ऐतिहासिक कटन विश्वविद्यालयमा ‘इन्द्रेनी’ राष्ट्रिय पत्रिका लोकार्पण एवं अनुवाद कार्यशाला सम्पन्न

IMG-20231006-WA0046

कृष्णनील कार्की, विश्वनाथअसम 

गत १ अक्टोबर २०२३, आइतबार कटन विश्वविद्यालयको भाषा, संस्कृति तथा कला केन्द्र साथै इन्द्रेनी प्रकाशनको युग्म आयोजनमा चयनित कथाहरूको अनुवाद कार्यशाला एवं द्वैमासिक राष्टिय पत्रिका ‘इन्द्रेनी’ को लोकार्पण हुन्छ।  कटन विश्वविद्यालयको  एमसीबी ३११ सभागारमा  यस कार्यक्रम तिनवटा सत्रमा सम्पन्न हुन्छ। पहिलो सत्रको अअध्यक्षता गुवाहाटी  विश्वविद्यालयका अध्यापक डा. खगेन शर्माले गरेका थिए। यसै सत्रको थालनीमै राष्टिय पत्रिका ‘ इन्द्रेनी’ लोकर्पण हुन्छ।  चिराङ जिल्लामा उप आरक्षी अधीक्षकका रूपमा सेवारत डा. रश्मिरेखा शर्माका बाहुलीबाट उक्त पत्रिका लोकार्पण हुन्छ। पत्रिका लोकार्पण गर्दै रश्मिरेखा शर्माले यसरी आफ्ना कुरा राख्छिन् एउटा स्तरीय पत्रिकाको खाँचो थियो। त्यो आज पूर्ण भयो। पत्रिका टिकाउन गाह्रो छ। असमबाट धेरै पत्रिका जन्मिए, तर टिकेनन्। अब ‘इन्द्रेनी’ टिक्नुपर्छ। पाठक सृष्टि गर्नुपर्छ। वार्षिक ग्राहक धेरैभन्दा धेरै बनाउनुपर्छ। पाठकहरूको माया साथै पर्याप्त साहित्यिक खोराक पत्रिकामा रहनु भने पत्रिका एउटाले निरन्तरता अवश्य पाउने छ।  

पत्रिका सन्दर्भमा मुख्य सम्पादक रुद्र बरालले यसरी वक्तव्य राख्छन् ‘सम्पादनमा नौलो प्रयोग गरिएको छ।  प्रत्येक २ अङ्कपछि सम्पादनमा फेरबदल हुनेछ। पत्रिका चलाउन तिनवटा कुराले सघाउ पुऱ्याउँछ। ग्राहक, लेखक र प्रकाशन पक्ष। लेखक र प्रकाशन पक्ष हामीसँग छ, अब ग्राहक अथात् भनौँ बजार व्यवस्था राम्रो बनाउने पक्षमा जोड दिनुपर्छ। पत्रिकाको स्तरीयता पनि म्यानटाइन गर्नुपर्छ। पृष्ठ सङ्ख्या १६० रहेको छ। एकप्रतिको मूल्य १५०/- राखिएको छ। वार्षिक शुल्क ८००/- त्यसरी नै त्रैवार्षिक २३००/- राखिएको छ। २००० जति वार्षिक ग्राहक हुनु हो भने लेखकलाई पारिश्रमिक दिन सकिन्छ। अहिलेसम्म ‘इन्द्रेनी प्रकाशन’ ले १९ वटा पुस्तक प्रकाशित गरिसकेको छ। अर्थात् ‘इन्द्रेनी प्रकाशन’ले सोचेका, थालेका कामहरू गरेकै छ।” यसै सत्रमा अतिथिका रूपमा विशिष्ट समालोचक नवीन पौडेलको गरिमामय उपस्थिति रहेको थियो। 

दोस्रो  सत्रको अध्यक्षता कटन विश्वविद्यालयको भाषा, संस्कृति तथा कला केन्द्रका विभागीय प्रमुख  डा. महेश्वर कलिताले गरेका थिए। सत्रको उद्घाटन वक्तव्यमा विशिष्ट स्रष्टा डा. इन्दुप्रभा देवीले अनुवाद साहित्य, इन्द्रेनी प्रकाशन एवम् पत्रिका सन्दर्भमा आफ्ना विचार यसरी व्यक्त गर्छिन्” अनुवादको प्रासङ्गिकता युगौँदेखि रहिआएको छ। प्रारम्भमा नेपाली साहित्य पनि अनुवादबाटै समृद्ध भएको हो।’ इन्द्रेनी प्रकाशन, असम’ ले आयोजन गरेको अनुवाद कार्यशाला साह्रै सुन्दर र ऐतिहासिक भनेर सोच्नुपर्छ। राष्ट्रियतहको पत्रिका प्रकाशन पनि ऐतिहासिक काम नै हो। अभिनन्दन छ ‘इन्द्रेनी प्रकाशन, असम’लाई। स्रोत भाषा र लक्ष्य भाषा दुवैको दखल अनुवादकको हुनुपर्छ। यसमा सीप, कला र साधना चाहिन्छ। भारतको सबैभन्दा धेरै अनुवाद हुने क्षेत्र नै असम हो। असमबाट धेरैले अनुवाद साहित्यमा अकादमी पुरस्कार पनि पाइसकेका छन्। छविलाल उपाध्याय, तारापति उपाध्याय, गीता उपाध्याय, किरण कुमार राई, दुर्गा खतिवडा, शान्ति थापा, पुष्पधर शर्मा, के. बी. नेपाली, डा. खेमराज नेपाल, ज्ञानबहादुर छेत्री, पूर्णकुमार शर्मा, चन्द्रमणि उपाध्याय। अनुवादका लागि असम उर्वर ठाउँ हो।” यसैक्रममा ‘ इन्द्रेनी प्रकाशन, असम’ की बोर्ड सदस्य पूजा उपाध्यायले स्वागत भाषण प्रदान गर्छिन् भने कटन विश्वविद्यालयका अध्यापक डा. सुरेश कुमार नाथले अनुवाद साहित्यमाथि छोटकरीमा गहकिलो वक्तव्य यसरी प्रदान गर्छन्-” अनुवाद कर्मका लागि दक्षता अपरिहार्य हो। भाषा ज्ञान पर्याप्त चाहिन्छ। असममा शङ्करदेव, माधवदेव, माधव कन्दली आदि महापुरुषहरूले पनि साहित्य साधनाका लागि अनुवाद रोजेका थिए। भारतवर्षको इतिहास नै ज्ञान चर्चाको इतिहास हो। त्यसैले अनुवाद कर्मलाई पनि ज्ञान कर्म भन्न सकिन्छ।” यसै सत्रमा प्रागज्योतिष महाविद्यालयका अवकाशप्राप्त अध्यापक‌ डा. नीरेन्द नाथ ठाकुरीयाले अनुवादकको भूमिका र अनुवादको प्रयोजनीयतामाथि सारगर्भित वक्तव्य प्रदान गर्छन्। “भाष्यकारबाट नै अनुवादको थालनी भएको हो। अनुवादका लागि चाहिने जम्मै टुल्सहरू अनुवादकसँग हुनुपर्छ। अनुवादकको अनुवादप्रति धेरै फोकस् र स्किल चाहिन्छ।” भन्दै करिब ५० मिनटसम्म विद्वतापूर्ण वक्तव्य प्रदान गर्छन्। दिउँसो १.३०-२.00 बजेसम्म भोजन‌ अवकाशको‌ समय रहेको थियो। 

यसपछि तेस्रो सत्र‌ अर्थात् अन्तिम सत्रको प्रारम्भ दिउँसो २ बजेदेखि हुन्छ। यसको अध्यक्षता सर्जक, प्रवक्ता, सामाजिक कार्यकर्ता नवप्रभा अधिकारीले गरेकी थिइन्। यस सत्रमा वक्ताका  रूपमा विशिष्ट समालोचक, कवि, कथाकार, अनुवादक मोहन सुवेदीले विशेषत अनुवादको सैद्धान्तिक पक्षबारे बोल्दछन्। अनुवादको संज्ञा, अनुवादको प्रकार, अनुवादको आवश्यकता, अनुवादको वैशिष्ट्य अतिरिक्त पनि अनुवादका अरू केही थप कुराहरू पनि उनको‌ वक्तव्यमा रहेको थियो। जस्तै- विश्वमा सबैभन्दा बढी अनुवाद भएको पुस्तक हो बाइबल। विश्वको प्राय: २१० वटा भाषामा बाइबल अनुवाद भइसकेको छ। वर्तमान अनुवाद एउटा स्वतन्त्र विधाका रूपमा स्थापित भइसकेको छ। विश्वका विभिन्न भाषा- साहित्यमा भइरहेका चिन्तन, मनन, अध्ययन, अनुसन्धान, लेखन, परीक्षण, गवेषणा आदि कार्यलाई एउटा भाषाबाट अर्को भाषामा परिवर्तन गराउने एकमात्र माध्यम हो अनुवाद। अनुवाद त्यति सजिलो होइन। साहित्यका विधाहरूमा वर्णित सांस्कृतिक परम्परा अनुवाद गर्न‌ जाँदा त्यहाँका सामाजिक कार्यप्रणाली, लोक जनजीवन‌ आदि विभिन्न छविहरू आउँछन्। त्यसैले धेरै अध्ययन गर्नुपर्ने हुन्छ। “भन्दै अनुवादकका लागि उपयोगी‌ वक्तव्य प्रदान गर्छन्। अन्तिम चरणमा कार्यशालामा उपस्थित अनुवादक र वक्ताहरूबिच प्रश्न- उत्तरको कार्यक्रम रहन्छ। यसबाट केही नबुझेका कुराहरूको छलफल हुन्छ। 

कार्यक्रम सञ्चालन ‘इन्द्रेनी प्रकाशन, असम’ बोर्ड अफ् डाइरेक्टरस्-का सदस्य ढाकाराम काफ्लेले गरेका थिए। अन्तिममा उपस्थित सबैले ‘इन्द्रेनी’ पत्रिका किनेर पढ्ने कुरालाई सहमत प्रदान गर्दै पत्रिका क्रय गर्छन्, कोहीभने वार्षिक, त्रैवार्षिक ग्राहक बनेर ‘इन्द्रेनी प्रकाशन, असम’ को साहित्यिक यात्रामा सहयात्री बन्छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *