औँसीमा गाई तिहार –

भैलेनी आयौँ आँगन

बडारी-कुलारी राख न!

भैलेनी आयोग आगन

गुन्ञू-चोलो राख!

ए औँसीको दिन हो

गाई तिहार हो भैलो।

गाई तिहारमा भैलो खेलिन्छ। जुम्लाका खस राजाले मन्दिरका देवदासीहरूलाई तिहारका केही दिन अवकाश दिन्थे। देवदासीहरू प्रजालाई ‘भलो’ होस् भनेर देवता र राजाका गुणगान गर्दै घर-घर गई गुन्ञू-चोलो दक्षिणा माग्थे। भलो-बाट भैलो भयो। कागले सभ्य हुने आह्वान गरे, कुकुरले नयाँ गाउँ-ठाउँ खोज्न सघाए भने गाईले मानिसलाई कृषियोग्य बनाए। प्रिय र पूज्य गाईले गर्दा मानव सभ्यता कृषि युगमा पुग्यो। यसरी गाई पृथ्वीको प्रतीक बन्यो। गाईले सधैँ दिने र पाल्ने काम गर्ने हुनाले गौ माता मानिए। भारतीयका लागि गाई जीवन र जीवनकै प्रतिनिधि सिद्ध भए। गाई पूजाबाट मानिसले प्रकृति प्रदत्त सदाचार बोध गरे। मुक्तात्माले आध्यात्मिक ज्ञान दिएजस्तै गाईले अन्न, पानी र घाँस खाएर दुग्धामृत दिने हुनाले ‘गावो विश्वस्य मातर:’ अर्थात् गाई विश्वकै आमा हुन् भनियो। मान्छेलाई सभ्य हुने लक्ष्यमा पुराउने लक्ष्मी नै गाई थिए। प्राचीन कालमा गाईलाई मात्र धन मानिन्थ्यो। धातु, भूमि र प्राकृतिक सम्पदाले देश सम्पन्न थियो। प्राचीन ग्रन्थमा नायकलाई धेरै गाईका धनी देखाइन्थ्यो। भागवतले श्रीकृष्णलाई धनी देखाउन गोविन्द वा गोपाल भन्यो। गाईका चार पाउ वा लक्ष्मीका चार हातलाई चार पुरुषार्थ मानिन्छ- धर्म, अर्थ, काम र मोक्ष। दूध, तर् , घिउ, गोबर र गौँथलाई पवित्र पञ्चगव्य मानिन्छ। वैज्ञानिकहरुअनुसार गाई एकमात्र यस्तो प्राणी हो जसले अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छोड्छ, जबकि मनुष्यसहित अन्य सबै प्राणीले अक्सिजन लिन्छन् र कार्बनडाइअक्साइड छोड्छन्। गाईको गहुँतमा पोटासियम, सोडियम, नाइट्रोजन, फस्फेट, युरिया, युरिक एसिड र दूध दिइरहेको समयको गहुँतमा लेक्टोज आदिको मात्रा प्रशस्त हुन्छ। विज्ञानेतर लोकविश्वासमा पनि गाईको महत्त्व व्यापक छ।

लक्ष्यमा पुऱ्याउने लक्ष्मीलाई पवित्रताको प्रतीक मानिन्छ। उनी हिलोमा पनि स्वच्छ रहने कमलमा बस्छिन्। अप्रिय अवस्थामा पनि अनुकूलित (adjust) हुन्छिन्। लक्ष्मीको वाहन लाटकोसेरोले राति पनि आँखा देख्छ अर्थात् सबै सुतेका बेला ऊ जाग्रत हुन्छ– ‘या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी’–  अँध्यारोमा पनि उज्यालो देखेजस्तै अज्ञानमा ज्ञान, असत्यमा सत्य, मृतमा अमृत देख्नेको प्रतीक हो लाटकोसेरो। बल र वैभव तथा पानी र वर्षाको प्रतीक हात्तीसित पनि लक्ष्मीलाई देखाइन्छ। सुनको बुट्टा कुँदिएको लक्ष्मीको रातो लुगा सौन्दर्य र सम्भ्रान्तको प्रतीक हो। रुपियाँ-पैसा मात्र धन होइन। मान्छे मन र विचारले पनि धनी हुन सक्नुपर्दछ। धन त एउटी लक्ष्मी हुन्, तर जम्मा आठ लक्ष्मी छन्- धन लक्ष्मी, ध्यान लक्ष्मी, गज लक्ष्मी, सन्तान लक्ष्मी, धीर-वीर लक्ष्मी, जय-विजय लक्ष्मी, विद्या लक्ष्मी, ऐश्वर्य लक्ष्मी, (कतिमा सौभाग्य लक्ष्मी, राज्य लक्ष्मी, वर लक्ष्मी पनि)।

लक्ष्मीको नाममा ‘वन्दे गौ मातरम्’ भनी गाई पुजिन्छ। बेलुकी दीपको आवलि (लहर) बनाइन्छ। भगवान् बुद्धले ‘अप्प दीपो भव’ अर्थात् आफ्नो दीयो आफै बन भनेझैँ ज्योत्स्यनाको प्रतीक दीयो जलाइन्छ। पटेका नपड्काउँदा पनि हुन्छ। पटेकाले पर्यावरण बिगार्छ, ध्वनि प्रदूषण र वायु प्रदूषण अहिले विश्वकै समस्या भएको छ।

गो+रक्षा=गोरक्षा>गोर्खा। गो भनेको इन्द्रिय, नारी, गाई र देश हो। यिनीहरूको रक्षा गर्ने वा सेवा-भक्ति गर्ने गोर्खाले सेवाभावको सम्मान गर्ने पर्व मनाएकोलाई गाई तिहार भनिन्छ। बङ्गाली समुदायले हाम्रो लक्ष्मी पूजालाई काली पूजा र दसैँको टीकाको पाँच दिनपछि आउने शरद् पूर्णिमालाई लक्खी (लक्ष्मी) पूजा भनी मान्दछन्। अचेल हाम्राहरूले पनि सिको गरी लक्ष्मी पूजा गाई तिहारलाई काली पूजा भन्न थालेका छन्। यसो गर्नु हुँदैन। गोर्खा जातिले दुर्गा माताको काली रूपलाई नौरथाकै सप्तमीमा कालरात्री पूजा मनाइसकेका हुन्छन्। गाई तिहारमा भैलेनी र गोरु तिहारमा देउसी खेल्दा पातालका अधिपति बलिराज (बलिहाङ)लाई सम्झने गर्दछन्। विज्ञानवादी रावणलाई ज्ञानवादी रामले जितेको हर्ष मनाउने भैलेनीले गीत गाउँदछन्। दीयोहरू बालेर झिलिलिली पारे लक्ष्मी प्रसन्न हुने विश्वास गर्दछन् तर पटेका पढ्काए पर्यालक्ष्मी ठुस्कनेछिन्। यति मात्र नभई मान्छेले भन्दा चार डेसिबल स्वर धेर सुन्ने गाई, कुकुर र पशुपक्षीलाई पटेकाले क्षति गर्दछ। चरा र पशुका सद्गुण सिकेर आभारी भई भोजन-माला चढाई पुज्ने पर्वमा पटेका पड़्काएर उल्टो तर्साउनु पर्वविरोधी कार्य हुँदछ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती-

गोर्खा जातिले लक्ष्मीपूजाको दिन मनाउनुपर्ने त महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पनि हो। ग्रेगोरियन पात्रो (ईशाब्द) अनि विक्रमाब्दको आधारमा हेर्नु हो भने देवकोटा जन्मेका हुन् १२ नोभेम्बर १९०९ तदनुसार १९६६ कार्तिक २७-मा अनि निधन भएको हो १४ सेप्टेम्बर १९५९ तदनुसार २०१६ भाद्र २९-मा। गाई पुज्ने, लक्ष्मी पुज्ने, बत्ती बाल्ने, भैलो आउने झैँझ्याउलामा देवकोटा जयन्ती भुलिपठाइन्छ। यसरी हाम्रो जीवनसित मेल राख्ने साहित्य दिने देवकोटाको जयन्ती ओझेलमा पर्नजान्छ। बरू मतो मिलाएर देवकोटा जयन्ती ग्रेगोरियन पात्रोकै आधारमा वर्षेनि १२ नवम्बरमै मनाउनु उचित होला। विश्वकर्मा पूजा वर्षेनी १७ सेप्टेम्बरमा मनाउँदा ढुक्क भइराखेकै छ। भारतमा जसरी भानु जयन्ती १३ जुलाईमा मनाइन्छ भने नेपालमा असार २९ गते अनि सबैतिर विश्वकर्मा पूजा १७ सेप्टेम्बरमा मनाइन्छ उसरी नै १२ नोभेम्बरमा भारतमा र कात्तिक २७ गते नेपालमा लक्ष्मी जयन्ती मनाए कसो होला?  सुधीजनले मानिदिए हामी यता भारतमा १२ नवम्बरलाई लक्ष्मी जयन्ती वा देवकोटा जयन्ती भनी वर्षेनी मनाउनेछौँ, नेपालमा कात्तिक २७गते मनाऊन्। १२ नोभेम्बरमा मनाउँदा पूजाआजाको झोज-झमेला पनि पर्दैन। अरू लन्ठा-टन्टा नलिई १२ नोभेम्बरमा सन्चले देवकोटा जयन्ती मनाउनुपर्ला। ग्रेगोरियन पात्रोको वैश्विक मान्यता र उपयोगिता हेरेर १२ नोभेम्बर देवकोटा जयन्ती अनि १४ सेप्टेम्बर भारतमा देवकोटा पुण्यतिथि मनमा लिऔँ। यति उदारताले हानि त नहोला हो, बरु सजिलै होला।

प्रथमामा गोरु तिहार

 “बलिराजको आदेश हुँदा आएका हामी…

कागले सभ्यता उद्घोष गरे, सहयोगी कुकुरले पथ-निदेश गरे, गाईले कृषि युगमा पुऱ्याए अनि गोरुको सहायता लिएर उद्योग विकास गर्न मानव अघि बढे। गोरु औद्योगिक युगको प्रतीक हो। प्राचीन कालमा गाईलाई मात्र धन (लक्ष्मी) मानिन्थ्यो। जति अधिक गाई उति अधिक धनी। काव्य-नायक कृष्णलाई धनी देखाउन त्यसैले गोपाल भनियो। गोवर्धन पर्वत उठाउन सकेको त्यसै होइन। घोड़ा लिएर युरेशियाबाट आएका आर्यहरूले सिन्धु घाटीमा गाई-गोरुको महत्त्व बुझे। भैँसी (महिष) पाल्ने भारतीय जनजातिसित गोपालकहरूको युद्ध भयो। महिषासुर मारिएको कथा बनाए। गाईको सङ्ख्या बढाउन समाजशास्त्रीहरूले गोरु नखाने निदेश गरे। सभ्यताको विकासमा गाई-गोरु सहयोगी सिद्ध भएकाले लक्ष्मी र नन्दीका रूपमा पुजिए। नर र नारी एकार्काका पूरक हुन्छन्। गाईलाई गोरुले थाम्छन् वा वर्धन गर्छन्। त्यसैले गोवर्धन। पाहाडको नामै गोवर्धन अर्थात् धनी पहाड़।

मानवलाई कृषि युगदेखि उद्योग युगमा लैजाने पशु गोरु हुनाले गोरु तिहार मनाइन्छ। कल्याणकारी देव शिवजीको वाहन यसैले नन्दी भयो। गोरु भारतमा मात्र नभई (हाम्रो नन्दीजस्तै) मिस्र देश (इजिप्ट)-मा अपिस र मेसोपोटामिया (इराक)-मा मर्दुक ई.पू.३००० वर्षअघिदेखि मानिँदै आएको थाहा लाग्दछ। गोरुलाई बल, संस्कार र उद्योगको प्रतीक मानिन्छ। महाभारत तथा पुराणहरूमा श्रीकृष्णलाई गोवर्धन पर्वत उचाल्नसक्ने देखाइएको छ। गोरुतिहारमा गोर्खाले बलिहाङ (जुम्लाका बलिराज शाही) उपाख्यान जोड़ेर देउसी खेल्छन्। तिहारमा केही दिन मुक्ति पाएका देवदासहरूले देवता र राजाका गुण गाउँदै घर-घर ‘देवदास रे’ (द्यौदास्रे >द्यौसुरे) भन्दै देउसी खेले। पछि हिन्दू पुराकथा तानेर बलिले विष्णुलाई शिर दिएको घटना सम्झेर ‘देऊ शिरे’ (द्यौसिरे) भन्ने पनि भए। कतिले विजेता राम सम्झेर देउसी खेल्दा ‘देऊ श्रीराम’ (द्यौसिरिराम) भन्दछन्। देउसीमा पुराण, इतिहास र समाजका घटनाहरूको वर्णन पनि गर्दछन्। पाहाड़ी भेकमा पातलो जनसङ्ख्या। चाड़पर्वमा भेला भएर वरपरका चर्चा-सूचना बटुल्ने क्रममा देउसी थालिनुमा सामाजिक महत्त्व छ। मन भुलाउने धार्मिक कथाहरू पछि जोड़िँदैग । जातीय पहिरन, जातीय बाजासित सांस्कृतिक महत्त्व पनि जोड़िएकै छ।

