खरसाङ: खरसाङकी नारी स्रष्टा एंव समाचारवाचिका उषाकिरण सत्यदर्शीद्वारा अनुवाद गरिएको कृति ‘भारतीय बाल कथाहरू’ आकाशवाणी खरसाङमा लोकार्पण गरिएको छ। उक्त कृति लोकार्पणको कार्यक्रम प्रज्ञा साझा मञ्च अनि आकाशवाणी खरसाङको संयोजकत्वमा सम्पन्न भएको छ। कार्यक्रममा प्रज्ञा साझा मञ्चका पदाधिकारीहरू एंव सदस्य- सदस्याहरू उपस्थित रहेका थिए। प्रसामका अध्यक्ष रमेश थापाको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रममा प्रमुख अतिथिको रूपमा आकाशवाणी खरसाङका कार्यक्रम निष्पादक प्रमुख पारसचन्द्र आले तथा विशिष्ट अतिथिहरूमा वरिष्ठ समाजसेवी टीटी लामा, पण्डित तुलसी अधिकारी, वरिष्ठ समाजसेवी सूर्यनारायण प्रधान लगायत प्रज्ञा साझा मञ्चका प्रितम छेत्री, ऋषि राई, सुदर्शन ‘अम्बटे,’ उमेद गोले, सिल्वेष्टर लेप्चा, मीना राई लामा, द्वारिका छेत्री साथै आकाशवाणी खरसाङका कर्मचारीवृन्द लेखनाथ राई, राजीव सुब्बा ,मिंगमा लामा, सर्मिष्ठा सिंह उपस्थित रहेका थिए। उक्त लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले उषाकिरण सत्यदर्शी एक सचेत साहित्यकार हुन् अनि उनका कविता र नाटकको पुस्तक अगावै पढिसकेकाे हुनाले यति भन्न सकिन्छ उनले समाजमुखी विषय वस्तुलाई नजिकबाट नियालेर आफ्ना लेख, रचनाहरुमा प्रस्तुत गर्छिन् भनी बताएका छन्। उनले उनका अनुदित बाल कथाले भारतेली नेपाली बाल साहित्यमा एउटा थप उपलब्धि प्रदान गरेकाेमा हार्दिक आभार प्रकट गर्दै उनका लेखनीले निरन्तरता दिइरहुन भन्दै प्रेरणा र प्रोत्साहन दिएका थिए। यस अवसरमा खरसाङका साहित्यकार ऋषि राईले उषाकिरण सत्यदर्शी भारतेली नेपाली साहित्यमा परिचित नाम हुन् भन्दै उनको अनुदित कृतिको लागि उनलाई बधाई टुक्र्याएका छन्। त्यसरी नै कार्यक्रमको अध्यक्ष प्रज्ञा साझा मञ्जको सभापति रमेश थापाले उषाकिरण सत्यदर्शी साहित्य, समाज अनि विविध कलामा मनाेयाेग दिएर प्रगति पथमा अग्रसर हुने नारी हुन् भन्दै नेपालीबाहेक हिन्दी भाषामा राम्रा ज्ञान भएको हुनाले आज हिन्दी र अन्य भाषामा प्रकाशित भएको कथाहरुलाई नेपाली भाषामा अनुवाद गर्न सफल रहेको कारण उनको यो कृति प्रकाशित भएको छ भनी बताएका छन्। उनले नारी स्रष्टा उषाकिरण सत्यदर्शीलाई संस्था आभार प्रकट गर्दछ भनी बताए। यस अवसरमा बोल्दै अनुवादकर्ता एंव लेखिका उषाकिरण सत्यदर्शीले साहित्यमा छुट्टै विधाको रूपमा रहेको अनुवाद चुनौतीपूर्ण तर रोचक विधा रहेको बताइन्। उनले लेखनभन्दा अनुवाद निक्कै जटिल कार्य रहेको छ कारण लेखकले भन्न खोजेको शैलीमा भाव र लवज दुरस्त राखेर अनुवाद गर्दा लेखकले अभिव्यक्त गरेको कुराको अात्मा मर्दैन भन्ने धारणा राख्नु पर्ने हुन्छ भनी बताइन्। उषाकिरणले यो अनुवाद कृति साहित्य अकादमीको परियोजनामा प्रकाशित रहेको बताइन्।