डा. टेकबहादुर छेत्रीको अन्वेषण यस्तो छ- “आज हली-तिहार। खेतीपातीका भरमा बाँचेको हाम्रो समाजमा हलीको बेग्लै महत्त्व छ। खनी खोस्री गरी सागसब्जी, तुलफुल हुन्छ तर यतिले मात्रै खान नपुग्ने हुँदा फाँटिलो ठाउँमा मात्रै नभएर पाहाडका कान्ला, पखेरा, फोक्टाफोक्टी बिराएर खेती गर्न सिके। सबैसँग गोरु-राँगा दाएर सद्याउने बलबुता नहुने अनि केहीले हलीको सिप सिकेपछि खेतीपातीमा ठूलो सहयोग भयो। गोर्खा जातिमा खेतबारी खनजोत गर्नेहरूमध्ये हलो जोत्नेको छुट्टै जात छैन। अझै मनु स्मृतिले त पूर्वका ब्राह्मणलाई हलो जोत्न छुट भएको उल्लेख गरेको छ।

 “वर्षभरि आफ्नो खेतबारी जोती अन्न फलाउन सहयोग गर्ने हलीलाई रोज दिएर मात्रै सन्तोक नलाग्दा उसको पसिनाको मोल बुझ्ने हाम्रो समाजले आज हली-तिहारका दिन घरमा निम्त्याई मीठो-मसिनो पकाइ-तुल्याई सेवा सम्मान गर्ने थिति सुन्दर छ। “अर्कातिर अन्न फलाई बाँच्न सहयोग गर्ने अनि हलीको मुख्य आधार हलगोरु पुज्ने, चामलको पिठोको पुवा बनाई फल र अरू खानेकुरा दिई गोरुप्रति कृतज्ञता ज्ञापन आजको दिनको बेग्लै महत्त्व छ। मध्यदेशमा बस्नेहरूचाहिँ कृष्ण-कथामा वर्णित गोवर्द्धन पर्वत प्रसङ्ग, जुन कृषिसँग नै सम्बन्धित छ, त्यसैको प्रतीकस्वरूप गोवर्द्धन पुजा गर्छन्। हुन त संस्कृत ‘गोवर्द्धन’ शब्दको नेपाली रूपान्तर गाईवस्तु बढाउनु हुन्छ। त्यसैले कृषिकर्म सम्मानको यो पर्व सबैलाई शुभ कारक होस् भन्ने कामना गर्दछु।”

नेवारले यस दिन म्ह पूजा गर्छन्। म्ह भनेको शरीर हो। स्वस्थ शरीर र स्वच्छ आत्मामा परमात्माको वास हुन्छ। यसरी आफै ब्रह्म हुन्छ – ‘अहं ब्रह्मास्मि’। माटोबाट बनेको हाँडी माटै भएजस्तै ब्रह्मबाट बनेको जीव पनि ब्रह्म नै हो भन्ने बोध गर्ने पर्वलाई म्ह पूजा भनिएको हो। कालिदासको ‘कुमार सम्भव’मा ‘शरीर माध्यम खलु धर्म साधनम्’ भनिएजस्तै शरीरबाट नै आत्मा पनि प्रकाशित हुँदछ। आत्मशुद्धि कामना गर्ने यस दिनदेखि नेवारी नव वर्ष आरम्भ हुन्छ। नेवारी अर्थात् नेपालभाषामा तिहारलाई स्वान्ती भनिन्छ। नेवार ज्योतिष शङ्खधर साख्वाँले यो पात्रो २० अक्टोबर ८७९-मा थालेका थिए। चन्द्र पात्रो हुनाले यसमा १५-१५ दिनका जम्मा २४ पक्ष हुन्छन्। यसपालि म्हपूजादेखि नेपाल सम्वत् अर्थात् नेवारी पात्रोमा वर्ष ११४३ थालिँदैछ।

द्वितीयामा भाइ तिहार

कागबाट सभ्यतालाई उद्घोष भयो, कुकुर आविष्कारका सहयोगी भए, गाईले कृषि र गोरुले उद्योग गराए, तब पो समाज सुगठित भएर भार्तृत्वका लागि तत्पर भए। सभ्य मानिसले तब समाजका लागि नीति-नियम बनाए। यमलाई यमुनाले नियम सिकाएको प्रतीकात्मकता भाइ तिहारबाट सिद्ध हुँदछ। यम भनेको अनुशासन हो। भाइटीका लाउन दाजु यमराज बहिनी यमुनाकहाँ पुग्दछन् अर्थात् जन्म र मृत्युलाई अनुशासित गर्ने पाठ सिक्न यम यस दिन यमुना नदीमा जाँदछन्। प्रवाहशील नदीलाई साहित्यदर्शनमा ज्ञानस्रोत वा ज्ञानको प्रतीक पनि मानिन्छ। यम र यमुनाको मेललाई विश्व भार्तृत्वको सङ्केत मान्नुपर्दछ। भार्तृत्वले नै समूह सङ्गठित हुने र नीतिवत् बनेर सभ्य मानव समाज निर्माण हुने ज्ञान भाइ तिहारले दिँदछ।

एउटै पोथीका दुइटा अण्डाबाट निस्केका दुइटा चल्लाबीच पछि मैथुन क्रिया पनि हुन्छ। पशुमा त्यस्तै हुन्छ। तर मान्छेको विवेक र अधिकांश समाजका नीतिले यसलाई मान्दैन। परिवारका सम्पत्ति जोगाउन पहिले चेली-माइतीबिच बिहा गराउनुमा भन्दा अर्को परिवार र समाजका केटा-केटीबीच बिहा गराइदिँदामा सन्तान तेजस्वी बन्ने थाहा पाए।

चेली-माइतीबिच सम्मान भाव जगाउन धर्म पनि अघि आयो। नियम (rule) बनाए, नियम बिस्तारै विधि (Law) भयो, विधि नमाने पाप (sin) लाग्ने भयो। पुराणले श्रीकृष्णलाई नरकासुर मारेपछि बहिनी सुभद्राले भाइ टीका लगाइदिएको कथा भन्यो। यम र यमीको कथा पनि बनियो। हाम्रा चेलीहरूले माइतीलाई रक्षा होस् भनी यमराजलाई अनुरोध गर्दै अचेल सात रङ्गका लामो टीका लगाइदिन्छन्। पहिले अहिलेझैँ सिन्थेटिक रङ्ग उपलब्ध थिएन। चामलको पिठोको लामो टीकामा हर्दीले पहेँलो थोप्लो, रातो चन्दन वा पाहाड़े सिन्दुरले रातो थोप्लो, हरियो दुबोका रसले हरियो थोप्लोसम्म लाइदिँदथे। छोरीचेलीले दसैँमा लाएका सेता टीका पूर्णेसम्म राख्दथे। पूर्णेमा निकालेर भाइटीकालाई भनी साँच्दथे। त्यही टीकाका अक्षता पिँधेर भाइटीकामा माइतीलाई लाइदिने प्रथा थियो।  मध्यदेशीहरू पाहाड पसेदेखि टीकामा अबिर थप्न सिके। 

कालको टाउको फुटाइदिएको प्रतीकस्वरूप पहिले कटुस वा बेल वा कुनै कड़ा फल फुटाइदिन्थे तर बिस्तारै ओखर पाइनथालेपछि ओखरै चलनचल्तीमा आयो। नओइलाउने अजम्मरी र मखमली फूल दीर्घायुका प्रतीक भए। सयपत्रीले पनि सय वर्षे आयु इङ्गित गऱ्यो। ‘जीवेम शरदः शतम्’ (सय वर्ष जिउन सक वा सकौँ) भन्ने वैदिक श्लोक छँदैछ। मध्यदेशको राखीमा भनिन्छ – “भाइ! यस रक्षा डोरीले तिम्रो हातलाई रक्षा गरोस्, तिम्रो हातले मेरो रक्षा गरोस्”। तर हिमाली पर्व भाइ टीकामा दाजुभाइलाई दिदीबहिनीहरूले रक्षा गर्दछन्। यसबाट गोर्खा नारी स्वयं सशक्तीकृत (self empowered) छन् भन्ने बुझ्नसकिन्छ। जेउडो वा जनैमा सयपत्री फूल बाँधेर तेर्सो  पारी लगाइदिन्छन् – भ्राता-भगिनीबिच प्रगाढ सम्बन्धको द्योतक। मृत्युलाई जितेर अमृत बन्ने आशीर्वाद विनिमय गर्दछन्। चेलीले माइतीलाई खुवाउने र माइतीले चेलीलाई गोड़ा ढोगी उपहार र दक्षिणा दिने निहुँमा पारिवारिक भेटघाटको अवसर पनि हुन्छ। यसरीति पाँच दिने तिहार अर्थात् यम पञ्चकले मानव सभ्यताका पाँच चरण इङ्गित गरेको ठान्नुपर्दछ। यम पञ्चकको वैज्ञानिकता यही हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *